PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शान्ति सम्झौताका १२ वर्ष: 'सरकारले छोरो निल्यो, पार्टीले घर'



विधुर ढकाल

शान्ति सम्झौताका १२ वर्ष: 'सरकारले छोरो निल्यो, पार्टीले घर'

काठमाडौँः २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता हुँदै गर्दा आम द्वन्द्वपीडितमा एउटा उत्साह थियो। द्वन्द्वको घाउमा मलह्म  लगाउने आशा थियो। यसबीचमा १२ वर्ष बितेका छन्। द्वन्द्वको घाउ अझै आलै छ।

सानैदेखि राजनीतिमा होमिएका लहरेपौवा (हाल उत्तरगया–५) रसुवाका झकबहादुर भुसालमा पनि। पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्दा शान्तिको सास फेर्ने आशा थियो। तर उनले त्यस्तो अनुभव गर्न पाएनन्।

यही राजनीतिले गर्दा आफ्नो छोरो गुमाए। सम्पत्ति गुमाए। भन्छन्, ‘सरकारले छोरो निल्यो, पार्टीले सम्पत्ति।’

शान्ति सम्झौता हुँदै गर्दा झण्डै चार वर्ष अगाडि २०६० सालमा बेपत्ता १२ वर्षका छोरा फर्किने आश पलायो। तर १२ वर्ष बित्यो। आशा निराशामा बदलिँदै गएको छ। ‘भन्छन् १२ वर्षपछि खोलो फर्किन्छ, तर १२ वर्ष बित्यो छोरो फर्काइएन्।’

२०६० साल जेठ २१ गते ललितपुर पाटन सुन्धारा डेराबाट स्कुल जान निस्किएका भुसालका छोरा बेदकुमार (विजय) भुसाल फर्किएनन्। विजय कनिबहालमा रहेको युनिक मोडल एकेडेमीमा पढ्थे। विद्यालय जान हिँडेका उनलाई हतियारसहित आएका सेनाले गाडीमा हालेर लगे, कहाँ लगे थाहा छैन।

‘बिहान खाना खाएर स्कुल निस्किएको हो। फर्किएन। देख्नेले हतियारसहित आएका सेनाले लगेर गएको बताए,’ उनले भने, ‘म धेरै ठाउँ चहारेँ। तर फेला पार्न सकिनँ।’

भुसाल माओवादी राजनीतिमा लागे पनि उनका छोराको राजनीतिसँग कुनै साइनो थिएन्। ‘उसको के दोष थियो र? मलाई टर्चर दिनकै लागि छोरालाई उठाए। फर्काइदिएनन्,’ उनले भने।

छोरासँगैकी छोरी अहिले स्नातकको परीक्षा दिएर बसेकी छन्। भन्छन्, ‘छोरो पनि अहिले स्नातक सकेको हुन्थ्यो।’

छोरो जिउँदो या मरेको के छ थाहा पाउने उनको अन्तिम इच्छा छ। ‘अब मेरो पनि के छ र बिरामी छु। उपचार गरिहनुपर्छ। उमेर पनि ढल्कियो। एउटै धोको छोराको कि लास कि त सास पाए हुन्थ्यो,’ शान्ति सम्झौताको १२ वर्ष पुग्दै गर्दा काठमाडौँमा भेला भएका द्वन्द्वपीडितहरुको माझ भेटिएका उनले भने।

 

राजनीतिले जीवन खायो

२०१३ सालमा जन्मिएका उनी ५ कक्षासम्म पढेका छन्। त्यतिबेला उनको परिवार चितवनमा थियो। झापा विद्रोहताका निर्मल लामा र पारिजात चितवन आइपुगे उनको घरमा सेल्टर लिन्। त्यहीँबाट उनी राजनीतिमा प्रभावित भए। उनको उनको परिवारमा राजनीतिको छाप पहिलेदेखि नै थियो।

पछि उनी पाँच पढ्दै गर्दा राजनीतिमा होमिएका विद्यार्थी नेताहरु आए। भन्छन्, ‘पछि विद्यार्थी नेताहरु आए। पाँच कक्षामै पढ्दै थिएँ। हातको औँलामा सियोले घोपेर पार्टीको सदस्यता दिलाए। अनि आफूसँगै लिएर हिँडे।’

यसबीच उनी जेल पनि परे। २०२८ सालमा पाल्पाको सेन्ट्रल जेलमा पाँच वर्ष बसे। २०३३ सालमा पृथ्वीनारायण शाहको जन्मोत्सवमा उनलाई छाडियो। उनलाई पार्टी (तत्कालीन चौथो महाधिवेशन) ले प्रवासमा खटायो। उनी हानिए अमलेखगञ्ज। त्यहाँ बैठक बसेर उनी सिलगुडी हुँदै पूर्वी भारत खटिए। त्यहाँदेखि भुटानसम्म संगठन विस्तार गरे।

अधिक समय प्रवासमा काम गरेका उनी माओवादी आन्दोलनको समयमा माओवादीमा होमिए। माओवादी आन्दोलनमा मजदुर संगठनमा रहेर काम गरेका उनी केन्द्रीय सदस्यसम्म भए। ‘भुसाल बा भनेपछि सबैले चिन्छन्। मैले राजनीति गरेर कमाएको यही नाम हो,’ उनले भने, ‘यसबीच धेरैपटक मृत्युको मुखबाट निस्किएको छु।’

शान्ति सम्झौतापछि भने उनी राजनीतिबाट अलग भएको बताउँछन्। शान्ति सम्झौतापछि उनको डेरामा माओवादी कार्यकर्ता आए। भएको सामान लुटेर लगे। पार्टीलाई मैले गरेको योगदानको कदर थियो यो?

पार्टीकै कारण घरबारसमेत भत्कियो। अहिले श्रीमतीसँगसमेत छोडपत्र भयो। छोरीलाई पढाएर बसेका छन्।

‘त्यसपछि राजनीतिमा छैन,’ उनले भने, ‘छोरो खोज्दै हिँडेको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell