PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई तिहाईको सरकारको असफलता : तत्काल नदेखिएला तर देशलाई क्यान्सर जस्तो दूरगामी असर पार्नेछ 



पहिलोपोस्ट

दुई तिहाईको सरकारको असफलता : तत्काल नदेखिएला तर देशलाई क्यान्सर जस्तो दूरगामी असर पार्नेछ 

  • दिपेश घिमिरे 
तत्कालीन चीनियाँ प्रधानमन्त्री चाउ ईन लाई फ्रान्सको भ्रमणमा गएका थिए। त्यसबेला केही पत्रकारहरुले उनलाई सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिको विश्वव्यापी प्रभाव के पर्‍यो भनी सोधेका थिए।

फ्रान्समै उच्च शिक्षा लिएका लाईले जवाफमा उक्त राज्य क्रान्तिको प्रभावको बारेमा भन्न निकै छिटो हुने बताए। लाईका अनुसार कुनै पनि घटनाको असर निकै पछाडि देखिन्छ। झन् फ्रान्सेली राज्य क्रान्ति जस्तो ठूला ऐतिहासिक घटनाको असर त सयौँ वर्ष पछि देखिन्छ। झन् पछि झन् असर देखिन्छ। झण्डै दुई तीन सय वर्ष पछाडिसम्म पनि कुनै गम्भीर घटनाको प्रभाव, असर र त्यसको सम्पूर्ण परिणामको बारेमा आँकलन गर्न सकिदैन। किनकी यस्ता गहिरा घटनाले झन् गहिरा प्रभाव पार्दछन्। वर्षौँवर्ष पछि त्यसको प्रभाव समाजमा देखिन्छ, त्यस्ता प्रभाव तत्काल खोजेर नपाउन पनि सकिन्छ। 

हामी वर्तमानको कुनै पनि घटनाक्रमलाई तात्कालिक घटनाक्रमको रुपमा वा सामान्य रुपमा समेत लिने गर्दछौँ। तर इतिहासको एउटा बिन्दूमा घटेको कुनै पनि घटनाको प्रभाव तथा असर तत्काल नभई वर्षौँ पछि देखिन्छ। वा त्यस्ता घटनाले असर वा प्रभाव पार्दछ। नेपालमा वर्षौको चाहना तथा उत्कट अपेक्षा पछि दुई तिहाई बहुमतको सरकार बनेको छ। सरकार गठन भएको पनि आधा वर्ष भन्दा बढी समय बितिसक्यो। तर यस सरकारले देखाउन सक्ने र भन्न सक्ने किसिमको कुनै ठोस काम गर्न सकेको छैन। 

वर्तमान सरकारका मन्त्री तथा सत्ताधारी दलका नेताहरु सरकारको प्रभावकारितामा थप वृद्धि गर्ने भन्दा पनि आफ्ना गल्तीहरुको ढाकछोप गर्नमा झन् व्यस्त छन्। 

सरकारका जिम्मेवार अधिकारीहरु सडकको दुरावस्था, शान्ति सुरक्षाको कमजोरी, भ्रष्टाचारको बढोत्तरी, सुशासनको अभाव, विकासको सुस्तताको जिम्मेवारी लिन तयार छैनन्। उनीहरु वर्षौदेखि देश यस्तैगरी चलेको र विगतमा सत्तामा रहेको दलले पनि केही गर्न नसकेको यथार्थ सम्झाउन व्यस्त छन्। 

***
एउटी निरीह बालिकाको हत्या भएको सय दिनभन्दा बढी भइसक्यो, न त दोषी पत्ता लगाउन सकेको छ, न त प्रमाण नष्ट गर्ने माथि छानबिन नै गर्न सकेको छ। यसरी हेर्दा दुई तिहाईको सरकार पाएर पनि देश अन्याय, अत्याचार, अविकास, भ्रष्टाचार, हत्या हिंसा अनि त्यसबाट नागरिक तहमा सिर्जित आक्रोशको भुमरीमा फँस्दै गएको छ। तत्काल यो साम्य भएपनि वा यसको तात्कालीक समस्या भेटिएपनि कालान्तरमा यसले दूरगामी असर पार्ने निश्चित छ। 
***


कतिपय मन्त्रीहरु नीति नियमलाई वा मन्त्रालयको कार्यविधिलाई दोष दिँदै काम प्रभावकारी हुन नसकेको बताउँछन्। कहिले कर्मचारीतन्त्रले साथ र सहयोग नगरेको कारण कामले गति लिन नसकेको बिलौना गर्दछन्। तर यस्ता जिम्मेवार निकायका जिम्मेवार पदाधिकारीहरुले बिर्सेको कुरा यो सरकार असाधारण सरकार हो र यदि देश बन्ने कुरामा संविधान नै बाधक हो भने दुई तिहाईबाट संविधाननै संशोधन गर्न सकिन्छ, ऐन कानुन त के हो र? 

कतिपय नेताले आफ्नो राजनीति दल वा राजनीतिक गुटको स्वार्थको लागि ढाँट तथा छलछाममा व्यस्त भएको देखिन्छ। संविधान सभाबाट जारी नयाँ संविधानले देशमा शान्ति र सुरक्षालाई थप मजबुत बनाउँदै विकास, उन्नति र समृद्धि ल्याउने छ भन्दै दिइएका आश्वासनको तिनै नेताहरु मिलेर एक एक गरी हत्या गर्दै गइरहेका छन्। 

एउटी निरीह बालिकाको हत्या भएको सय दिनभन्दा बढी भइसक्यो, न त दोषी पत्ता लगाउन सकेको छ, न त प्रमाण नष्ट गर्ने माथि छानबिन नै गर्न सकेको छ। यसरी हेर्दा दुई तिहाईको सरकार पाएर पनि देश अन्याय, अत्याचार, अविकास, भ्रष्टाचार, हत्या हिंसा अनि त्यसबाट नागरिक तहमा सिर्जित आक्रोशको भुमरीमा फँस्दै गएको छ। तत्काल यो साम्य भएपनि वा यसको तात्कालीक समस्या भेटिएपनि कालान्तरमा यसले दूरगामी असर पार्ने निश्चित छ। 

लोकतन्त्रको प्राण भनेको राजनीतिक दलहरु नै हुन। तर सबै राजनीतिक दलका वर्तमान नेतृत्व तह पूर्ण रुपमा असफल भइसकेको छ। अहिलेको राजनीतिक नेतृत्वले सत्ता, शक्ति र पैसाबाहेक केही देखेको पनि छैन र हेर्न पनि चाहँदैनन्। नत्र नेपाल वायु सेवा निगमको नयाँ जहाज खरिदका बारेमा सार्वजनिक भएका तथ्यलाई मिहिन ढंगले अनुसन्धान गर्न किन तयार हुन्नन् ?  
 
***
यतिखेर भएको दुई तिहाईको सरकारले काम यो या त्यो बहानामा आर्थिक वृद्धि तथा विकासको लागि ठोस काम गर्न सकेन भने त्यसले निकै पछिसम्म निकै नै डरलाग्दो असर पार्नेछ। 
***

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गलत समयमा प्रतिनिधि सभा विघटन गरिदिँदा मुलुकको राजनीतिले करिब एक दशक दुर्दशा भोग्नुपर्‌यो। प्रतिनिधिसभा विघटन गलत हो भन्ने कार्यकर्ता देउवा भन्दा कयौँ गुणा दुरदर्शी देखिए। प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा गएको एमालेलाई सरकारमा बसेर एमालेले काम गर्न सकेन, छाडेर आउँ भन्दै आन्दोलन गर्ने कार्यकर्तालाई सार्वजनिक समारोहमै हप्काउने तत्कालीन महासचिव माधवकुमार नेपाल भन्दा कार्यकर्ता कयौँ गुणा दूरदृष्टियुक्त ठहरिए। बिना कारण प्रधानसेनापतिलाई कारबाहीको प्रयास गर्नु गल्ती हुन्छ भन्दै चियागफ गर्ने तत्कालीन माओवादी कार्यकर्ताहरु पुष्पकमल दाहाल भन्दा निकै दुरदर्शी थिए। लोकमानलाई समर्थन गर्ने सम्पूर्ण राजनीतिक दलका नेतृत्व एक वर्ष पछाडिसम्मको कुरा हेर्न र अन्दाज गर्न सक्दैनन् भन्ने स्पष्ट हुन्छ। 

आफ्नो सीमित राजनीतिक स्वार्थको लागि देशै ठप्प पारेर नाकाबन्दीको मतियार बन्ने मधेशवादी दलहरु भन्दा त्यो ठीक होइन भन्दै बोल्ने थोरै संख्या भएका मधेशका नागरिक कयौ गुणा दुरदर्शी देखिएका छन्। 

यतिखेर भएको दुई तिहाईको सरकारले काम यो या त्यो बहानामा आर्थिक वृद्धि तथा विकासको लागि ठोस काम गर्न सकेन भने त्यसले निकै पछिसम्म निकै नै डरलाग्दो असर पार्नेछ। 

विगतको ३ दशकदेखि नेपालमा लोकतान्त्रिक स्थिर सरकार नभएर विकास हुन नसकेको हो भन्ने कुरा पटक पटक दोहोरायौँ। पछिल्लो निर्वाचनमा मतदाताले त्यसलाई पत्याए पनि। तर दुई तिहाईको सरकार भएर पनि देशको अवस्था फेरिएन भने अबको दिनमा मतदाताले यसलाई पनि पत्याउँदैनन्। त्यसपछि नागरिकलाई बहुदलीय लोकतन्त्रमा बाँधिराख्न र उनीहरुको विश्वासलाई बचाई राख्न गाह्रो पर्छ। नागरिक त्यसमा पनि तन्नेरी उमेरका युवालाई लोकतन्त्र र बहुदलीय व्यवस्थामा विश्वस्त राख्न सकिएन भने, लोकतान्त्रिक गणतन्त्र माथिको उसको भरोसालाई जोगाई राख्ने गरी यो सरकारले विकास र समृद्धिको ठोस काम गर्न सकेन भने नेपाललाई वर्षौ पछिसम्म पनि असर पारिरहनेछ। 
यतिबेला राजनीतिक आस्था, विश्वास र दर्शनलाई अलिकता परै छाडेर आम नेपाली अपेक्षालाई मात्र भन्ने हो भने विकास, समृद्धि, सुशासन र शान्तिसुरक्षा सबैभन्दा अगाडि रहेका छन्। यसको लागि लोकतन्त्र, संघीयता र गणतन्त्रको बाटो हुँदै नेपाली अगाडि बढिरहेका छन्। तर त्यही विकास, समृद्धि, सुशासन र शान्ति सुरक्षा नै दिन नसक्ने हो भने कोही पनि त्यही विश्वासमा अडिरहन सक्दैनन्। 

हुन त अहिलेका प्रमुख भनिएका नेकपा, नेपाली कांग्रेस, मधेशी दल वा राप्रपा भनौँ सबैका स्थापित नेताहरुको परिक्षण भइसकेको छ। अहिलेको पछिल्लो सात महिनाको शासनकाललाई हेर्दा पनि त्यत्ति आशा राख्ने ठाउँ देखिएन। झन् प्रधानमन्त्री आफैले “म जादुगर हुँ र” भन्दै हिँड्नुको अर्थ सबैले बुझेकै छन्। त्यसैले विद्यमान राजनीतिक नेतृत्व असफल भइसकेको वा हुँदै गएको प्रमाण खोज्न अब थप मेहनत गरिराख्नु पर्दैन। 

असफल व्यक्तिहरुले लोकतन्त्रको प्राण मानिने राजनीतिक दलहरुको नेतृत्व गरिरहँदा लोकतन्त्र संस्थागत हुन सकिरहेको छैन। मुलुक विभिन्न गम्भीर संकटमा फस्दै गइरहेको छ। त्यसैले अहिलेको राजनीतिक नेतृत्वले राजनीतिबाटै सन्यास लिएर नयाँ पुस्तामा नेतृत्व हस्तारण गर्न जति ढिला हुन्छ त्यत्तिनै देशले संकट भोग्दै जानुपर्ने हुन्छ। 

अन्त्यमा, दलका नेतृत्व तहले यसलाई नस्वीकार्न पनि सक्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने, चाउ ईन लाईले भने जस्तै यस घटनाको असर तत्काल खोजेर नपाइन पनि सक्छ। हिजो देश जसरी चलेको थियो, आज पनि त्यसैगरी चलिरहेको छ। तर वर्षौँवर्षपछि यसको असर देखिने नै छ। कमजोर व्यक्तिले गरेको नेतृत्वको असर नेपालले वर्षौपछि भोग्ने छ। विद्युतीय विकिरणको असर तत्काल केही नदेखिएपनि कालान्तरमा क्यान्सर भए जस्तै यस घटनाले तत्काल असर नपारे जस्तो लागे पनि कालान्तरमा देशलाई क्यान्सर झैँ असर पार्नेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell