PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा सिद्धार्थ राणा, कर बढी तिर्ने अरु को को सम्मानित?



पहिलोपोस्ट

व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा सिद्धार्थ राणा, कर बढी तिर्ने अरु को को सम्मानित?

काठमाडौं : सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। क्षेत्रगत आधारमा गरिको वर्गीकरणअनुसार सबैभन्दा धेरै कर तिर्ने एक एक जनालाई सम्मान गरिएको हो। 

सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने उद्योगी सिद्धार्थ राणालाई सरकारले सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको छ। 

विभागले हरेक वर्ष धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका छन्। 

विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिकालाई पनि सम्मान गरेको छ। 

आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपाल सम्मानित भएको छ। कम्पनीका उपाध्यक्ष रवि केसीले सम्मान ग्रहण गरे। 



निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ। कम्पनीका वित्त नियन्त्रक आदित्य भार्गवले सम्मानपत्र ग्रहण गरे। 



उद्योगतर्फ हिमाल पावर कम्पनीले धेरै कर तिरेको छ। कम्पनीका वित्त नियन्त्रक उमेश शर्मालाई सम्मानपत्र प्रदान गरिएको छ। 



कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि सम्मानित भएको छ। कम्पनीका कार्यकारी निर्देशक डा. दिशेन गौतम सम्मानित भएका छन्। 



सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त सम्मानित भएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले सम्मान ग्रहण गरे। 



बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सम्मानपत्र ग्रहण गरेका छन्। 



बीमा व्यवसायतर्फ नेपाल पूनर्बीमा कम्पनीले धेरै कर तिरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सम्मानपत्र ग्रहण गरेका छन्। 

स्वास्थ्य तथा शिक्षा तर्फ बिराटनगरको नोबेल मेडिकल कलेजले धेरै कर तिरेको छ। कम्पनीकी उपाध्यक्ष इन्दिरा शर्मा बराल सम्मानित भएकी छिन्। 



सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टरनेशनल सम्मानित भएको छ। कम्पनीका अध्यक्ष विश्वास ढकाल सम्मानित भएका छन्। 


पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल सम्मानित भएको छ। तारागाउँका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन्। 



व्यापारमा सिप्रदी ट्रेडिङ सम्मानित भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मान ग्रहण गरेका छन्। 



४० करोड रुपैयाँसम्म व्यवसाय गर्ने मध्यमस्तरीय करदताबाट नेपाल इन्भेष्टमेन्ट लिमिटेड सम्मानित भएको छ। 



४० देखि ८० करोड रुपैयाँ कारोबार गर्नेमध्येबाट नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ। नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले सम्मानपत्र ग्रहण गरे। 



यस्तै पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित भएको थियो। कम्पनीका वित्त प्रमुख उद्धव तिमल्सिना सम्मानित भएका छन्। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell