PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुर्ज अल अरबका आर्किटेक्टको डिजाइनमा चीनमा बन्यो विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल



बुर्ज अल अरबका आर्किटेक्टको डिजाइनमा चीनमा बन्यो विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल
फोटो: CGTN

संघार्इ: चीनको संघार्इमा निर्माण भएको विश्वकै पहिलो अन्डर ग्राउन्ड (जमिनमुनि) होटेल यसै महिनाबाट संचालनमा आउने भएको छ। जमिनको सतहभन्दा ८० मिटर तलसम्म बनेको उक्त पाँच तारे होटलको उद्घाटन २० नोभेम्बरमा हुने चाइना डेलीले जनाएको छ।

सो होटल चीनको पूर्वी क्षेत्रमा रहेको संघार्इ शहरभन्दा ३० किलोमिटर टाढा रहेको छ। सेहसान माउन्टेन नेसनल फरेष्ट पार्क र चेनसान माउनटेन बोटानिकल गार्डेन नजिकै निर्माण भएको उक्त होटलको भवन १८ तल्ले रहेको छ। १८ तल्ले मध्ये १६ तल्ला अन्डर ग्राउन्ड रहेको भने दुर्इ तल्ला भने पूर्ण रुपले पानीमुनि रहेको छ। पानीमुनीका कोठाको गहिराइ भने १० मिटर रहेको छ।

दुबर्इमा रहेको बुर्ज अल अरब होटल निर्माण गरेका आर्किटेक्टहरुले नै चीनमा निर्माण भएको उक्त होटल डिजार्इन गरेको बताइएको छ।

सो अन्डर ग्राउन्ड होटलको निर्माण करिब १० वर्षको अवधिमा सम्पन्न भएको जनाइएको छ। निर्माण सम्पन्न गराउन करिब ५ हजार आर्किटेक्ट, इन्जिनियर, डिजाइनर र कामदारहरु खटेका थिए। 

पर्खालसँगै ८८ मिटर लामो लिफ्ट सहितको भवन निर्माण गर्दा ढल निकास, यातायात, प्राकृतिक प्रकोप न्यूनिकरण लगायतका बारेमा धेरै चुनौतीको सामना गर्नु परेको निर्माण कम्पनीले जनाएको छ। 

भवनको अघिल्लो भागमा ठूलो पोखरी रहेको छ भने जमिनमाथि पार्कहरु निर्माण गरिएको छ। पानीमुनि रहेको कोठा बाहेक बाँकी ३३६ कोठाबाट झरना देखिनुका साथै कोठामा रहेका सिसाका झ्यालबाट पानी बगिरहको दृश्य देखिनेछ।

सिन्हवाका अनुसार होटल खोल्ने दिन अर्थात नोभेम्बर २० का लागि सबै कोठाहरु बुक भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell