PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

संसद अधिवेशनको ढिलाइबारे सरकारले ढाँट्यो, सचिवालय भन्छ : चार दिनभित्रै मर्मतको काम सकिन्छ



बीपी साह

संसद अधिवेशनको ढिलाइबारे सरकारले ढाँट्यो, सचिवालय भन्छ : चार दिनभित्रै मर्मतको काम सकिन्छ

काठमाडौं : सरकारले संसदलाई छलेर कर्मचारी समायोजन अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ। संसदमा दुई तिहाई बहुमत भएको बेला पनि सरकारले 'चोर बाटो' अपनाई अध्यादेश ल्याएकोमा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुले आपत्ति जनाउँदै आएका छन्।

संसदको हिउँदे अधिवेशन चालु गर्नुपर्ने अवस्था आए पनि सरकारले ढिलासुस्ती गरेर चोर बाटो अपनाएको सांसद अमरेश सिंहले बताए। उनले तत्कालै संसदको अधिवेशन बोलाउनु पर्ने माग गरे।

तर, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संसद भवन मर्मतको काम भइरहेको भन्दै संसद अधिवेशन बोलाउनमा ढिलाइ भएको बताएका प्रस्टिकरण दिए। 

बुधवार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यक्रममा मन्त्री ढकालले प्रतिनिधिसभाको मर्मत कार्य पुसको पहिलो सातासम्म सकिने बताउँदै त्यसपछि अधिवेशन बोलाइने बताए। समग्रमा संसद अधिवेशन बोलाउन एक महिनाजति लाग्ने मन्त्री ढकालको भनाई थियो।

यता संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रतिनिधि सभा मर्मतको कार्य चार दिनभित्र सम्पन्न हुने बताए।

पहिलोपोस्टसँग प्रवक्ता पाण्डले भने, ‘यो मर्मत कुनै विशेष होइन। संसद् बन्द रहेको बेलामा नियमित रुपमा भइरहन्छ। अबको चार दिनभित्र मर्मतको काम सम्पन्न हुनेछ।’

संसद सचिवालय अथवा भवनको कारणले संसदको हिउँदे अधिवशेन बोलाउनमा ढिलाई नभएको प्रष्ट पार्दै प्रवक्ता पाण्डेले भने, ‘संसदको हिउँदे अधिवेशन ढिलाइको कारण हामी होइनौं। सायद सरकारकै तयारी पुगेको छैन।’

यसैबीच प्रतिनिधिसभाको हल मर्मतको काम अन्तिम चरणमा पुगेको छ। हलमा टेबल, कुर्सीका खोल, माइक र क्यान्टिनको रिनोभेट गरिएको छ। यससमा २२ लाखभन्दा बढी खर्च भएको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell