PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

१२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल



सागर बुढाथोकी

१२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल

काठमाडौं : प्रधानमन्त्री कार्यालयले १२ वर्षको उमेरमा आमा बन्दै गरेकी गंगा प्रजाको उपचार तथा उद्दारका लागि निर्देशन दिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी र राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्ल मार्फत् प्रजाको उपचार र उद्दारका लागि सरकारले पहल थालेको हो। 

गंगाको अवस्थाबारे पहिलोपोस्टले समाचार प्रकाशित गरेको थियो। पढ्नुस् : एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा 

प्रधानमन्त्री कार्यालयको निर्देशन लगत्तै गंगाको उद्दारको पहल सुरु भएको छ। 'उद्दारका लागि पहल गर्न गाउँपालिका र वडाका अध्यक्षलाई निर्देशन दिएका छौँ। उहाँहरुले भोलि हेटौंडा ल्याएर स्वास्थ्य जाँच गर्नुहुन्छ,' मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, 'यहाँ उपचार नहुने अवस्था आए तुरुन्त काठमाडौँ पठाउँछौं।'

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उपचारको खर्च गाउँपालिकाले बेहोर्ने बताए। गंगाको उपचार र जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्ने जनाए। भने, 'गंगाको उपचार पोषण र सुत्केरीपछि खर्चको जिम्मा हामी लिन्छौँ। यहाँ नभए काठमाडौँ पठाउँछौं।'

गर्भवती बनाएपछि बेपत्ता गंगाका श्रीमान् रञ्जित प्रजा पनि सम्पर्कमा आएको मल्लले बताए। भने, 'गंगाको घरमा वडा अध्यक्षलाई भेट्न अहिले नै पठाइसकेको छु। अब भोलि हेटौँडामा जाँच गरेपछि असम्भव भए काठमाडौँ पठाउँछौँ।'

मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता सह सचिव विनोद कुँवरले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र गाउँपालिकाका अध्यक्षलाई गंगाको जीवनरक्षा र उपचार गर्न निर्देशन दिएको जानकारी दिए। 'उता सम्भव भए यतै नभए काठमाडौं नै ल्याउन प्रधानमन्त्रीको कार्यालयबाट निर्देशन भएको छ,' उनले भने।

समाचार सार्वजनिक भएपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले गंगाको विषयमा चासो देखाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

सरकारले सबै खर्च बेहोर्ने भए पनि उनको परिवार भने अझै संशकित छ। सरकारले सहयोग गर्ने भन्दै गाउँपालिकाका अध्यक्षले टेलिफोन गरे पनि आफू संशकित रहेको गंगाको दाइ मेघराज प्रजाले बताए। भने, 'अहिले सरकारले सहयोग गरेको पछि सबै फिर्ता लिन्छ भन्ने सुनाएका छन्। पछि सरकारलाई कहाँबाट फिर्ता दिनु? फिर्ता दिनुपर्ने भए किन सहयोग लिनु?' 

चेतनास्तरको कमी र चरम गरीबीबाट गुज्रिएको यहाँका धेरैजसो चेपाङ समुदायका मानिसले धर्म परिवर्तन गरेका छन्।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ‍औले गाउँकी गंगा प्रजाको पहिलोपोस्टले स्थलगत रिपोर्टिङ गरेको थियो। १२ वर्षकै उमेरमा आमा बन्दै गरेकी उनको गर्भमा आठ महिनाको बच्चा थियो। उनका श्रीमान् रञ्जित प्रजा पाँच महिनादेखि सम्पर्क विहीन थिए।

गर्भवती अवस्थामा गंगा गोठमा सुतेकी थिइन भने निस्तो खाना खाएर दिन काटेकी थिइन्। जाडोमा लगाउने लुगासमेत थिएन। गरिबीका कारण कुपोषण र भोकमरीमा छ परिवार।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell