PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मुख्यमन्त्रीहरुलाई संघीयताबारे प्रम ओलीको पाठ: खेलमा पस्ने वित्तिकै कोही पनि च्याम्पियन हुँदैन



मुख्यमन्त्रीहरुलाई संघीयताबारे प्रम ओलीको पाठ: खेलमा पस्ने वित्तिकै कोही पनि च्याम्पियन हुँदैन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजबुत बनाउनुपर्ने बताएका छन्।

अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताएका हुन्। 

'मूख्य मन्त्रीको कार्यलय, प्रदेश मन्त्रीको कार्यलय, आवासजस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्,' प्रधानमन्त्री ओलीले भने, 'अहिले तिनलाई व्यवहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौंला।  खेलमा पस्ने वित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुदैन। अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ। हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो। तर यसमा हामी च्याम्पियन सावित हुनेछौं।'

संघीयता कार्यन्वयनका लागि सरकारले गति बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। 'हामी गलत बाटोमा गएका छैनौ। संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ,' ओलीले भने।

संघ,प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ। आजको बैठकमा प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मूख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मूख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मख्यमन्त्री पृथ्वीसूब्बा गुरुङले आफ्ना धारणा राखेका छन्। बाँकी तीनवटा प्रदेशका मूख्यमन्त्रीहरुले भोलिको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ। बैठक भोलि १० बजे सिंहदरबारमा बस्नेछ।
 
आजको बैठकमा संघीयता कार्यन्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामहरुका विषयमा प्रधानमन्त्री कार्यलय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवहरुले जानकारी गराए।
 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे १२ बजे शुरु भएको बैठकामा सातै प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका मन्त्रीहरु सहभागी भए पनि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव भने अनुपस्थित रहे।

कार्यक्रमको शुरुमा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले स्वागत मन्तव्य राखेका थिए। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीको पावर पोइन्ट प्रेजेन्टेसन गरे। उक्त प्रस्तुतिमा प्रदेशमा बनाउनुपर्ने नीतिलगायतका विषय समेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell