PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'कन्फ्युजन' मा डा केसी: शिक्षामन्त्रीलाई विश्वास गर्ने कि प्रधानमन्त्रीलाई?



सागर बुढाथोकी

'कन्फ्युजन' मा डा केसी: शिक्षामन्त्रीलाई विश्वास गर्ने कि प्रधानमन्त्रीलाई?

काठमाडौं : संसदको हिँउदे अधिवेशन सकिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीले बारम्बार पत्रकार सम्मलेन गरिरहेका छन्। उनका अधिकांश विज्ञप्तिको आशय एउटै हुन्छ - 'अब म तत्कालै अनशन बस्छु।' 

पछिल्लो पटक २७ दिनको लामो अनशन तोड्दा उनको माग अनुसार सरकारसँग भएका सम्झौता कार्यन्वयन भएको छैन। एउटै मागका लागि पनि बारम्बार अनशन बस्ने मुडमा उनी छैनन्। तर, अनशनको विकल्प पनि देख्दैनन्। उल्टै प्रश्न गर्छन्- 'जताततै माफिया नै माफिया छन्,  सम्झौता गर्छन्, माग पूरा गर्दैनन्। म अनशन नबसेर के गरुँ?'

दुई सातामा माग पूरा गर्ने सम्झौता भएपछि उनले  अनशन तोडेका थिए पछिल्लो पटक। एक सय १० दिन नाघिसक्यो १५ औ अनशन सकाएको। संसदको अधिवेशन सकिएको पनि ५० दिन कटिसकेको छ। अर्को अधिवेशन सुरु हुने टुंगो छैन। चिकित्सा शिक्षा विधेयक अलपत्रै छ। त्यसैले उनी चिन्तित छन्। 

भन्छन्, 'सरकारको आशा गरेर अनशन नबसौं माग पूरा हुने छाँटकाँट छैन। अनशन बस्यो, बिनाकारण अनशन मात्र बस्यो भन्ने आरोप।' त्यसैले तत्कालै निर्णय गर्न गाह्रो भएको सुनाउँछन् उनी। 

२७ दिनको लामो अनशन तोडेपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई   दुईपटक भेट गरिसके। उनको मागमा आफू सकरात्मक रहेको प्रम ओलीले बताइरहेका छन्। आफू कुनै स्वार्थ समूहको चेपुवामा नपरेको र सम्झौता भएजसरी नै विधेयक पारित हुने ओलीले आश्वशन दिइरहका छन्, सबै भेटमा। 

तर, सम्झौता भएको एक सय १० दिन नाघ्दा पनि नतिजा शून्य छ। आश्वाशन आइरहेको छ, काम भइरहेको छैन। 

किन त?

'शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उनको माफियासँगको सम्बन्ध,' डाक्टर केसी भन्छन्, ' शिक्षामन्त्रीको स्वार्थ नभएको भए मलाई किन संसदको अधिवेशन सकिनुअघि फोन गरेर 'ब्ल्याकमेलिङ' गर्थे?'

उनी शिक्षामन्त्रीकै कारण विधेयक पारित नभएको दावी गर्छन्। शिक्षामन्त्री पोखरेलसँग डाक्टर केसीको यही विषयमा दोहोरी चलिरहेको छ। दोहोरी लम्बिरहे पनि त्यसको 'रिजल्ट' आइसकेको छैन। 'रिजल्ट' नआउँदै दोस्रो परीक्षा दिन तयार छन्, केसी। अबको केही दिनमा माग पूरा गर्न सरकारलाई 'अल्टिमेटम' दिने बताउँछन्। त्यस बीचमा चिकित्सा शिक्षा विधेयक पारित भएन भने शिक्षामन्त्रीको राजीनामाको माग गरेर अनशन बस्ने सुनाउँछन्। 

आक्रोशित हुँदै भन्छन्, 'शिक्षामन्त्रीले राजिनामा दिएनन् भने प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्नुपर्छ। प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेनन् भने म सरकारविरुद्ध नै अनशन बस्छु।'

शिक्षा मन्त्रीलाई विश्वास गर्ने कि प्रधानमन्त्रीलाई 'कन्फ्युजनमा' छन्, उनी। भने, 'यो चाहिँ पक्का हो अबको लडाई शिक्षामन्त्री हुँदै सरकारको विरुद्ध पनि पुग्न सक्छ। र, अन्तिम लडाई पनि यही नै हुनसक्छ।'

यसैले चाँडै संसद सुरु भएर विधेयक पारित भएको हेर्न चाहन्छन् उनी। अनशन बस्ने मुडमा नभए पनि हार मानेर अनशनको उपलब्धी गुमाउने पक्षमा नरहेको सुनाउँछन्। भन्छन्, 'कुनै उपाय नलागेपछि बाध्यतामा पनि अनशन बस्नुपर्छ। म जायज मागको लागि अनशन बस्न 'कम्प्रोमाइज' गर्दिन।'

चिकित्सा शिक्षा विधेयकका लागि बाध्य भएर यो निर्णय लिनुपरेको बताउँछन् उनी। सम्भववत यो नै अन्तिम लडाई हुने केसीको कथन छ।
***
डा. केसी अनशन बस्ने योजना बुनिरहँदा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले डाक्टर केसी पक्षसँग भेटघाट गरेकी छिन्। हिजो बिहीवार दिउँसो तीन बजे सानेपाको सावरी रेस्टुरेण्टमा उनले केसीपक्षका मानिससँग ४० मिनेट छलफल गरेकी थिइन्।

छलफलमा डाक्टर केसीको पक्षबाट शिक्षाविद् केदारभक्त माथेमा, चिकित्सक अभिषेकराज सिंह र प्रितम सुवेदी थिए। घर्तीले केसीको माग पूरा गर्न आफू सकरात्मक रहेको सन्देश दिइन्। उनले भनेक थिइन्, 'डाक्टर केसीको सबै माग जायज छ। उहाँले भने बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्न मेरो सक्रिय भूमिका हुनेछ।'

यसरी सबैतिरबाट आश्वासन पाइरहेकाले डाक्टर केसी 'कन्फ्युजन'मा छन्। अनशन बस्ने कि अबको अधिवेशनसम्म कुर्ने? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell