PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ह्वाइट केनको सहारामा गोविन्द सरको अविरल यात्रा : पिएचडी डिफेन्डमा छोरीको साथ



स्वेच्छा राउत

ह्वाइट केनको सहारामा गोविन्द सरको अविरल यात्रा : पिएचडी डिफेन्डमा छोरीको साथ

रत्नराज्य क्याम्पसको कोठा नम्बर २९। भित्र छिर्ने ढोका अगाडि गोविन्दप्रसाद आचार्य उभिएका छन्। कक्षा सुरुको घन्टी बजेको ५ मिनेट बितिसक्दा पनि बिए दोस्रो वर्षको ऐच्छिक नेपालीको कक्षामा एकजना पनि विद्यार्थी आएनन्। 

भर्खरै लामो विदा सकिएकाले क्याम्पसमा चहलपहल कमै देखिन्थ्यो। केही बेर कुरेपछि भने, 'अब भोलि आउनुपर्ला।'  

त्यही एउटा कक्षाका लागि बिहानै कीर्तिपुरदेखि भृकुटीमण्डप आएका थिए उनी। उनी आए तर, विद्यार्थी आइदिएनन्। ‘बिदाले गर्दा उठ्ने बानी छुट्यो होला’, उनले भने। त्यसपछि ह्वाइट केन अनफोल्ड गरे, पुन: कार्यालय कोठातर्फ मोडिए। 

बिहानै उठ्नु, छडीको सहारामा गाडी स्टेसनसम्म पुग्नु, यात्रुको भिडलाई जितेर माइक्रो चढ्नु, कलेज पुग्नु, कक्षा र कार्यालयबाट  तल माथि, ओहोर दोहोर उनका लागि सहज पक्कै छैन। तर, यही 'असहज' काम गर्दै आएको १८ वर्ष भयो।  

*** 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुरमा पियनका लागि आवेदन खुल्यो। गोविन्दप्रसाद आचार्य दङ्ग परे। लामो समयदेखि बेरोजगार रहेका उनका लागि पदपूर्तिको त्यो सूचना अवसर हुनसक्थ्यो, त्यसैले आवेदन फारम भरे।

सन्दर्भ २०५२ सालको हो। गोविन्दलाई लागेको थियो- पियन बन्न त पक्कै योग्य छु। तर, नतिजा उल्टो भयो। उनलाई पियनको नभएर प्राध्यापनको लागि बोलाइयो। कारण थियो उनले आवेदनसँगै पठाएको स्नातकोत्तर तह उत्तीर्ण गरेको प्रमाण पत्र। 

नेपाली साहित्यमा एमए सक्काएका उनले ३ वर्षसम्म पटक पटक प्राध्यापनका प्रयास गरे। तर, पाएनन्। पियन पदका लागि भरेको त्यो व्यङ्ग्यात्मक आवेदनले भने राम्रै असर पार्यो। उनले आंशिक शिक्षकको रुपमा काम गर्न पाउने भए। 

युवाहरु बेरोजगारीको चपेटामा थिए। पढेर पनि केही गर्न नपाउनुको पीडा बेग्लै। झन्, दृष्टिविहीनमाथि गरिने अविश्वासले सधैं उनीहरुसँग भएको क्षमतालाई जित्यो। त्यसैले पनि एक जनाले पार्ट टाइम जागिर पाउनु दृष्टिविहीन समूहको लागि उपलब्धी त थियो तर समस्याको समाधान भने थिएन। 

‘मलाई पनि सत्ताधारीको विवेकले खुट्याएर पढाउन बोलाएका थिएनन्। जबरजस्ती जागिर दिइएको थियो, किनकि म सर्टिफिकेट हातमा लिएर मन्त्रालयदेखि सबै निकायको ढोका ढोका चहारेँ,’ उनले सुनाए। 

***

लाग्थ्यो, पूर्वजन्मको पाप

अर्घाखाँचीको अर्घा अधेरीमा जन्मिएका गोविन्दलाई १० वर्षको उमेरसम्म लाग्यो -  आँखा नदेख्नु साँच्चै पूर्व जन्मको पाप हो। ४ दशकअघिको ग्रामिण समाजमा दृष्टिविहीन हुनुलाई पापको संज्ञा दिनु स्वभाविक थियो। गोविन्दलाई त आज पनि अनौठो लाग्दैन। भन्छन्, 'रुढीवादका कसरमसरमा अल्झिएको समाजमा केही वर्षमै भयानक परिवर्तनको आशा छैन। तर, त्यो बेला त खुब बिझाउँथ्यो।‘ 

जब एकलिन्थे तब खुब सोच्थे - मैले के पाप गरेको थिएँ होला त? उनीसँग आफूले गरेको पाप अनुमान गर्ने पर्याप्त समय थियो। किनकि उनको लागि हरेक दिन बिदा। आफ्नै दिदीहरु र दाइ, आफू सरहका सबै हुल बाँधेर स्कूल जान्थे, बिदाको दिनमा हल्ला मच्चाउँदै खेल्थे - कानसम्म ठोक्किन आउने आवाजसँगै मिसिनु उनको रहर बन्थ्यो।
  
पण्डित बुवा र गृहिणी आमाका लागि घर चलाउनु महत्वपूर्ण थियो। तीन छोरी र एक छोरा स्कूल जान्थे। आँखा नदेख्ने छोरो पढाउनु आवश्यकताको सूचीमा नै परेन। त्यो बाल मनलाई भने रहर दबाउन गाह्रो हुन्थ्यो। अरुको आँखा छलीछली खुब रुन्थे। 
‘यसलाई खुवाउनु पर्छ, लाउन दिनुपर्छ, पाल्नुपर्छ भन्ने त सोच्नुभयो तर भावनात्मक आवश्यकता र मानसिक अवस्थाबारे आमाबुवाले पनि सोच्नु भएन। अरुबाट के आशा गर्नु?’, उनको बोलीमा नैराश्यता सुनिन्छ। 

तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रहेका बावुराम पोख्रेल उनका दाजु पर्थे जो टियूको शिक्षक क्वाटरमा बस्थे। नजिकैको ल्याबरेटोरी स्कूलमा दृष्टिविहीनलाई पढाएको देखेपछि घरमा फोन गरे र गोविन्दलाई काठमाडौं पठाउन उनैले सुझाए।

*** 

असहजबाट सहज यात्रा

ल्याबरोटरी माध्यमिक विद्यालय, कीर्तिपुर। १० वर्षीय गोविन्दले १ वर्ष ब्रेल सिक्न पर्ने थियो। ब्रेल पद्धतीमा उनले लिपी तथा अक्षरहरु विशेष तरिकाले सिक्न पाए। त्यसपछि सिधैं कक्षा ४ मा भर्ना भए। 

उनको कक्षामा जम्मा दुईजना दृष्टिविहीन थिए। दुवैका लागि हरेक सेवा, सुविधा विशेष थिए। विद्यालय र आवास दृष्टिविहीन मैत्री थियो भौतिक र भावनात्मक दुवै आधारमा। ‘पाप गरेको भए मैले कहाँ यो अवसर पाउँथे र? घरमा नपाएको सुविधा कसरी पाउँथे होला र? भन्ने सोच्न थालेँ’, सुनाए। त्यसपछि उनको लगन पढाईमा केन्द्रित भयो।

स्कूलमा उनलाई हिसाब बुझ्न गाह्रो हुन्थ्यो, विज्ञानका प्रयोगात्मक चित्रहरु बनाउन पनि। अरु विषय पढ्न खासै समस्या थिएन। नेपाली उनको मनपर्ने विषय थियो। त्यसैले पनि होला नेपाली साहित्य पढ्नु र कविता कोर्नु उनको रुची बन्यो। 

रुची साहित्य र कलामा भए पनि उनको लक्ष्य कानुनी पेशा अपनाउनेतिर बनेको थियो। ‘तर अन्याय र असमानताको खबरले निराश मात्र बनायो। वर्षौ प्रयास गर्नेहरु असफल भएको देखेर मैले नै आँट गरिनँ। बरु शिक्षामा केही दिन सके समाजमा कुनै छाप छोडिन्छ कि भन्ने भयो,’ उनी लक्ष्य परिवर्तनको कथा आक्रोशसहित सुनाउँछन्। 

ल्याबरोटरी स्कूलबाट मेट्रिक सके, ताहचल क्याम्पसबाट आइएड गरे, टियु कीर्तिपुरबाट बिएड। उनले २०४९ सालमा नेपाली साहित्यमा एमए गरेपछि बल्ल अध्यापनका लागि प्रस्ताव लिएर संघर्ष थालेका थिए। उनको लागि ढोका ढोका चहार्दै जागिरका लागि आफ्नो योग्यता पुष्टि गर्नु सहज काम थिएन, कम्तिमा शारीरिक एवं भौतिक रुपमा। तर, उनी आफ्नो क्षमता र इच्छाशक्तिलाई कमजोर साबित गर्ने पक्षमा थिएनन्।
 
‘यति ठाउँमा ठोक्किएँ, यति ठाउँमा लडेँ भनेर देखाउन कहिले पनि चाहिँन। देखाउनका लागि मसँग मेरा मार्कसिट थिए। क्षमता थिए,’ उनको आवाजमा गर्व झल्कन्छ। 

क्षमता धेरै थोरै हुनसक्छ तर फरक हुन सक्दैन भन्नेमा विश्वास गर्ने उनी विद्यार्थीहरुलाई पाठ्यक्रमका विषय त पढाउछन् नै साथै सधैं भन्छन्- ‘दृश्य नदेख्नु, हिँड्न नसक्नु, हात नहुनु समस्या होइन। समस्या कोसिस नगर्नु, इच्छाशक्ति नहुनु हो। मान्छे तब दृष्टिविहीन हुन्छ जब उ केही बुझ्न नै चाहँदैन। तब खुट्टाविहीन हुन्छ जब उ आफै केही गर्न खोज्दैन।‘ 

स्वरुप थाहा छैन, प्रेम चिनेका छन्

मङ्सिर ३ गते गोविन्द आचार्यको घर खोज्दै खोज्दै ट्याङ्ला फाँट पुग्दा भेटिएन। फोनबाट सम्पर्क भयो घर नभेटेपछि उनी स्वयं चोकसम्म लिन आए। बाटोमा सुनाए- आफूलाई कसैले आफ्नो मनपर्ने रङ सोधेको निकै खुशी लाग्छ। उनी जोसिएर भन्छन्- ‘सफेद, सेतो’। उनको घर सेतै थियो।  
उनी छोएर केही रङहरु छुट्याउन सक्छन्। भन्छन्, 'तपाईंले देख्ने सेतो कस्तो हुन्छ मलाई बुझाउन सक्नु हुन्न। मैले महसुस गर्ने सेतो म बुझाउन सक्दिन। तर महसुस गर्छु। त्यसको सुन्दरता मनमनै मापन हुन्छ।‘ त्यसैले बाह्य सुन्दरताले अर्थ नराख्ने उनको कथन छ। 

कथनजस्तै जिन्दगीमा पनि नदेखिएकी विष्णु नेपाल हामी सामु थिइन् जसको रुप कस्तो छ गोविन्दलाई थाहा छैन। तर उनको व्यवहार र विचारलाई बुझेका छन्।  

पद्मकन्या कलेज पढ्थिन् विष्णु। उनका साथीहरु सबिता र मुना दाहाल पनि दृष्टिविहीन थिए। उनीहरुकै संगतले गोविन्दसँग चिनायो। नजिकिए र विवाह गरे। श्रीमानको कुरा सुनिरहेकी उनी भन्छिन्, 'आँखा नदेख्ने भए पनि यति ट्यालेन्ट मान्छे देखेर सुरुमा छक्क परेँ। पछि मनपर्न थाल्यो।'
 
प्रेम त सजिलै भयो तर विवाहको लागि विष्णुको परिवार राजी भएन। पोलियोका कारण विष्णुको दाहिने खुट्टा थिएन। कृतिम खुट्टाको सहारामा हिँड्ने उनका आमाबुवा चाहन्थे- छोरीलाई सम्हाल्न सक्ने केटासँग विवाह होस्। 

विष्णुलाई भने गोविन्दकै प्रेम र क्षमतामा विश्वास थियो। उनी आफैले बुवाआमा मनाइन्। पोलियो हुनुलाई पाप र धर्मसँग जोडेर कुरा गर्ने समाजको भने मतलव थिएन।
 
२०५१ सालमा दुईले विवाह गरे। जीवनमा विष्णु आएपछि ब्रेलको प्रयोग कम भयो। पढेर सुनाउन, पढाउन पर्ने पाठको तयारीमा सहयोग गर्ने साथी मिल्यो। पोलिटिकल साइन्स र सोसल सर्भिसको विद्यार्थी उनले भने पढाई छाडिन् र सिलाइ सम्बन्धी तालिम दिन थालिन्।
 
दुई छोरी जन्मिए। उनीहरु कोखमा हुँदा वरपर मान्छेको कुराले खुब तर्साउँथ्यो। बच्चा दृष्टिविहीन जन्मन्छ भन्ने कुरा। यो पटक विष्णु बोलिन्, 'बच्चा जन्मिसकेपछि भेट्न आउनेहरुको पनि पहिलो प्रश्न नै ‘बच्चाले आँखा देख्छ?’ भन्ने हुन्थ्यो।‘ अहिले तीनै छोरीहरुले खुशी हुने ठाउँ दिएको कुरा धक खोलेर सुनाउँछिन्।

कान्छी छोरी सुकृती १९ वर्षकी भइसकिन्। उनी डिएभी कलेजमा बिबिए थर्ड सेमेस्टर अध्ययनरत् छिन्। उनी बुवाकै प्रेरणाका कारण पढाईलाई सधैं महत्वमा राख्ने बताउँछिन्। भन्छिन्- ‘बुवाले यति मिहेनत गर्नु भएको छ। हामीले झन् गर्नै पर्छ भन्ने लाग्छ।' 

बावुको पिएचडी डिफेन्समा छोरीको साथ

गोविन्दले वैसाख २०७५ मा ‘प्रगतिवादी खण्डकाव्यका प्रगति’ शीर्षकमा पिएचडी सक्काए। र, बने त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्ने पहिलो जन्मजात दृष्टिविहीन पिएचडी डाक्टर। उनको थेसिस डिफेन्डका लागि छोरी सुकृती नै गएकी थिइन्।
 
‘भित्र छिर्नुअघिदेखि सबैले बाबालाई हेर्थे अनि मलाई। कति गर्व लाग्यो भन्नसमेत सक्दिन,' उनी अनुभवका कुरा सुनाउँछिन्, ’भित्र छिरेपछि मुल्याङ्कन समितिका सदस्यहरु देखेँ। बाबासँग अन्तर्वार्ता लिनु भयो। बिग्रिएको र सच्याउन पर्ने कुराहरु मलाई भन्नु भयो।' 

बाबुको पिएचडी डिफेन्समा बसेकी उनी यति प्रभावित भइन् कि त्यहाँबाट निस्किँदै गर्दै ‘पिएचडी त जसरी पनि गर्छु' भन्ने प्रण  गरिन्।
  
बुवाले पढ्न खोजेको नयाँ कृति पढेर सुनाउँछिन्। हाल बाबु छोरी मिलेर कुरान पढ्दैछन्। उनलाई बुवाको लागि लेख्न पढ्न निकै रमाइलो लाग्छ। भन्छिन्, 'हरेकपटक मैले पढ्दा बाबा ध्यान दिएर सुन्नु हुन्छ। हामी सानो छँदा बाबाले कथा सुनाउनु भएको याद आउँछ।' 

जेठी छोरी समीक्षा २१ वर्षकी भइन्। उनी यति नर्सिङ क्याम्पसमा बिएस्सी नर्सिङ अन्तिम वर्षमा पढ्दैछिन्। 

जसरी सबै संघर्ष गर्छन्, त्यसरी नै उनी

गोविन्दलाई आफू हिँडेको बाटो कहिले पनि अप्ठ्यारो लागेन। आँखा देख्नेहरुले पनि आफूसरह संघर्ष गर्नुपर्ने बुझेका छन्। पेट पाल्न सबैले केही न केही गर्नै पर्छ र आफूले पनि त्यही गरेको सुनाउँछन्। थप्छन्, 'आँखा देख्ने नदेख्ने कसैको पनि क्षमता पहिचान नहुने यो ठाउँमा ह्वाइट केन समाएर दवाव दिन गाह्रो त भयो। गाह्रो हुँदैमा चुप लागेको भए म कसरी गुरु हुन्थेँ र?’ 

आफूले चाहेको पेशामा हुनुले उनलाई अथाह खुशी दिएको छ। आज बाटो काट्दै गर्दा गोविन्दको हात समाउन आउने धेरैले उनको विद्यार्थी भएको बताउँछन्। 

'मेरो उपलब्धी भनेकै विद्यार्थी हुन्। उनीहरुको फरक प्रकृति, प्रवृत्ति र क्षमताले मलाई सधैं प्रेरित गर्यो,' उनले भने। 
तीन सय जनासम्म विद्यार्थी राखेर पढाएका उनमा आफै पढ्ने भोक अझै सकिएको छैन। उनी पढ्छन् र लेख्छन् पनि। उनको ७२ कविता रहेका संग्रह ‘सीमाना र चराहरु’ साझाले प्रकाशित गरेको छ।

दृष्टिविहीनका लागि आवश्यकताका कुरा, उनीहरुलाई समाजले हेर्ने प्रवृत्तीका कुरा, पाठ्यक्रम र शिक्षा नीति केही विषय छन् जुन उनलाई किनै खड्किन्छ। तर, सधैं गुनासो र आलोचना मात्र गरेर नैराश्यता छर्न चाहँदैनन्। बरु विचारको शुद्धता र भावनाको सुन्दरताले अर्थ राख्छ भन्ने संदेश प्रवाह उनको अबको लक्ष्य हो।
 
भन्छन्, ‘पढेर र पढाएर नै समाजले अलग्ग राखेर ‘फरक’ व्याख्या गर्ने प्रवृत्तीमा परिवर्तन ल्याउन चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell