PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ग्राउन्डेड 'अन्नपुर्ण' बुधवारबाट नियमित उडान भर्दै



ग्राउन्डेड 'अन्नपुर्ण' बुधवारबाट नियमित उडान भर्दै

काठमाडौं: नेपाल वायुसेवा निगमको ब्रान्ड न्यु जहाज 'अन्नपूर्ण' ले बुधवारदेखि नियमित उडान भर्ने भएको छ। मर्मत सम्भार अन्तिम चरणमा पुगेकाले नियमित उडान गर्न लागेको निगमको इन्जिनियरिङ विभागले जनाएको छ। 

जहाज मर्मतपछि फ्लाइट डिलेको समस्या हट्ने दाबी निगमको छ। अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको हाल दुईवटा जहाजमा समस्या आएपछि फ्लाइट डिलेको समस्या आइरहेको छ। विमानस्थल स्रोतका अनुसार केही समय यता दुईदेखि तीन घण्टा उडान ढिला हुँदै आएको छ। 

ब्रेकिङ सिस्टममा खराबी आएपछि दश दिन अगाडिदेखि जहाज मर्मतका लागि ग्राउण्डेड गराइएको थियो। यसअघि कात्तिक १६ गते दोहामा ब्रेकिङ सिस्टममै समस्या आएपछि यो जहाज मर्मत गरेर ६ घण्टा ढिलो उडान भएको थियो। बिहीवार फेरी त्रिभुवन विमानस्थलमा त्यही समस्या दोहोरिएपछि ब्रेकिङ सिस्टम नै परिवर्तन गर्नुपर्ने अवस्था आएको थियो।

जहाजको ब्रेकिङ सिस्टम फेर्दा लाग्ने खर्च जहाज बिक्री गरेको एएआर कम्पनीले ब्यहोर्ने छ। 'खरिदबिक्री सम्झौता अनुसार नयाँ ब्रेकिङ सिस्टम जडान गरिसकेपछि निगमले पुरानो ब्रेकिङ सिस्टम कम्पनीलाई नै बुझाउनुपर्ने प्रावधान रहेको छ,' निगमका एक कर्मचारीले भने।     

एक सय ५८ सिटे दुई वटा न्यारोबडी जहाज, एक सय ९० सिटे एउटा बोइङ ७५७ र दुई वटा दुई सय ७५ सिटे  वाइड बडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको निगमको हाल तीन वटा जहाजले मात्र उडान भर्दै आएको छ। 

निगमको बोइङ ७५७ 'गण्डकी' केही समय अगाडि मर्मतका लागि क्वालालम्पूर लगिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ निगमसँग भएका तीन वटा जहाजले दोहा, क्वालालाम्पुर, हङकङ, सिंगापुर, बैंकक, मुम्बई, दिल्ली, बैंगलोर लगायतका गन्तव्यमा उडान भर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell