PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५

‘भाइ मसला’को ब्राण्ड मखन, फेरिँदैछ जसको मसला विशेष परिचय

‘भाइ मसला’को ब्राण्ड मखन, फेरिँदैछ जसको मसला विशेष परिचय

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौँः मखन गल्लीमा पुराना घरहरु छन्। टाँसिएर रहेका घरहरुमध्ये धेरैलाई टेको लगाइएको छ। केही नयाँ घरहरु पनि बन्दैछन्। नयाँ पुराना सबै घरैपिच्छेका पसल र बाहिरसम्म राखिएका पसलका सामानले गल्लीलाई साँघुरो बनाउँछ। त्यसमाथि मान्छेको भीड।

तिहारको पूर्वसन्ध्यामा यो गल्लीमा खुट्टा राख्न समेत गाह्रो पर्छ। गल्ली छिर्ने कुनादेखि निस्किने ठाउँसम्म भाइ मसलाको बास्ना चल्छ। पाइलै पिच्छेका पसलहरुमा राखिएको काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक देखिन्छन्। मखन गल्ली ‘भाइ मसला’कै लागि चर्चित छ।

अघिल्लो पुस्तादेखि मसला बेच्दै आएका स्थानीयको पसलमा मात्र होइन कस्मेटिक, चस्मा, बेल्ट, लुगा व्यापारीदेखि वर्षभर अन्य काम गर्नेहरुलाई पनि मसला व्यापारको सिजनले छुन्छ।

४० वर्षीया उज्जवल हाडाको मखन गल्लीमा किराना पसल छ। उनले पसल सम्हाल्न थालेको २५ वर्ष भयो। त्यसअघि उक्त पसल उनका बुवाले सम्हाल्थे। उज्जवल किराना पसलमा तिहारको समयमा मात्र नभएर वर्षभर काजु, किसमिस, बदाम, ओखर, छोकडा, खुरपानी आदि बेच्न राख्छन्।

‘व्यापार राम्रो पनि छ। विशेषगरी विवाह र चाडपर्वको बेलामा व्यापार फस्टाउँछ। तिहारमा त थकाई मार्न समेत फुर्सद हुँदैन’, उज्जवल सुनाउँछन्।

उनले भनेजस्तै पसलमा देखिएको दृश्य- मसला किन्नका लागि ग्राहकहरु आउँछन्। एउटा ग्राहकसँगको हिसाब किताब सकिन्छ। नजिकैको पसलबाट चिया मगाउँछन्। एक सर्को तान्छन्।

साँघुरो र होचो पसलको ढोका बाहिरसम्म पुन: भीड लागि सक्छ। माग अनुसार सामानका पोकाहरु निकाल्दै जम्मा गर्छन्। कहिले काहीँ  एकसाथ धेरैजना बोल्दा झिँजो मानेजस्तो देखिन्छन्। सम्हालिँदै भन्छन्- ‘पालैपालो बोल्नुस् न पालैपालो।’

अघि मगाएको चिया सेलाउँछ। फेरि  नयाँ चिया मगाउँछन्।

‘यस्तै छ हेर्नुस् न। तिहार आउनु एक हप्ता अघिदेखि भाइटिकाको दिनसम्म यस्तै हो’, उनी ग्राहकको लागि सामान झिक्दा झिक्दै बोल्छन्। भन्छन्, 'भाउ बढेर आयो, व्यापारमा असर गरेको छ। तर पनि दिनभरि फुर्सद हुँदैन।‘

भाइटिकाका लागि खपत हुने यी मसलाहरु एक किलो, आधा किलो, एक पाउको पोको बनाएर प्याकिङ गरिएका छन्। एक साताअघि नै कुलेश्वरस्थित कुलेश्वर खाद्य किराना व्यापार संघको भवनमा अवस्थित गोदामहरुबाट किनेर ल्याएका हुन्। ‘बेच्नभन्दा गाह्रो प्याकिङ गर्दा हुन्छ’, उनी सुनाउँछन्,'परिवार सबै लागि परेर तयार गर्छौँ। यहाँ पसलमा देख्दा पो राम्रो देखिन्छ त।'

बुवाले सुरु गरेको व्यवसायलाई उज्जवल र उनका दाजु प्रकाश हाडाले सम्हालेका हुन्। यी दाजु भाइले हरेक वर्ष १० देखि १५ लाखसम्म भाइ मसलामा लगानी गर्दै आएका छन्। जसमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने बताउँछन्।

'धेरै फाइदा त होलसेलरलाई हुन्छ नि। त्यसमाथि अब मसलाका लागि मखन गल्ली नै आउनेहरु पनि कम हुँदैछन्', उनले सुनाए।

पहिले मखन गल्लीमा मसलाकै मात्र पसलहरु धेरै थिए। तर अहिले लुगा, गर गहना, कस्मेटिक्स र अन्डर गार्मेन्टसहरु बढेका छन्। तीनै पसलहरुका कारण मख्खन गल्लीको मसला विशेष परिचय फेरिँदै गएको सुनाउँछन् उनी।

'पहिले स्थानीय नेवार समुदायले मखना लगायत मसलाको व्यापार गरेकाले नाम नै मखन गल्ली भयो। अब मखना बेच्ने स्थानीय आधामात्र छन्।'

गल्लीका स्थानीयहरुले पसल बाहेकका अन्य पेसा, व्यवसाय अँगाले। घर भाडामा दिए, जहाँ मसला बाहेकका अन्य सामानहरुको बिक्री सुरु भयो। रोचक त के छ भने अन्य समय अरु सामानको व्यापार गर्नेहरुले पनि तिहारमा मसला नै बेच्छन्।

स्थानीय प्रदीप प्रधानले ३० वर्षयता भाइ मसलाको व्यापार थालेका हुन्। उनले किलोको हिसाबमा फरक-फरक मसला बेच्दैनन्। बरु काजु, बदाम, किसमिस, सुपारी, मिस्री, चकलेट आदि प्याकेट नै राखेका छन्। प्लास्टिकदेखि, टोकरी र बट्टाहरुमा सजाएर राखेका मसला राख्दा प्याकिङको झन्झट नहुने बताए। सजाइएका मसलाको प्याकेट सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्मका छन्। थोरै मसला भए पुग्नेहरुले प्याक गरिसकेको सामान किन्ने बताउँछन्।

भन्छन् 'हामी त सिजनल व्यापारी हौँ। जाडोमा ज्याकेट बेच्छौँ। गर्मीमा टिसर्ट अनि तिहारमा मसला। जेले फाइदा गराउँछ त्यही बेच्ने।'

उनका अनुसार २ लाखसम्म लगानी गरेको मसलामा २० देखि २५ प्रतिशतसम्म फाइदा हुने गरेको छ। भूकम्पपछि व्यापार केही घटे पनि घाटामा गएका भने छैनन्।

प्रशन्न ट्रेडर्स कस्मेटिक सामानको व्यापार गर्छ। तर तिहारको मौका छोपेर पसल भित्रदेखि बाहिरसम्म प्याक गरिएका मसला राखिएको पाइन्छ।

सञ्चालक प्रशन्न अग्रवाल भन्छन्,'तिहारभर मान्छेको भीड लाग्छ। मसला राख्नेको बिक्री हुन्छ हामी खाली बस्नुपर्छ। त्यसैले केही नहुनुभन्दा पाँच छ हजार भए पनि आमदानी हुन्छ भनेर मसला राखेका हौँ।' उनले मखन गल्लीमा रुलिङका लागि भए पनि मसला राख्नै पर्छ। भन्छन्,'यो बेला त अरु सामान चाहिँ एक्स्ट्रा आइटमजस्तो बन्छन्।'

काभ्रे पाँचखालका महेश रेग्मी चस्मा तथा बेल्टहरुको बेच्छन्। मखन गल्लीमा रहेको सानो कोठाका लागि १५ हजार भाडा तिर्नुपर्छ। तिहारको बेलामा मसला र बत्तीहरुबाट नै उनको घर भाडा तिर्न पुग्ने पैसा उठ्ने बताए। उनले सय रुपैयाँदेखि पाँच सयसम्मका मसलाका प्याकेटहरु राखेका छन्।

भन्छन्, 'गल्लीको विशेषता जे हो त्यो पछ्याउँनै पर्ने रहेछ। नत्र जति धेरै मान्छे आए पनि मसला बाहेकमा आँखा नै लगाउँदैनन्।'

उज्जवल हाडालाई अबको पुस्ताले मखनाको व्यापार नसम्हाल्ने हुन् कि भन्ने डर छ। छोराछोरीहरु पारिवारिक व्यवसायभन्दा बाहेकका काम र पढाईमा रुचि राख्न थालेका छन्। जसका कारण आफ्नो पुस्तापछि यो व्यवसायले निरन्तरता नपाउने कुराले चिन्तित छन्। 'अहिलेसम्म कुनै योजना छैन। स्थानीयले नगरे अहिले आएकाजस्तै नयाँ व्यापारी आउलान्। उनीहरुले गर्लान्', हतासमा बोलेका उनी यो पटक चिन्तित सुनिन्छन्।

मखन गल्लीमा मसलासँगै तिहार विशेष अन्य सामाग्रीको चाङ पनि देखिन्छन्। पाला, दियो, बिजुली बत्तीहरु, टोपी, रङ, फूलहरु राखिएका छन्। कारण-मसला किन्न आउनेहरुको आँखा पर्छ भन्नु नै हो।

धादिङकी २५ वर्षीया सन्तोषी खकुरेलको नमोबुद्धमा टोपी पसल छ। तर, बिहानको समय मखन गल्ली छिर्ने बाटोमा टोपी बेच्न राखेकी छिन्। उनी टोपी किन्ने ग्राहकसँगै डरको भावले हरेक मान्छेको आँखामा हेर्छिन्। किनकि उनले अन्य व्यापारीको स्टलमा आफ्नो सामान राखेकी हुन्।

'मसला किन्न आउनेले दाजु भाइका लागि टोपी पनि किन्छन्। त्यही भएर यता आएको। अरु मान्छेको ठाउँ हो, अहिले देखे भने लखेट्छन्', सन्तोषीले भनिन्। 

मच्छेगाउँबाट भाइ मसला किन्न आएकी मञ्जु तामाङ १५ वर्ष यता हरेक तिहारमा मखन गल्ली आउँछिन्। मुख्यतः भाइ मसलाकै लागि आउने भए पनि हरेक सामानहरु यही गल्ली वा वरपर किन्ने गरेको बताइन्। ‘भीड हुन्छ तर यतै अलि सस्तो पर्छ। मसलादेखि सबै सामान एउटै ठाउँमा किनेपछि ढुक्कसँग फर्किन पाइन्छ’, मञ्जु मखन गल्लीमा आउनुको कारण सुनाउँछिन्।

'अरु बेलामा त यो ठाउँ कस्तो देखिन्छ समेत थाहा छैन', बोल्दा बोल्दै साहुजीसँग मोल सोध्छिन्। पसल भित्रबाट आवाज आउँछ- ‘बदाम किलोको १३ सय, काजु १४ सय, पेस्ता १८ सय ओखर १६ सय। के गर्ने सब मोल बढेर आएको छ।'

मञ्जु जवाफ फर्काउँछिन्,'हाल्दिनु न अब मोल नबढेको त के छ र। खान परेपछि लान परिहाल्यो।'



ट्रेन्डिङ पोस्ट