PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जनमुक्ति सेनाले कब्जामा लिएको ३५ लाख भारतीय सुरक्षाकर्मीले जफत गरेपछि बीपीको नेहरुसँग यस्तो संवाद



पहिलोपोस्ट

जनमुक्ति सेनाले कब्जामा लिएको ३५ लाख भारतीय सुरक्षाकर्मीले जफत गरेपछि बीपीको नेहरुसँग यस्तो संवाद

  • जगत नेपाल* -
२००७ सालको क्रान्तिमा नेपाली कांग्रेसको मुक्ति सेनाले पहिलो प्रयासमै कव्जा गरेको वीरगन्ज केही समय यसकै कब्जामा रह्यो। काठमाडौंबाट थप फौज पठाएर राणाहरुले प्रत्याक्रमण गर्ने डर छँदै थियो। तर, यातायातको सुविधा नभएको त्यो बेला फौज पैदलै वीरगन्ज पुग्न सहज थिएन। मुक्तिसेना परवानीपुरमा मोर्चा कसेर बसेको तेस्रो दिन काठमाडौंबाट राणाफौज आइहाल्यो। सरकारी सेनाको तुलनामा मुक्तिसेनासँग हातहतियार, गोलाबारूद र सैन्य सामग्रीको अभाव थियो। एउटा गोली पनि अनाहकमा खेर नफाल्न आदेश पाएका मुक्तिसेनाका जवानहरु सकेसम्म पटाका र ठूलो आवाज आउने बाँसको ढुङ्ग्रो पड्काउँथे। तीन दिनको भीषण युद्धपछि रातारात जङ्गलको बाटो हुँदै मुक्तिसेना ठोरीतर्फ लाग्यो। मुक्तिसेनाको मद्दतका लागि कलकत्ताबाट राति वीरगन्ज पुगेको अर्को टोली आराम गरिरहको थियो। “मस्त निद्रामा रहेका मुक्तिसेनाका जवानलाई राणाफौजले वीभत्स हत्या गरी पुनः वीरगन्ज कब्जामा लियो (राणा, २०६९: ५३) ।” अनि राणाफौज ठोरीतर्फ लाग्यो। त्यति बेलासम्म मुक्तिसेनाले ठोरीलाई बिनारक्तपात कब्जा गरी ४० हजार रूपैयाँ र हातहतियार हात पारिसकेको थियो। 

सन् १९५० नोभेम्बर २० तारिखका दिन राणाफौज र मुक्तिसेनाबीच पुनः भीषण युद्ध भयो। मुक्तिसेनाले तीनतिरबाट एकसाथ आक्रमण गर्‍यो। त्यो अप्रत्याशित आक्रमणको कल्पना नगरेको राणापक्ष अत्तालिएर अन्धाधुन्ध गोली चलाउन थाल्यो। केही समयको गोलाबारीपछि कुनै उपाय नदेखेर राणापक्षका कमान्डर एकराज शमशेर केही सिपाहीका साथ भाग्न सफल भए। “ज्यान जोगाउन बाँकी राणा पक्षका सिपाहीले साथमा रहेका हतियार र गोलीगठ्ठासहित आत्मसमर्पण गरे। मुक्तिसेनाले ब्रेनगन, टू इन्च मोर्टार, ३०३ राइफल र ठूलो मात्रामा गोलीगठ्ठा हात पार्‍यो (लामा, २०६९ : ५५)।”

त्यसपछि मुक्तिसेनालाई दुई भागमा विभाजन गरी देशका अरु गोस्वारा र मालअड्डा कब्जा गर्न खटाइयो। “जसअनुसार गोपाल शमशेर र महेन्द्रविक्रम पश्चिमका लागि खटिए भने पूर्णसिंह र याक्थुम्बाको नेतृत्वमा सयजनाको टोली विराटनगरतर्फ लाग्यो (लामा, २०६९ : ५५)।”

वीरगन्ज आक्रमण गर्दासम्म मुक्तिसेनाका कतिपय जवानसँग ड्रेसको त के कुरा, लाउने कपडा र खुट्टामा जुत्तासमेत थिएन। मुक्तिसेना सरकारी सेनाको ब्यारेकमै बस्न थालेको थियो। वीरगन्ज कब्जा हुँदा त्यहीँ रहेका काङ्ग्रेस नेता रामहरि जोशीले लेखेका छन्, “ब्यारेकभित्र ट्रक र जिपहरु ओहोरदोहोर गरिरहेका छन्। दक्षिणतिर नयाँ भर्ना हुन आएका स्वयम्सेवकहरुलाई आजाद हिन्दका भूतपूर्व सैनिकहरुले प्रशिक्षण 
दिँदै छन् (जोशी, २०४८ : ८६)।”

चार पाँच घण्टाको प्रशिक्षणपछि हाइस्कुल प्राङ्गणमा एउटा ठूलो आमसभा आयोजना भयो, वीरगन्ज जनसरकारका प्रमुख तेजबहादुर अमात्यको सभापतित्वमा। त्यही सभालाई सम्बोधन गर्ने क्रममा बीपीले भनेका थिए, “मुक्तिसेनाको सानदार जित हुँदैछ । यदि एक साताभित्रमा राणा सरकारको पतन भयो भने कुनै आश्चर्य मान्नुपर्ने कुरा छैन (जोशी, २०४८ : ८७)।”

भाषणको अन्त्यमा बीपीले स्थानीयवासीमा अपिल गरे, “हाम्रो मुक्तिसेनाका बहादुर सिपाहीहरु देशका निम्ति, तपाईंहरुका निम्ति आफ्नो रगत दिइरहेका छन्। यस भयानक जाडोमा यिनीहरुलाई न्यानो लुगाफाटो, औषधि र भोजन दिएर मद्दत गर्नु तपाईंहरुको कर्तव्य हो (जोशी, २०४८ : ८८ र ८९)।”

वीरगन्ज, विराटनगर, उदयपुरलगायत देशका अधिकांश भाग कब्जा गरेपछि काङ्ग्रेसले ती स्थानमा नयाँ भर्ती खुलायो। प्रारम्भिक दिनमा कमिज, सुरूवाल, कट्टु, लगौंटी र भोटो लाएर लडेका मुक्तिसेनाका लागि ड्रेसको प्रबन्ध गरियो। गणेशमानको भनाइमा, “विराटनगर र जनकपुर कब्जा भएपछि बीपी र कृष्णप्रसाद भट्टराईले मुक्तिसेनाका लागि मिलिट्री ड्रेस बनाइदिएका थिए (गौतम, २०६०: ११७)।”

तेजबहादुर अमात्य वीरगन्जका जनसरकार प्रमुख र गोपालप्रसाद भट्टराई “पोलिटिकल कमिसार” बनाइएका थिए।” त्यहाँ मुक्तिसेनाले सरकारको ३५ लाख रूपैयाँ, दुई सय ५० नाल राइफल, गोलीगठ्ठा कब्जामा लिएको थियो। वीरगन्ज मोर्चाको निरीक्षणमा आएका ‘सुप्रिम कमान्ड काउन्सिल’का तीनै जना नेता बीपी, मातृका र सुवर्णले त्यत्रो ठूलो धनराशि क्रान्तिको सञ्चालनमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने छलफल गरे।”

अन्तर्राष्ट्रिय जगतको दृष्टिमा जनक्रान्तिको निष्कलङ्क छवि बनाउन धनराशि यताउता नगरी राजा त्रिभुवनलाई जिम्मा लगाउन उपयुक्त हुने निष्कर्षमा नेताहरु पुगे। तर जनसरकार प्रमुख अमात्य वीरगन्जको पैसा अन्यत्र लैजान नदिने अडानमा थिए। अन्त्यमा पैसा राजालाई नै बुझाउने निर्णय भयो। रकम लिएर तीनै जना पटना गए। त्यस रात सुवर्णको कोठामा पैसा राखियो। “भोलिपल्ट डिसी–३ डकोटा विमानबाट नेताहरु दिल्ली उडे। साथमा महावीर शमशेर र बीपीकी बहिनी विजया पनि थिइन्।” 

राति आठ बजे दिल्ली एयरपोर्ट पुगेपछि विमानलाई एक छेउमा लगेर रोकियो। बीपीले भनेका छन्, “फ्लड लाइट दिए। हामी छक्क पर्‍यौं। एकदमै उज्यालो छ फ्लड लाइटको। चारैतिरबाट लाइट दिएको छ, प्लेनमा। अनि आउँछ गुप्तचर विभागको चिफ हान्ड भन्ने (कोइराला, २०६७ : १२९)।” भारतीय गुप्तचर विभागको प्रमुखले भन्यो, “हामीलाई सूचना छ कि यस प्लेनमा लुटको सम्पत्ति ल्याइएको छ। तपाईंहरु आफ्नो सिटमा बसिदिनुहोला र आफ्नो तलासी गर्न दिनुहोला (कोइराला, २०६७ : १२९)।” क्रान्ति कमान्डर बीपीसँग ती दिन हरहमेसा पेस्तोल रहन्थ्यो । बीपीले भनेका छन्, “मसँग एउटा माउजर पेस्तोल थियो । उसले झन्झट गर्छ कि भनेर मैले बिस्तारै झिकेर सिट तलतिर राखें (कोइराला, २०६७ : १२९)।” ठीक त्यसै बेला अध्यक्ष मातृकाले भने, “जनक्रान्तिको सभापतिको हैसियतमा पैसा राखेको बाकसको साँचो मसँग छ।”

जाडो यामको चिसो, त्यसमाथि थकाइ, भोक, तिर्खाले लखतरान नेताहरु होटल पुगेर आराम गर्ने आशामा थिए। लामो समय जहाजबाट भित्रै राखेर ओर्लन भनियो। सबैलाई कस्टम काउन्टरमा रोकेर राखियो। एउटा बेन्चीमा लामो समय कुरेर बसिरहनुपर्दा मिनेटमिनेट पनि घण्टा जस्तै लाग्न थाल्यो। स्वागतार्थ विमानस्थल पुगेका सूर्यप्रसाद उपाध्याय र उनका साथीहरुलाई पनि आफ्ना नेताहरुसँग भेट्न दिइएन। सबै तलासी सकिएपछि बाकसमा रहेको ३५ लाख रूपैयाँ भारतीय सुरक्षाकर्मीले कब्जामा लिए।

त्यो घटनापछि सूर्यप्रसाद मातृकासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेट्न गए। लामो समय प्रतीक्षा कक्षमा कुराएपछि उनलाई भेट दिए। त्यो दिन नेहरू मातृकासँग निकै रिसाए। क्रान्तिकारीहरुले बन्दी बनाएका वीरगन्जका बडाहाकिम सोम शमशेरलाई रक्सौलस्थित सरकारी डाँक बङ्गलामा केही समय बन्द गरिएको घटनालाई लिएर नेहरू आक्रोशित थिए। नेपालका बडाहाकिमलाई विद्रोहीले भारतीय भूमिमा बन्दी बनाउनु अन्तर्राष्ट्रिय मान्यताविपरीत काम थियो। त्यसैगरी लुटिएको ३५ लाख रूपैयाँ दिल्ली ल्याएकोमा पनि नेहरू रूष्ट थिए। मातृकालाई देख्नेबित्तिकै आक्रोश भरिएका शब्दमा नेहरूले प्रश्न गरे, “के चाला हो यो? वीरगन्ज कब्जा गरेंँ भन्दैमा भारतलाई पनि नियन्त्रणमा लियौं भन्ने ठान्यौ?” 

आफूहरुलाई विमानस्थलमा अपमान गरी ३५ लाख रूपैयाँ कब्जा गरेका कारण बीपी नेहरूसँग एकदमै रिसाएका थिए। तर त्यो रिसको कुनै अर्थ थिएन। मातृकाले भेटेको केही दिनपछि बीपी र नेहरूको कुराकानी भयो। उनीहरुबीच भएको वार्तालाप कम रोमाञ्चक थिएन। 

बीपी : तपाईंले हामीलाई किन थुन्नुभएको ? हाम्रो रकम पनि कब्जामा लिने?

नेहरू : तपाईंहरु हल्ला मच्चाउँदै अखबारहरुलाई सूचना दिएर पैसा ल्याउनुहुन्छ। मलाई त्यसरी अप्ठ्यारोमा पार्ने काम गर्न हुन्छ त?

बीपी : त्यत्रो पैसा कहाँ लैजाने त?

नेहरू : आफ्नो घरमा राख्न सक्नुहुन्थेन? कस्तो क्रान्तिकारी हो तपाईं? त्यति पैसा पनि आफ्नो कोठामा राख्न नसक्ने? तपाईसँग आलमारी वा सेफ थिएन? नत्र जुन बाकसमा ल्याउनुभयो त्यसैमा राखे हुँदैनथ्यो! राजालाई दिन भनेर ल्याउनुभयो। राजा क्रान्तिकारी हुन् कि जनता?

अन्तर्राष्ट्रियस्तरमा आफूलाई अप्ठ्यारोमा परेको भन्दै रूष्ट नेहरूले थपे, “तपाईंको काम हेर्दा त हतकडी लगाउनुपर्ने (कोइराला, २०६७ : १२९)।” 

*(पत्रकार जगत नेपालको आगामी शुक्रवार सार्वजनिक हुँदै गरेको पुस्तक बीपीको विद्रोहको एक अंश।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell