PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

छोराको सम्झनामा सीतालाई सकस, प्रचण्डका गला अवरुद्ध, फोटोमा हेर्नुस्

छोराको सम्झनामा सीतालाई सकस, प्रचण्डका गला अवरुद्ध, फोटोमा हेर्नुस्


काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको स्मृतिमा सोमवार प्रचण्ड निवास खुमलटारमा स्मृति सभा आयोजना भयो। प्रचण्ड परिवारको शोकमा समवेदना दिन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु खुमलटार पुगेका थिए।

कार्यक्रममा उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, डा. बाबुराम भट्टराई, अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरु, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरासहितका नेताहरुसमेत कार्यक्रममा उपस्थित थिए।

कार्यक्रमको मञ्चमा उपस्थित सीता दाहाल भने कार्यक्रम अवधिभर शोकाकुल देखिन्थिन्। उनलाई छोरीहरु रेणु र गंगाले सम्हालिरहेका थिए। कतिसम्म भने उनलाई दुई छोरीले समाल्न नसक्दा प्रचण्डले नै सम्हालिरहेका थिए।

एक वर्ष अगाडिको आइलागेको पुत्र वियोगको पीडाबाट उनी अझै बाहिर निस्किन सकेकी छैनन्।

गत वर्ष मंसिरमा ३ गते एकमात्र छोरा प्रकाश र त्यसको केही वर्ष अगाडि जेठी छोरी ज्ञानु दाहाल गुमाएकी उनी अझै सन्तान वियोगलाई बिर्सन सकेकी छैनन्। र यो वियोगको पीडाबाट तंग्रिन सकेकी छैनन्। उनी कार्यक्रममा घरीघरी भक्कानिइन्। जुरुक्क उठ्थिन्, प्रचण्डले सम्हालेर बसालेपछि रुँदै मुहार छोप्थिन्।

बाहिर समालिएका देखिएका प्रचण्ड पनि मञ्चमा बोल्दा बोल्दै भक्कानिए। पुत्रको स्मृतिमा बोलिरहेका प्रचण्डको पुत्र वियोग सुनाउँदै गर्दा गला अवरुद्ध भए। एकै छिन रोकिएर भने, ‘सायद तपाईँहरुको साथ सहयोग र सद्भाव नभएको भए हाम्रो परिवार नै विखण्डन हुने थियो।’

कार्यक्रममा उनका दुई श्रीमतीहरु सिर्जना र विना पनि उपस्थित थिए। प्रकाशको तस्विरमा माल्यापर्ण गर्दा उनीहरुका पनि गला अवरुद्ध भए।



ट्रेन्डिङ पोस्ट

Ncell