PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शहीद स्मारक ए डिभिजन लिग : संकटालाई ५ - १ ले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लियो



शहीद स्मारक ए डिभिजन लिग : संकटालाई ५ - १ ले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाडौं: आर्मीले संकटालाई ५-१ गोल अन्तरले पछि पार्दै आफ्नो अपराजित यात्रा कायमै राखेको छ। जितसँगै आर्मी ४ खेलबाट १० अंक बटुल्दै पोइन्टटेबलमा पहिलो स्थानमा उक्लेको छ। 

यसैगरी लगातार ३ खेल जितेको संकटाको यो पहिलो हार हो। आर्मी शुरुमा एक गोलले पछि परे पनि कमब्याक गर्दै ५ गोल गरेको हो।

पहिलो मिनेटमै आर्मीले पेनाल्टी पाएको थियो। तर सन्तोष तामाङले प्रहार गरेको बल बारमा लागेर फर्कियो।

नवौं मिनेटमा संकटाका लागि विदेशी खेलाडी म्याक्सवेले गोल गर्दै संकटालाई अग्रता दिलाए। १७ औं मिनेटमा आर्मी टेकबहादुर बुढाथोकीले गोल फर्काए र बराबरी बनाए।
२९ औं मिनेटमा आर्मीका क्याप्टेन भरत खवासले गोल गर्दै आर्मीलाई २ - १ को अग्रता दिलाए।

दोस्रो हाफको शुरुमै संकटाले बराबरी गर्ने मौका गुमायो। ५१ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो। तर अमित तामाङको प्रहार क्रसबार भन्दा माथिबाट गयो।

आर्मीका सन्तोष तामाङले ६३औँ मिनेटमा डी एरिया बाहिर पाएको फ्री किक गोलमा परिणत गर्दै आर्मीले ३ - १ को अग्रता बनायो।

६६ औं मिनेट आर्मीका टेकबहादुरले दोस्रो गोल गर्दै ४ - १ को फराकिलो अग्रता दिलाए। ७७ औं मिनेटमा आर्मीकै दिनेश हेन्जनले गोल गर्दै ५ - १ को अन्तर बनाए।

संकटासँगको जितपछि उपाधि जित्ने लक्ष्य राखेको आर्मीलाई फाइदा पुगेको छ। पेनाल्टीमा गोल नहुनु पनि टर्निङ पोइन्ट बनेको प्रशिक्षकले बताए।

'दोस्रो हाफमा संकटाले पेनाल्टी मिस गरेपछि खेलको स्कोर आर्मीतिर ढल्किएको हो। उक्त पेनाल्टीले गोलको रुप लिएको भए नतिजा अर्कै निस्कने थियो,' आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने।

संकटाका प्रशिक्षक सल्याण खड्गीले पहिलो हाफमा पहिलो गोल डिफेन्सको मिस्टेकका कारण भएको उल्लेख गर्दै भने, 'दोस्रो हाफमा पेनाल्टीमा हामीले स्कोर गर्न नसकेपछि खेलाडीहरुको मनोबल खस्कियो। तर यो हारले मेरो लिग टार्गेटमा कुने प्रभाव पर्नेछैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell