PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५


प्रहरीको जागिर खाने 'डिजे'देखि 'रेस्क्यु'सम्म सबै कुकुर विदेशी, किन प्रयोग हुँदैन भोटे कुकुर?


सविन ढकाल

प्रहरीको जागिर खाने 'डिजे'देखि 'रेस्क्यु'सम्म सबै कुकुर विदेशी, किन प्रयोग हुँदैन भोटे कुकुर?

काठमाडौँ : कालोमा खैरो रङ मिस्सिएको हेर्दै डरलाग्दो एउटा ज्याङ्गो कुकुरलाई प्रहरीले रुमाल सुँघाउँछ।

त्यो अपराध गरेर भागेको अपराधीले छाडेको सबुत थियो।

केही बेर सुँघेपछि कुकुर अगाडि बढ्न थाल्यो। कुकुरको डोरी समातेर उभिरहेका प्रहरीले कुकुरलाई हैन, कुकुरले प्रहरीलाई डोर्‍याउन थाल्छ।

कुकुर अगाडि बढ्दै झण्डै एक सय मिटरको दूरीमा लुकिरहेका व्यक्तिको हातमा टोक्न पुग्छ। अघि सुँघेको रुमाल र त्यो व्यक्तिको गन्ध एउटै भएपछि कुकुरले अपराधीको पहिचान गरेको हो।

तर कुकुरले संकेत गरेको यो व्यक्ति वास्तविक अपराधी भने हैनन्। उनी नेपाल प्रहरीका एक जवान हुन्। हामी अहिले नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा भइरहेको कुकुरको तालिमको दृश्य हेर्दैछौँ।

विगत ६ महिनादेखि ब्लडहाउन्ड जातको एउटा कुकुरलाई दैनिक यसरी नै तालिम गराइँदैछ। २३ वर्षदेखि कुकुरको तालिम र रेखदेखमा खटिएका सई रविन्द्र थापा बताउँछन्, 'हामी अनुसन्धानको प्रकृति अनुसार कुकरलाई तालिम गराउँछौँ। घटनाको ट्रयाकर कुकुरलाई यसरी नै नक्कली घटनाको डेमो बनाएर तालिम दिन्छौँ।'

कुकुरलाई जन्मिएको ६ महिनादेखि तालिम दिन सुरु गरिन्छ। अनुसन्धानको कुकुर तयार गर्न ६ महिना देखि १ वर्षसम्म तालिम आवश्यक पर्ने सई थापाको भनाई छ।

'हामी ६ महिनादेखि एक वर्षसम्म एउटै प्रकारका तालिम दिन्छौँ। कुकरले काल्पनिक अपराधी बारम्बार पत्ता लगाउन सक्ने भएपछि मात्र फिल्ड अनुसन्धानमा खटाउने गरेका छौँ,' उनले भने।

विस्फोटक पदार्थ भए चुप लाग्ने, लागू औषध भए भुक्ने

फरक फरक विषयको अनुसन्धानमा कुकुरलाई फरक फरक व्यवहार गर्ने प्रशिक्षण दिइएको हुन्छ। 

विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरले झोला सुँघ्दा त्यसमा विस्फोटक पदार्थ भएको थाहा पाए कुकुर केही पर जान्छ र थुचुक्क बस्छ। कुनै आवाज निकाल्दैन।

'कुकुर बस्यो र कुनै आवाज निकालेन भने त्यहाँ विस्फोटक पदार्थ भएको बुझ्नुपर्छ। कुकुरलाई सानैदेखि यसरी नै ट्रेन गराइरहेका हुन्छौँ,' तालिम केन्द्रका प्रहरी निरीक्षक डाक्टर रामचन्द्र सत्यालले भने।

झोलामा विस्फोटक पदार्थ नभएर कुनै लागूऔषध भयो भने चाहिँ कुकुरले फरक व्यवहार देखाउँछ। लागू औषध भएको झोला वा अन्य कुरालाई कुकुरले खोतल्ने, टोक्ने र भुक्ने गर्छ।

निरीक्षक सत्याल भन्छन्,' लागू औषध विस्फोटन नहुने प्रकृतिको भएकाले खोतल्ने र चलाउने गर्छ कुकुरले। सुरुदेखि नै यसरी ट्रेन गरेका हुन्छौँ।'

एक घण्टा एक्सरसाइज, आधा घण्टा मसाज

प्रहरीमा भर्ना हुँदा मानिसलाई झैँ कुकुरलाई पनि दैनिक तालिम दिइन्छ। कुकुरको पनि दैनिक तालिम तालिका हुने गरेको डाक्टर सत्याल बताउँछन्।

कुकुरलाई बिहानै खोरबाट निकालिन्छ, दिसा पिसाब गराइन्छ। त्यसपछि करिब १ घण्टा शारीरिक व्यायाम गराइन्छ। 

दैनिक ३० मिनेट कुकुरलाई मसाजसमेत गराइन्छ। बिहान १० बजेतिर खाना खुवाइन्छ। १२ बजेसम्म खोरमा आराम गराएर फेरि दिउँसो २ बजेसम्म अभ्यास गराइन्छ। दिउँसो ४ बजे खोरबाट निकालेर अभ्यास गराई साँझ दिसापिसाब गराई खोरमा राखिन्छ।

कुकुरलाई पहिलो चरणमा आधारभूत तालिम दिइन्छ। कुकुरलाई रनिङ, उठ बस लगायतका शारीरिक अभ्यास गराइने निरीक्षक सत्याल बताउँछन्।

तालिमको दोस्रो चरणमा मात्र विषयगत तालिम दिइन्छ। जस्तो लागू औषध, ट्याङ्कर, भिआइपीको सुरक्षा लगायत विभिन्न विधामा खटिने कुकुरलाई फरक फरक तालिम दिइन्छ। एउटा कुकुर एउटा विधामा मात्र पोख्त हुने गरेको निरीक्षक सत्याल बताउँछन्।

कति छ कुकुर प्रहरीसँग?

अहिले नेपाल प्रहरीसँग देशभर ७९ वटा तालिम प्राप्त कुकुर रहेका छन्। केन्द्रीय कुकुर तालिम केन्द्रमा मात्र ४१ वटा कुकुर छन्। त्रिभुवन विमानस्थलमा ७ वटा कुकुर खटाइएका छन्। कुकुरको हेरचार र तालिमको लागि ६० जना प्रहरीहरू रहेका छन्।

एउटा कुकुरले दैनिक ३ सयदेखि ४ सय रुपैयाँको खाना खान्छ। एउटा वयस्क कुकुरको लागि दैनिक ६ सय ग्राम आहारा आवश्यक पर्छ।

चार दिनसम्म पुरानो घटनाको अनुसन्धान

नेपाल प्रहरीको अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन ४ दिनसम्मको घटनामा अनुसन्धान गर्न दुईवटा कुकुरलाई तालिम दिइसकेको छ। एक वर्ष अगाडि बेलारुसबाट किनेर ल्याएको ब्लडहाउन्ड प्रजातिको कुकुरले ९६ घण्टासम्मको अनुसन्धान गर्ने क्षमता राख्छ। यसको एकदम तीक्ष्ण सुँघ्ने क्षमता हुन्छ।

ब्लडहाउन्डका भाले र पोथी दुईवटा कुकुर अहिले तालिम पाइरहेका छन्। निरीक्षक सत्यालले भने, 'हामीले बच्चा कुकुर ल्याएका हौँ। यो प्रजातिको कुकुरलाई तालिम दिन धेरै समय लाग्छ। हामीले एउटा कुकुरलाई अनुसन्धानमा प्रयोग गर्न थालिसक्यौँ।'

 

सबैभन्दा अनुभवी कुकुर - रेस्क्यु

नेपाल प्रहरीको सबैभन्दा बढी अनुसन्धानमा खटिएको अनुभवी कुकुर ‘रेस्क्यु’ हो।

१२ वर्षदेखि रेस्क्युले प्रहरीको अनुसन्धानमा सारथी बनेर काम गरिरहेको छ। एउटा कुकुरले सामान्यतया ८ वर्षदेखि १३ वर्षसम्म काम गर्न सक्छ। त्यसपछि उनीहरूलाई अवकाश दिइन्छ।

प्रहरी निरीक्षक सत्याल भन्छन्, '१० वर्ष बितिसकेपछि उनीहरूको अनुसन्धानमा ह्रास आउँछ। बुढो हुँदै जान्छन्, रोगी पनि हुन्छ। अनि हामी उनीहरूको प्रयोग गर्न छाड्छौँ।'

नेपाल प्रहरीसँग अहिले काली, डिजे, गङ्गा, जङ्गे, मुन्सी, साथी, रेस्क्यु, जो जो, जोली नाम गरेका तालिमप्राप्त कुकुर अनुसन्धानमा खटिरहेका छन्। केहीको नाम नेपाली भए पनि तिनीहरु नेपाली जातका कुकुर हैनन्।

किन प्रयोग हुँदैन स्वदेशी कुकुर?

नेपाल प्रहरीले तालिम दिएका सबै कुकुर विदेशी प्रजातिका हुन्। सबैभन्दा धेरै जर्मन सेफर्ड रहेका छन्। ल्याब्राडोर पनि छन्। थाइल्यान्ड र भारतबाट नै धेरै कुकुर आउने गरेका छन्। जनमानसमा वफादार र ‘स्ट्रङ’ छवि बनाएको स्वदेशी भोटे कुकुरलाई भने प्रहरीले अहिलेसम्म तालिम दिएको छैन।

किन त?

डाक्टर सत्याल भन्छन्, 'स्वदेशी कुकुर एकदमै रिसाहा हुन्छ। तालिम गराउन पनि समस्या हुने भएकाले हामीले अहिलेसम्म विदेशी प्रजातिका कुकुर नै प्रयोग गरेका हौँ।'

कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियन मात्र हुन्छ। अन्य कुकुरको तुलनामा ब्लडहाउन्डमा करिब ३५० मिलियन सुँघ्ने क्षमता हुन्छ। तर स्वदेशी कुकुरमा यो क्षमता पनि कमी भएकाले अनुसन्धान प्रयोग नगरेको उनी बताउँछन्।

 



प्रहरीको जागिर खाने 'डिजे'देखि 'रेस्क्यु'सम्म सबै कुकुर विदेशी, किन प्रयोग हुँदैन भोटे कुकुर? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट