PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकार खोज्दै कांग्रेस, प्रतिपक्षी खोज्दै जनता: सरकार पोस्टरमा, प्रतिपक्षी प्रेस कन्फ्रेन्समा!



बीपी साह

सरकार खोज्दै कांग्रेस, प्रतिपक्षी खोज्दै जनता: सरकार पोस्टरमा, प्रतिपक्षी प्रेस कन्फ्रेन्समा!

काठमाडौं: मंसिर ३ गते केपी शर्मा ओली नेतृत्वको सरकारले ९ महिना पुरा गर्‍यो। सरकारको ९ महिने कामको समीक्षा गर्दै मंसिर ६ गते पत्रकार सम्मेलन गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोध्यो ‘सरकार कहाँ छ?’

कांग्रेसले प्रश्न सोधेको ५ दिनपछि प्रधानमन्त्री ओलीले मंसिर ११ गते जबाफ फर्काए। काठमाडौंभरी पोस्टर टाँसेर तथा पत्रपत्रिकामा विज्ञान दिएर समाजिक सुरक्षा योजनाको घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका लागि काम गरिरहेका छौं। अब केही दिनमै जता फर्कियो त्यतै सरकार देखिनेवाला छ।’

योजनाको प्रचार गर्न प्रधानमन्त्री ओलीको पोस्टरकै शैलीमा निर्माला पन्तको फोटो काठमाडौंसहित विभिन्न जिल्लामा टाँसियो।
मंसिर १४ गतेबाट टाँसिन थालिएको पोस्टरमा सरकारप्रति व्यंग्य गर्दै लेखिएको छ,‘सरकार भेटियो, न्याय भेटिएन।’
निर्मलाको टाँसिएको पोस्टर प्रहरीले च्याते भने टाँस्नेहरु पक्राउ परे।

समाजिक सुरक्षा योजनाको प्रचार भड्किलो भएको भन्दै सरकारको आलोचना भएको थियो। अधिकांशको प्रतिक्रिया थियो ‘सरकार भेटियो पोस्टरमा।’

प्रतिपक्ष कता?

दुई तिहाईको सरकार भएपछि संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ। तर पछिल्लो संसद अधिवेशनमा फितलो भूमिकामा देखिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सदनबाहिर पनि रचनात्मक भूमिका खेल्न सकेन।

निर्मला प्रकरण र डा.गोविन्द केसी प्रकरणमा सक्रिय भएको देखिए पनि कांग्रेसले सरकारमाथि दबाव सिर्जना गर्न सकेन।  कांग्रेसकै केन्द्रीय सदस्य तथा केही सांसदहरुले संसदमा कांग्रेसको भूमिका कमजोर रहेको आरोप लगाउँदै आएका छन्।

असोज ११ गते संसदको अधिवेशन अन्त्य भएको थियो। अर्थात अधिवेशन अन्त्य भएको दुई महिनाभन्दा पनि बढी भएको छ तर पनि कांग्रेसले उठाएको कुनै एजेण्डमा सरकारमाथि दबाव बनाउन सकेको देखिदैन। न त सर्वसाधारणको दैनिकीसँग जोडिएको विषयलाई कांग्रेसले अगाडि बढाउन सकेको छ।

पछिल्लो गतिविधि हेर्दा कांग्रेस पत्रकार सम्मेलन र प्रेस विज्ञप्तीमै खुम्चिएको देखिन्छ। 

संसद बन्द भएको दुई महिनाभन्दा बढी समय भएको छ। यसबीचमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रेस विज्ञप्तीमै खुम्चिएको हो।
यस अवधिमा कांग्रेसले १७ वटा प्रेस विज्ञप्ती जारी गरेको छ भने सरकारको विरोधमा मुख्य चारवटा पत्रकार सम्मेलन गरिएको छ।

असोज २८ गते मूल्य बृद्धिलगायतको विषयमा सरकारलाई ज्ञापन पत्र दिइएको विषयमा पत्रकार सम्मेलन गरिएको थियो भने मंसिर ६ गते सरकारको ९ महिने कामको समीक्षा गर्दै सरकारको खोजी गरेको थियो।

यसैगरी मंसिर ८ गते सिद्धार्थ फुडल्याण्ड एसिया प्यासिफक समिटमा सरकार सहआयोजक बनेको विरोधमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन आयोजना गरे। सरकार खोजिरहेको कांग्रेसले उक्त सम्मेलनमा सरकार भेटिएको दाबी गरे। शर्माले भने, 'हामीले सरकार भेट्यौ। आइएनजिओको कार्यक्रममा।' 

हिजो अर्थत मंसिर १६ गते पनि कांग्रेसले सरकारको विरोध गर्न पत्रकार सम्मेलन गर्‍यो। पार्टी मुख्यालय सानेपामा आयोजित सम्मेलनमा कांग्रेसले सरकारको तीव्र आलोचनामात्र गरेन, कांग्रेस सरकारले पारित गरेको सामाजिक सुरक्षा योजनालाई ने क पाकै कार्यक्रम जसरी प्रचार गरेकोमा दुखसमेत जनायो। नेकपाको सरकारले आफ्नो अलोकप्रियता छोप्न पातलो पछ्यौरीका रुपमा नयाँ युगको प्रयोग गरेको कांग्रेसको दाबी थियो। त्यसैगरी कांग्रेसले प्रम ओलीलाई नयाँ राजाको संज्ञासमेत दिए।

कांग्रेस कमजोर होइन, शालीन हो : कांग्रेस प्रवक्ता

यतिबेला प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नै पार्टीभित्रको विवादमा अल्झिएको छ। विधान संशोधनका लागि मस्यौदामा छलफल जारी छ। गुटउपगुटको भेला र आगामी नेतृत्वको तयारीले पार्टीको नियमित बैठकहरुसमेत समयमा बस्न सकिरहेको छ। महासमितिको तयारीले पनि कांग्रेसले सरकारको कमीकमजोरीमा खबरदारी गर्न नसकेको होला।

सरकार बन्नसाथ सरकारलाई रचनात्मक सहयोग गर्ने कांग्रेसले जनाएको थियो। तर सरकारले लोकप्रियता गुमाउँदै गरेको अवस्था र विभिन्न मुद्दामा असफल भइरहेको बेला कांग्रेसले प्रेस कन्फ्रेन्स गरी वाकयुद्धबाहेक केही गर्न सकेको छैन। 

प्रतिपक्षी किन यस्तो कमजोर? 

कांग्रेस कमजोर नभएर शालीन प्रतिपक्ष भएको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्।

पहिलोपोस्टसँग शर्माले भने,‘हामी कम्युनिष्ट जस्तो नेपाल बन्द गराएर हिँड्दैनौं।’ हामी विरोध पनि शालीन तरिकाले गर्छौ।’

प्रतिपक्षी भएको नाताले सरकारको राम्रो कामलाई सहयोग गर्ने र नराम्रो कामलाई विरोध गरिरहेको शर्माले बताए।

‘हामी प्रेस कन्फ्रेन्समा मात्रै सीमित छैनौं र हाम्रो भूमिका कमजोर पनि छैन।’ उनले भने,‘पार्टीको आन्तरिक कामहरु भइरहेको छ अबको महासमिति बैठकबाट धेरै कुरा बाहिर आउने छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell