PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

मर्निङवाक निस्केका इन्द्रावती ८ का वडाध्यक्ष श्रेष्ठ इन्द्रावती खोलामा मृत अवस्थामा फेला



मर्निङवाक निस्केका इन्द्रावती ८ का वडाध्यक्ष श्रेष्ठ इन्द्रावती खोलामा मृत अवस्थामा फेला

नवलपुर: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। उनलाई इन्द्रावती खोलामा डुबेको अवस्थामा फेला परेपछि प्रहरीले उनको शव आज साँझ निकालेको छ।

बिहान ४ बजेतिर मर्निङवाकका लागि निस्किएका श्रेष्ठ दिउँसोसम्म घरमा नआएपछि परिवारले खोजी गरेका थिए।

खोलामा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको श्रेष्ठका छोरा बाबुकाजी श्रेष्ठले जानकारी दिए। 'बुवा मर्निङवाक निस्कनुभएको थियो। यस्तो अवस्थामा भेटिनुभयो। कसैसँग झैझगडा गर्नुहुन्नथ्यो। हामीलाई विश्वासै लागेको छैन। उहाँसँग भएको मोबाइल पनि भेटिएको छैन,' बाबुकाजीले भने।

यसअघि पनि मर्निङ वाकमा निस्कने श्रेष्ठ इन्द्रावती पुल तरेर माथि नजाने गरेको र आज बिहान भने बडहरेतिर गएको पाइएको परिवारले जनाएको छ।

श्रेष्ठको मृत्यु सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका डिएसपी विमलराज कँडेलले जानकारी दिए। मृत्युको कारण भने पोस्टमार्टमपछिमात्र थाह हुने उनले बताए। 'हामीलाई दुई बजेतिर खबर आएको थियो, खबर पाउनसाथ प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाइसकेको छ, पोस्टमार्टमपछि कज अफ डेथ थाह हुनेछ,' डिएसपी कँडेलले भने।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित ६६ वर्षे श्रेष्ठ हाल सिपाघाटमा बस्दै आएका थिए। पारिवारिक समस्याबाट पीडित वडाध्यक्ष श्रेष्ठ पछिल्लो समय गाउँपालिकाका बैठक तथा वडाका काममासमेत अनुपस्थित रहँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell