PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'नयाँ जीवनको खोजीमा' अमेरिकी सीमामा पुगे सयौं आप्रवासी, अमेरिका प्रवेश गरेकाहरु पक्राउ



'नयाँ जीवनको खोजीमा' अमेरिकी सीमामा पुगे सयौं आप्रवासी, अमेरिका प्रवेश गरेकाहरु पक्राउ
फोटो: बीबीसी

मेक्सिको: संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मानिसहरु मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमामा पुगेका छन्।

आप्रवासीको पहिलो समूह सीमा क्षेत्रमा पुग्दै गर्दा हजारौं आप्रवासीहरु पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको बताइएको छ। 

मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती शहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको हो। उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए। अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरु पुनः मेक्सिकोतर्फ फर्किएका थिए। 

'हामी अपराधी होइनौं,' उनीहरुमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए। उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब छ हजार थप सैनिक परिचालन गर्न आदेश दिएका थिए। 

करिब चार हजार आप्रवासीहरु केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ। आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन आएको बताउँदै थिए।। 

करिब नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ। यीमध्ये चार बालबच्चा सहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन्। उनीहरु होन्डुरसका नागरिक हुन्। 

'उनी अमेरिका गइहालिन्। मलाई थाहै थिएन, उनी त अमेरिकाभित्र गइसकिछन्,' उनका श्रीमान मोजेज हर्नान्डेजले बताए। 'मैले बुझेको छु। उनी नयाँ जीवनको खोजीमा छिन्। हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौं।'

गत साता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधि अनुसरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ। त्यस्ता व्यक्तिलाई स्वदेश फर्काइने छ। 

तिजुआनमा भेला भएका धेरैजसो आप्रवासीहरुले सीमा पार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन्। 

सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहेका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमासुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकामा जोड दिएका थिए। तर रिपब्लीकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन्। 

तिजुआनाका लागि मेक्सिकोका विभिन्न स्थानबाट आप्रवासीहरु हिँडिसकेका छन्। कतिपयलाई बस, ट्रकको व्यवस्था पनि गरिएको छ। 
होन्डुरसका यी आप्रवासीहरुले अक्टोबर १३ मा आफ्नो यात्रा सुरु गरेका थिए। शुक्रबारसम्म अमेरिकी सीमामा करिब पाँच हजार आप्रवासी पुगिसक्ने अनुमान गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell