PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीब्र गतिको मन्त्रीको गाडीले दियो ठक्कर, दुर्घटनापछि भाग्न खोज्दा सुदूरपश्चिमका मन्त्रीलाई रोके स्थानीयले



एम बम

तीब्र गतिको मन्त्रीको गाडीले दियो ठक्कर, दुर्घटनापछि भाग्न खोज्दा सुदूरपश्चिमका मन्त्रीलाई रोके स्थानीयले

कैलाली : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी सवार गाडीले गएराति कैलालीको गौरीगंगा नगरपालिका – ८ बडैपुरमा मोटरसाइकललाई ठक्कर दिँदा जिपका चालकसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ। 

राति करिब पौने ९ बजेतिर तीव्रगतिमा पूर्वबाट पश्चिम हुइँकिएको मन्त्री सवार बा २ झ २१२५ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको से ३ प  २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीको ठक्करबाट  मोटरसाइकल चालक बडैपुरका स्थानीय २५ वर्षीय सुरेन्द्र चन्द र त्यसमा सवार २२ वर्षीय भरत बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नावय उपरीक्षक हरि ओलीले जानकारी दिए। 

घाइते मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको र उनलाइ राति नै धनगढीबाट नेपालगंज रेफर गरिएको थियो। उनलाई नेपालगंजमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको प्रवक्ता ओलीले बताए। अर्का घाइते बोहराको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। 

मन्त्रीसवार गाडीका चालक गजेन्द्र शाह पनि दुर्घटनामा सामान्य घाइते भएको र उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भइ नालीमा खसेको थियो। मन्त्री सवार गाडी र मोटरसाइकल दुवै क्षति भएको छ। राति नै गाडी निकालेर जिल्ला प्रहरी कार्यालय धनगढी ल्याइएको छ। 

दुर्घटनामा मन्त्री सोडारी भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटना पछि मन्त्री सोडारीले घाइतेको वेवास्ता गर्दे भाग्न खोजेपछि स्थानीयवासी र मन्त्रीबीच चर्काचर्की भएको थियो। चालकले मादक पदार्थ सेवन गरी गाडी अनियन्त्रित रुपमा चलाएको भन्दै स्थानीयले मेडिकल जाँच गर्न माग गरेका थिए। तर, प्रहरीले मेडिकल जाँच नगर्दा उनीहरु आक्रोशित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell