PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्मलाको बलात्कार-हत्या अनुसन्धानमा असफल प्रहरीले उस्तै प्रकृतिका घटनामा कसरी पायो सफलता?



सविन ढकाल

निर्मलाको बलात्कार-हत्या अनुसन्धानमा असफल प्रहरीले उस्तै प्रकृतिका घटनामा कसरी पायो सफलता?

काठमाडौं : गत आइतबार दिउँसो उदयपुरको रौतामाई गाउँपालिकामा ३ मा मृत अवस्थामा फेला परेकी १३ वर्षीय बालिका एल्जिना खड्काको हत्यारा पत्ता लगाउन प्रहरीलाई धेरै गाह्रो परेन। 

घटना भएको एक साता नबित्तै जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीवार बिहान खड्काको बलात्कारपछि हत्यामा संलग्न दुई जनालाई सार्वजनिक गरिसकेको छ। एन्जिलाको एउटै कक्षामा पढ्ने साथी १५ वर्षीय दीपेन्द्र राई र १७ वर्षीय पदमवीर राईले बलात्कारपछि हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए।

गत शनिवार दिउँसो बाख्रा चराउन भन्दै गएकी एल्जिना राति अबेरसम्म पनि घर नर्फिएपछि आफन्त र परिवारले खोजी गरेका थिए। आइतबार दिउँसो नजिकैको जङ्गलमा एल्जिनाको शव फेला परेको थियो। जङ्गलमा सिकार खेल्न गएका राई द्वयले बलात्कार पछि हत्या गरेको प्रहरीको दावी छ। डिएसपी रानाभाटले भने, 'अगाडि कुनै पनि योजना भएको देखिएको छैन। एक्कासी भेट भएपछि उनीहरूले बलात्कार गर्ने सल्लाह गरेको र बलात्कार गरेको देखिएको छ। बलात्कारपछि घटना खुल्ने डरले हत्या गरेका हुन्।'

कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीय बालिका निर्मला पन्तको भने ११० दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै आलोचित बनिरहेको छ। त्यतिमात्र होइन प्रहरीले नै नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीय नै आक्रोशित छन्। प्रहरीले हत्यारा पत्ता लगाउन शङ्कास्पद व्यक्तिको डिएनएदेखि पोलिग्राफसम्म गरे पनि हात लाग्यो शून्य।

निर्मला प्रकरणपछि एन्जिलाको मात्र होइन गत असोज ८ गते पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विक पनि एउटै प्रकृतिको घटनाको सफल अनुसन्धान गर्ने प्रहरी सफल भएको छ। घटना भएको हप्ता दिनमा नै बलात्कारका घटना पत्ता लगाउने प्रहरी कञ्चनपुरमा भने कसरी चुक्यो? पोखरा र उदयपुरमा कसरी अपराधीसँग पुग्न सफल भयो?
 

स्थानीयको साथ र सहयोग

रौतामाई गाउँपालिकामा ३ मा १३ वर्षीय बालिका एल्जिना खड्काको मृत शव फेला पर्ने बित्तिकै उदयपुर जिल्ला प्रहरी कार्यालयबाट डिएसपी अर्जुन रानाभाटको घटनास्थलमा पुग्यो। कार्यालयबाट झन्डै ८० किलोमिटरको दुरीमा प्रहरीको टोली पुग्दा झन्डै साँझ परिसकेको थियो। 

कञ्चनपुर घटनाले डामेको प्रहरी सङ्गठनलाई उस्तै प्रकृतिको घटनाले झनै चस्का दियो। प्रहरी सुक्ष्मरूपमा अनुसन्धानमा जुट्यो। पोस्टमार्टमका लागि प्रहरीले शव उठाउन खोज्यो तर स्थानीयले विरोध गरे। हत्यारा पत्ता नलागेसम्म शव उठाउन दिएनन। तर, यहाँ प्रहरीले रुखो स्वभाव देखाएन। डिएसपी रानाभाट भन्छन्, 'सुरुमा त शव नै उठाउन दिनुभएको थिएन। तर, हामीले लासको प्रकृति शरीरबाट कसरी प्रमाण झिक्ने, शव २४ घन्टासम्म पोस्मार्टम गर्न नसके हुने बेफाइदा लगायत कुरा बुझायौं। उहाँहरू हामीसँग सहमत हुनुभयो।'

घटना भएको समयमा घटनास्थलको वरपर भएका मानिसको मुमेन्ट प्रहरीले खोज्यो। स्थानीयले घटनास्थलतर्फ जाने बाटो र फर्किने समयमा को को मानिसको आवतजावत भएको थियो सबै जानकारी दिए प्रहरीलाई। प्रहरीका लागि स्थानीयको जानकारी नै अपराधीसँग पुग्ने बाटो बन्यो। 

'स्थानीयले प्रहरीसँग खुलेर गरेको व्यवहार र जानकारीले नै अपराधी चाँडै पत्ता लगाउन सफल भएका हौँ,' डिएसपी रानाभाटले भने।

पोखराको घटनामा पनि प्रहरीले स्थानीयको मन जित्न सकेको थियो। विश्वासको वातावरण बन्यो र अपराधी नजिकै पुग्यो पनि। तर, कञ्चनपुर घटनामा यस्तो हुन पाएन। घटना भएको भोलिपल्टदेखि नै प्रहरीसँगको सम्बन्ध बिग्रियो। कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको व्यवहारप्रति स्थानीय रुष्ट भए। त्यसपछि प्रहरीसँग स्थानीयको समन्वय नै हुन सकेन। झन्, दिलीपसिंह विष्टको डिएनए नमिलेपछि त प्रहरी र स्थानीयबीच पानी बाराबार नै भयो। कञ्चनपुरका एसपी कुवेर बहादुर कठायत भन्छन्, 'अहिले स्थानीयवासी केही खुल्न थालेका छन्। प्रहरीसँग भेटघाट जारी छ यसले अनुसन्धानमा थप सहयोग गर्ला कि।' 
 

प्रविधिको प्रयोग

पछिल्लो समय प्रहरीको अनुसन्धानमा प्रविधिको मुख्य भूमिका रहेको छ। निर्मला प्रकरणमा भने प्रविधिले पनि साथ नदिएको अनुसन्धानमा संलग्न प्रहरीको दावी रहँदै आएको छ। 

उदयपुरको घटना स्थानीयको सहयोगमा केही शङ्कास्पद व्यक्तिको पहिचान गर्ने प्रहरी सफल भयो। प्रहरीको शङ्काको पहिलो घेरामा परे १७ वर्षीय पदमवीर राई। स्थानीयले नै राई घटना भएको समयमा घटनास्थल तर्फ आवाजजवात गरेको जानकारी दिएका थिए। प्रहरीले राईले मोबाइल बोक्ने गरेको थाहा पायो। उदयपुरबाट प्राविधिक टोली पनि घटनास्थलमा पुगेको थियो। घटनास्थलमा मोबाइलको जिपिएस ट्रेस गरियो। राईले बोक्ने मोबाइलको लोकेसन घटनास्थलमा देखियो। प्रहरीको शङ्का अब झन् बलियो बन्यो। त्यसपछि राईलाई नियन्त्रणमा लिएको डिएसपी रानाभाटले जानकारी दिए। 

कञ्चनपुरमा चाहिँ निर्मला पन्त र पीडकले समेत मोबाइल लगायतका डिभाइस प्रयोग गरेको देखिएन जसलाई ट्रेस गर्न सकियोस्।
 

तालिम प्राप्त कुकुरको सहयोग

पोखरामा १० वर्षीया बालिका श्रेया विक बलात्कारपछि हत्या भएको खुल्यो। शव भेटिएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुरको सहयोग माग्यो। ४ नम्बर प्रदेश प्रहरी कार्यालय कुकुर शाखाबाट प्रहरी नायव निरीक्षक विक्रमबहादुर थापाको कमाण्डमा प्रहरीको तालिम प्राप्त कुकुर 'कुशल' घटनास्थलमा पुग्यो। रगत लागेको ढुङ्गा सुँघाइयो। कुकुरले गरेको इसाराको आधारमा अनुसन्धान टुंगोमा पुग्यो। त्यही गाउँका २७ वर्षीय कुसुम पौडेल पक्राउ परे। पौडेलले हत्या गरेको स्वीकार पनि गरे। प्रहरीले तीन दिनभित्र नै हत्यारा पत्ता लगायो। 

उदयपुरकी १३ वर्षीय एल्जिनाको घटना अनुसन्धान गर्ने धरानमा रहेको कुकुर तालिम केन्द्रबाट कुकुर झिकाइयो। घटनास्थलमा लगेर कुकुरलाई छोडियो। कुकुर घटनास्थलबाट गाउँतिर गएर रोकियो। कुकुरले कुनै व्यक्तिलाई इंकित नगरे पनि गाउँतिर देखायो। डिएसपी रानाभाट भन्छन्, 'कुकुरको सहयोगले अनुसन्धानमा सामान्य सहयोग मिलेको छ। तर, कुकुरले नै सबै अनुसन्धान भएको होइन।'

निर्मला हत्यामा भने प्रहरीको तालिमप्राप्त कुकुर नै प्रयोग भएको देखिएन। कुकुर प्रयोग नगरेको भन्दै स्थानीयले समेत प्रहरीको विरोध गरेका थिए। प्रहरीको कुकुर प्रयोग गर्ने घटनास्थलमा अन्य व्यक्तिहरूको प्रवेश भइसकेको थियो। त्यसमाथि पानी भएको ठाउँमा समेत कुकुरले अनुसन्धान गर्न सक्दैन। २४ घण्टा पुरानो घटनामा कुकुरको अनुसन्धान प्रभावकारी देखिँदैन। 
 

निर्मला प्रकरणले प्रहरीलाई सिकाएको पाठ

निर्मला प्रकरणबाट विश्वास गुमाएको प्रहरी पछिल्ला घटनामा भने सतर्क देखिएको छ। धमिलिएको इमेज स्थापित गर्न प्रहरीलाई त्यति सजिलो भने छैन। निर्मला प्रकरणबारे छानबिन गर्न गठन गरेको सरकार र प्रहरी दुवैको टोलीले समेत घटनामा प्रहरीको लापरबाही भएको देखाएको छ। त्यसैले पनि प्रहरीलाई सजग बनाएको छ। निर्मलापछि भएका घटनामा पाठ सिकेकाले पनि चाँडो हत्यारा पत्ता लागेको अनुमान गर्ने सकिन्छ। 'निर्मला प्रकरणले अहिले हामीलाई निकै दबाब छ। मलाई पनि अनुसन्धान गर्न जाँदा दबाब भएको थियो। त्यसैले कुनै पनि कसुर बाँकी नराखि अनुसन्धान गरे,' डिएसपी रानाभाटले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell