PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आमिर खानको 'ठग्स…' यसरी लाग्यो ओरालो



पहिलोपोस्ट

आमिर खानको 'ठग्स…' यसरी लाग्यो ओरालो

यस वर्षको बहुप्रतिक्षित फिल्म ठग्स अफ हिन्दुस्तानले दर्शकलाई 'ठगेको' प्रतिक्रिया यसरी फैलियो कि फिल्मको स्तर जुन थियो, त्यो भन्दा धेरै खराब सुनियो। अमिताभ बच्चन, आमिर खान, कैटरिना कैफजस्ता स्टारलाई औशत फिल्म दिने छुट छैन भन्ने पनि स्थापित भयो बलिउडमा यसै फिल्ममार्फत्। 

समीक्षकले फिल्मलाई रुचाएनन्, सँगै दर्शकहरुले पनि। फिल्मले सुरुको दिन जुन हाइप सिर्जना गरेको थियो, भोलिपल्टैदेखि त्यो त्यति नै तीब्र गतिमा झर्न थाल्यो। अक्कुपेन्सी रेट ह्वात्तै झर्दा फिल्मको कमाइ पनि घट्न थाल्यो। तिहारको पर्वलाई क्यास गरेको यसै फिल्मका कारण ठूला ब्यानरका फिल्मले रिलिजका लागि मेहनत गरेनन्। अघिल्लो एक साता र पछिल्लो एक साता पनि बक्स अफिस मैदान ठग्स अफ हिन्दुस्तानका लागि खाली गरियो। मल्टिप्लेक्स र सिंगल स्क्रिनमा समेत अरु फिल्मले इन्ट्री पाएनन्। फलश्वरुप सबै रेकर्ड ब्रेक गर्दै पहिलो दिन नै फिल्मले ५० करोड ७५ लाख भारु कमायो।

पहिलो दिनको रेकर्ड जसरी बस्यो उसैगरी कारोबारमा गिरावट पनि आउन थाल्यो। रिलिजको दोस्रो दिन फिल्मको कमाइ ४४.३३ प्रतिशतले तल झर्यो। तेस्रो दिन थप १९.४७ प्रतिशत र चौथो दिन २४.१८ प्रतिशत झर्यो। 

३ सय करोड रुपैयाँमा बनेको फिल्मले पहिलो दिन ५० करोड माथिको कारोबार गर्दा दोस्रो दिन २८ करोड २५ लाखमात्र कमायो। तेस्रो दिन पुग्दा २२ करोड ७४ लाख, चौथो दिन १७ करोड २५ लाख र पाचौं दिन ५ करोड ५० लाख र छैटौं दिन ४ करोड ३५ लाख कमायो। रिलिजको सातौं दिन ३ करोड ५० लाख र आठौं दिन २ करोड ६० लाखमा सीमित भयो आम्दानी। आम्दानीमा आएको यो गिरावटले फिल्मलाई फ्लपको बाटो देखाइसकेको छ। भारतमा सबै भाषामा गरी ८ दिनमा फिल्मले कूल १ सय ४० करोड कमाएको छ। 

ओरालो गतिको यो सिलसिला भारतमा मात्र होइन, विश्वभर नै देखिएको छ। भारत बाहिर फिल्मले कूल ५६ करोड ११ लाख बटुलेको छ। बलिउडका ट्रेड विश्लेषक तरन आदर्शका अनुसार यो फिल्मको अपेक्षाभन्दा धेरै खराब आम्दानी हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell