PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेपर्वाह सरकार : तीन वर्षमा शेयर बजारबाट लगानीकर्ताले गुमाए साढे चार खर्ब



सुवास निरौला

बेपर्वाह सरकार : तीन वर्षमा शेयर बजारबाट लगानीकर्ताले गुमाए साढे चार खर्ब

काठमाडौ : तीन तहको निर्वाचनसँगै स्थायी सरकार आएपछि शेयर बजार बढ्ने अपेक्षा लगानीकर्ताको थियो। लगानीकर्ताको अपेक्षा विपरित बजार निरन्तर घट्यो।

र, बिहीबार शेयर बजारको इन्डेक्स ‘नेप्से’ तीन वर्ष अघिको अवस्थामा पुगेको छ। शेयर बजार अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ तर अहिले त्यही ऐनामा कालो धब्बा लागेको छ। यो धब्बासँगै ऋणधन गरेर शेयरमा लगानी गरेका हजारौंको खर्बौ रुपैयाँ गुमिसकेको छ। ब्रोकर कार्यालयमा भेटिने साना लगानीकर्ताको हालत टिठ लाग्दो छ। खर्बौ रुपैयाँ गुम्दा पनि तालुकदार मन्त्रालय अर्थले कुनै चासो देखाएको छैन।

अझ अर्थमन्त्री डा. युवराज खतिवडा शेयर बजारको विषय आउँदा तर्किएर हिड्छन्। बजार निरन्तर घट्दा लगानीकर्ताले तीन वर्षमा ५ खर्ब २१ अर्ब रुपैयाँ गुमाएका छन्। तीन वर्ष अगाडी नेपाल स्टक एक्सचेन्जको कुल बजार पूँजीकरण १८ खर्ब ९० अर्ब रुपैयाँ थियो। सूचकसँगै बजार मूल्य घट्ने क्रममा विहीबार कुल बजार पूँजीकरण १३ खर्ब ६९ अर्बमा खुम्चिएको छ।

जबकी तीन वर्षको अवधिमा शेयर बजारमा बोनस शेयर र हकप्रद शेयर मार्फत चार गुणा शेयर थपिएको छ। आर्थिक बर्ष २०७२/७३ दुई अर्ब १० करोड कित्ता शेयर सूचीकृत भएकोमा आर्थिक वर्ष २०७४/७५ सम्ममा बढेर तीन अर्ब ५९ करोड कित्ता शेयर पुग्यो।

हातमा शेयर संख्या थपिए पनि बजार मूल्य चार गुणा सम्मले तल झर्दा सबै लगानीकर्ता घाटामा छन्। दोस्रो बजारमा लगानी गरेर केही प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने लगानीकर्ता अहिलेको सबैभन्दा बढी पेनिकमा छन्। शेयर बजारको पूँजीकरण घटिरहदा सरकारले केही संबोधन गर्न चासो नदेखाएको लगानीकर्ता बलराम रिमाल बताउँछन्। ‘शेयर बजार निरन्तर घटेर लगानीकर्ताको अवस्था दयनीय छ।

शेयर बजार घटबढ हुनु सामान्य विषय होला तर सरकारले आफ्नो दायित्व पूरा गर्न सकेको छैन।’ उनले भने। उनका अनुसार शेयर बजार घट्दा अन्य लगानीका क्षेत्र समेत बन्द भएको छ। देशकै ऐनाको रुपमा रहेको शेयर बजार प्रति सरकारको चासो नहुँदा लगानीकर्ताहरु मर्कामा परेको बजार विश्लेषक आत्मराम घिमिरेले बताए। तीन वर्षमा शेयर संख्या बढ्दा बजारमा आपूर्ति बढेपनि माग नहुँदा लगानीकर्ताले धेरैनै गुमाउनु परेको उनले बताए।

उच्चतम बिन्दुमा पुगेर घट्दो क्रममा रहेको शेयर बजार बिहीबार करिब तीन बर्ष पछाडिको अंकमा ११४८.७० अंकमा झरेको छ।०७२ पुस २१ गते मंगलबार सूचक ११४६.११ अंकमा रहेको थियो। त्यही बिन्दुको सेरोफेरोमा बजार झरेको हो। त्यसबेला बजार बढ्दो क्रममा रहेको थियो। बढ्दो बजारले २०७२ साउन १२ गते उच्चतम बिन्दु १८८१.४५ अंक छोएको थियो। त्यस यता लगातार केही अंक घट/बढ हुँदै बजार ओर्लदो क्रममा रहँदा समग्र बजारले ७३३.०५ अंक घटिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell