PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गैर नेपालीले नागरिकता पाएको गृहमन्त्रीको स्वीकारोक्ति, सांसदको माग : नागरिकता रद्द गर्नुस्



बीपी साह

गैर नेपालीले नागरिकता पाएको गृहमन्त्रीको स्वीकारोक्ति, सांसदको माग : नागरिकता रद्द गर्नुस्
फाइल फोटो

काठमाडौं : गृह मन्त्री राम बहादुर थापा ‘बादल’ले लाखौं अनागरिकले नेपाली नागरिकता पाएको स्वीकारेका छन्। जिल्ला प्रशासन कार्यालयबाट जारी हुने भएकाले नागरिकता वितरण गृह मन्त्रालय मातहत पर्छ। 
  
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भने, ‘लाखौं अनागरिकले नेपाली नागरिकता पाएका छन्। यो संख्या कति हो त्यसबारे छानविन हुनु पर्छ।’

आइतबार सिंहदरबारस्थित समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ माथि भएको छलफलमा गृह मन्त्री थापाले नागरिकता टोलीद्वारा वितरण गरिएको नागरिकतामाथि छलफल गर्नुपर्ने बताएका हुन्।

अंगीकृत नागरिकताका विषयमा महत्वपूर्ण छलफल हुनुपर्ने बताउँदै गृहमन्त्री थापाले अंगीकृत नागरिकका कारण कयौं देश समाप्त भएको दाबी गरे। 

‘नागरिकता राष्ट्रिय सुरक्षा र अखण्डतासँग पनि जोडिएको छ। नागरिकको विकासको कुरा पनि हो,’ गृह मन्त्री थापाले भने, ‘अंगीकृतका विषय सम्बोधन भएन भने राष्ट्रिय अखण्डता समस्यामा पर्नसक्छ।’

भारत र अन्य देशका नागरिकहरुले नेपाली नागरिकता माग गरिरहेको बताउँदै गृह मन्त्री थापाले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने विषयमा पनि संसदले ध्यान दिनुपर्ने बताए।

समितिको बैठकमा सहभागी अधिकांश सांसदहरुले नेपालको नागरिकता वितरण प्रणालीलाई कडाई गर्नुपर्ने बताएका थिए।

सांसद झपट रावलले जन्मका आधारमा कति जनाले नागरिकता पाए भन्ने तथ्यांक बाहिर आउनुपर्ने बताउँदै फर्जी व्यक्तिले पाएको नागरिकता रद्द गर्नुपर्ने माग गरे। न्यायिक छानविन समिति गठन गरेर त्यस्ता नागरिकता रद्द गर्नुपर्ने रावलको तर्क थियो।

सांसद जनार्दन शर्माले नेपालमा एक पक्षले नागरिकता दिन नचाहेको र अर्को पक्षले नागरिकता लिन चाहेकाले विवाद भएको बताए।

सांसद कृष्ण गोपाल श्रेष्ठले कोही विदेशीले 'नेपाल खाने' उद्देश्यले नागरिकता पाउननहुने बताएका थिए।

समितिमा छलफल भइरहेको नागरिकता सम्बन्धी विधेयकमाथि १०२ वटा विषयमा संशोधन परेको छ भने २३ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

समितिले अब संशोधन दर्ता गराउने सांसदहरुसँग छलफल गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell