PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रम ओलीअघि तीन नेपालीले पाएका थिए विवादास्पद आइएनजिओको अवार्ड



विधुर ढकाल

प्रम ओलीअघि तीन नेपालीले पाएका थिए विवादास्पद आइएनजिओको अवार्ड

काठमाडौं: विवादित धार्मिक संस्था युनिफिकेसन चर्च र त्यसको विवादित आइएनजिओ युनिभर्सल पिस फेडरेसनले आइतबार काठमाडौंमा एसिया प्यासिफिक समिट सम्पन्न गर्‍यो।

जलवायु परिवर्तन, शान्ति र विकास, असल शासन, द्वन्द्व व्यवस्थापनसहित विवाह र परिवारको सशक्तिकरणको विषयमा ‘हाम्रो समयको जोखिमपूर्ण चुनौतीहरुको सम्बोधनः अन्तरनिर्भरता, आपसी समृद्धि र विश्वव्यापी मान्यता’ नारासहित सम्मेलन आयोजना गरिएको थियो।

क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने युनिफिकेसन चर्चकी प्रमुख तथा संस्थापक सन मियुङ मुनकी पत्नी डा. हक जा हान मुनले समापनको दिन आइतबार जनप्रतिनिधिसहितका सर्वसाधरणलाई ‘होली वाइन’ पिलाउँदै वैवाहिक सफलताको आर्शिवाद दिइन्।

सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एण्ड गुड गर्भनेन्स अवार्ड’ समेत प्रदान गरियो।

संस्थाकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कारका साथमा उनलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे।

सम्मेलनमा नेपाल सरकारको संलग्नता र प्रधानमन्त्रीको सहभागिताको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ।

अवार्ड लिने ओली पहिलो नेपाली होइनन्

प्रधानमन्त्री ओलीले अवार्ड ग्रहण गरेसँगै उनको चौतर्फी आलोचना भयो। विवादित संस्थाले दिएको पुरस्कार ग्रहण गरेको आलोचना भइरहँदा यो अवार्ड पाउने उनी एक्ला नेपाली भने होइनन्। यो अवार्डबाट यस अघि तीन जना नेपाली सम्मानित भइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली अगाडि नै नेपालका दुई जना प्रधानमन्त्रीले यो अवार्ड प्राप्त गरिसकेका छन्। तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले यो अवार्ड पाइसकेका छन्। त्यस्तै अर्का प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पनि यो अवार्ड प्रदान गरिएको थियो।

त्यस्तै यो अवार्ड डा. सुरेशराज शर्मालाई पनि प्रदान गरिएको थियो। उनी काठमाडौं विश्व विद्यालयका भाइस चान्सलर तथा युपीएफका नेपाल शाखाका संस्थापक अध्यक्ष पनि हुन्।

विश्व शान्ति निर्माण तथा भातृत्वका साथै नैतिक मान्यता सिर्जनामा योगदान पुराउने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको भनिएको यो अवार्डबाट हालसम्म प्रधानमन्त्री ओलीसहित ६६ जनालाई प्रदान गरिएको संस्थाको वेवसाइटमा उल्लेख छ।

१४० देशहरुमा फैलिएको यो संस्थाले साना ठूला देशका नेताहरुलाई अवार्ड दिँदै आएको छ। यो अवार्डबाट भारतको सिक्किम राज्यका मुख्यमन्त्री डा. पवन कुमा चाम्लिङ, सर्वोच्च अदालतका उच्च अधिवक्ता लक्ष्मि मल्ल सिंग्भी र त्यहाँको एक चर्चका पादरीलाईसमेत गार्गीस मार पोर्लिसलाई पनि दिइएको छ।

क्रिष्टियन धर्म प्रचारकको रुपमा रहेको यो संस्थाले मुस्लिम देशहरुका राष्ट्रप्रमुखहरुलाई पनि यो अवार्ड प्रदान गरेको छ।

अफगास्तानका पूर्व राष्ट्रपति हमिद कार्जाइ र पूर्व उपराष्ट्रपति मोहम्मद करिम खालिलीलाईसमेत यो अवार्ड प्रदान गरिएको छ। यो अवार्ड वेलायतकी पूर्व प्रधानमन्त्री मार्गेट थ्याचरलाईसमेत प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell