तिजुआना: मेक्सिको र अमेरिकी सीमासम्म आइ पुगेका हजारौं आप्रवासीहरुको विरुद्ध मानिसहरु सडकमा उत्रेका छन्।
मेक्सिकोको तिजुआनाका स्थानीयहरुले शहरमा आइपुगेका आप्रवासीहरुलार्इ त्यहाँबाट फिर्ता जान भनेको बीबीसीले उल्लेख गरेको छ।
'सुन्दर भविष्यको खोजीमा' होन्डुसरका हजारौं नागरिकहरु मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने प्रयासमा छन्। उक्त समूहमा अहिले होन्डुरसबाहेक अरु राष्ट्रका नागरिक समेत रहेको बताइएको छ।
आप्रवासीहरु धेरै समूह बनाएर अमेरिका र मेक्सिकोको सीमामा आइपुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
अमेरिकाले त सीमा क्षेत्रमा आप्रवासीहरुलार्इ प्रवेश गर्न रोक्न थप सुरक्षा बल नै पठाएको छ।
तिजुआनाका मेयर जुआन मानुल ग्यासटेलुमले केही हप्तामा नै आप्रवासीको संख्या १० हजार नाघ्ने भन्दै आफूहरुसँग तिनीहरुको व्यवस्थापन गर्ने सामर्थ्य नरहेको बताएका छन्। उनले हाल त्यहाँ आएका आप्रवासीहरुद्यार्इ नै व्यवस्थापन गर्न गाह्रो भएको बताए।
ग्यासटेलुमले तिजुआनाले आप्रवासी ठेग्न नसक्ने बताएको बारे ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरुले त्यहाँ आतंक मच्चाएको बताए। पहिलादेखि आप्रवासीहरुको विरोध गर्दै आएका ट्रम्पले आप्रवासीहरुलार्इ आफ्नो देश फर्किनु पर्ने बताए।
अमेरिकी र मेक्सिको सीमा नजिकै रहेको तिजुआनाका स्थानीयहरुले सीमाबाट आउने व्यक्तिहरु कै कारण आफ्नो व्यवसाय चलेको बताए। आप्रवासीहरुको उपस्थितिले अमेरिकाले सीमा बन्द गरे त्यसको दोष आप्रवासीहरु नै हुने उनीहरुको तर्क थियो।
आप्रवासीहरुले भने प्रदर्शन गर्न पाउने उनीहरुको अधिकार भएको भन्दै आफूहरु धेरै समय त्यहाँ नबस्ने बताए।