PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'बलात्कारको भिडियो देखाएर' पीडितसँगै बार्गेनिङः एक महिनापछि घटना सार्वजनिक, अभियुक्त फेला परेनन्



राधेश्याम पटेल

'बलात्कारको भिडियो देखाएर' पीडितसँगै बार्गेनिङः एक महिनापछि घटना सार्वजनिक, अभियुक्त फेला परेनन्
प्रतीकात्मक तस्विरः घटनासँग तस्विर सम्बन्धित छैन।

वीरगंजः पर्सामा एक दलित महिलामाथिको बलात्कारको घटना एक महिनापछि सार्वजनिक भएको छ। बलात्कारको भिडियो देखाइदिने भन्दै पीडितसँगै पैसा मागेपछि पीडित आफैँले घटना सार्वजनिक गर्न बाध्य भएकी हुन्।

वीरगंज १८ सौराहाका चार जना युवाहरू मिलेर ४० वर्षीया महिलालाई कात्तिक ५ गते सामूहिक बलात्कार गरी मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। राति १० बजेको समयमा घरबाहिर खेतमा शौच गर्न गएको मौका छोपी सौराहाका मनोज साह तेली, कृष्ण साह, दिलीप सहनी र आकाश साहले जबर्जस्ती गरेका थिए।

गाउँकै पश्चिममा पर्ने डोकैला बजारमा लागेको मेला हेरेर मदिराको नशामा चार जनाले एक्लै महिलालाई देखेपछि बलात्कार गरेको पीडित महिलाको आरोप छ।

आकाशले मोबाइलमा भिडियो खिची कात्तिक ७ गते २५ हजार रुपैयाँ नदिए गाउँमा भिडियो देखाएर हल्लीखल्ली मच्चाउने धम्की दिएको पीडितको भनाई छ। घटना गाउँमा फैलिने डरले बलात्कृत महिलाले गाउँकै सामाजिक कार्यकर्ता रुपा पाण्डेलाई जानकारी गराई कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा आरोपित चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी थिइन्।

जाहेरी परेपछि प्रहरीले मुचुल्का तथा अनुसन्धान थालेको थियो। तर तीन साता बिते पनि आरोपित पक्राउ परेका छैनन्।

आरोपित पक्षबाट ५ लाख रुपैयाँ र ५ कट्ठा खेत पीडितको नाममा गरिदिने गरी घटना मिलापत्र गर्न दबाब आएको गाउँले जयमंगल हाजाराले बताए।

चारै जना आरोपित गाउँ छाडेर फरार छन्। पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले घटनाबारे जानकारी प्राप्त भएसँगै सुरक्षाकर्मी परिचालन गरी फरार अभियुक्तको खोजी तथा अनुसन्धान भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell