PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घाउ निको नहुँदै घर फर्किन् रमिला, स्याललाई थापेको पासोमा पर्दा गुमाएकी थिइन् खुट्टा



घाउ निको नहुँदै घर फर्किन् रमिला, स्याललाई थापेको पासोमा पर्दा गुमाएकी थिइन् खुट्टा

सिञ्जा: हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ। 

असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन्। घाइते बुमीको दायाँ खुट्टा काट्नु परेको थियो। समयमै उपचार नपाउँदा छोरीको खुट्टा काट्नु परेको बुबा जनकले बताए। “उपचार गर्न लाखौँ रुपैयाँ ऋण लागेको छ, ऋण तिर्न समस्या छ,” छोरीको उपचार गराउन जुम्ला आएका जनकले पीडा सुनाए। 

रमिलाको हाल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ। छोरीको उपचारका लागि विभिन्न व्यक्तिलगायतलाई गुहारे पनि सहयोग जुट्न नसकेको जनकले बताए। उपचारका लागि सुर्खेत झरे पनि त्यहाँ निको हुन नसकेपछि रमिलालाई भारतको लखनऊ लगिएको थियो। लखनऊमा उनको उपचारमा रु पाँच लाख ८० हजार खर्च भयो। “रकम अभाव भएपछि २१ दिनपछि घाउ पूर्णरुपमा निको हुन नपाउँदै घर फर्के,” उनले भने। 

असोज अन्तिमदेखि रमिलाको जुम्लामा उपचार भइरहेको छ। छिमेकीबाट ऋण काढेर जुम्ला पुर्‍याइएकी रमिलाको उपचारमा हालसम्म रु दुई लाखभन्दा बढी खर्च भइसकेको छ। “बस्न, खान र औषधि किन्न समस्या भएको छ,” जनकले भने। पढाइमा तीक्ष्ण रमिलाले खुट्टा गुमाएपछि पढाईमा बाधा पुगेको छ। चार कक्षामा पहिलो भएकी रमिला गाउँकै जनप्रिय आधारभूत विद्ययालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। पढ्ने चाहना भएपनि खुट्टा गुमाएका कारण उनलाई गाउँको विद्यालयमा पढाउन नसकिने उनका बुबा जनकको पीडा छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell