PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भव्य विदाइको तयारीमा एलाइस- एउटा लाटोकोसेरो, जसको साइनो नेपालसँग पनि जोडिएको छ



पहिलोपोस्ट

भव्य विदाइको तयारीमा एलाइस- एउटा लाटोकोसेरो, जसको साइनो नेपालसँग पनि जोडिएको छ
हाइन ब्लोयेम (कार्लाका पति), एलाइस नामको लाटोकोसेरो र कार्ला ब्लोयेम, जसले एलाइसको हेरविचार गर्ने कानूनी रुपमा जिम्मा पाएकी छिन्

  • राजु आचार्य -
अहिले अमेरिकाको मिडियामा  एउटा लाटोकोसेरोको चर्चा छ। २१ वर्षीय यो लाटोकोसेरोको नाम एलाइस हो। यिनले २० वर्षसम्म पुर्‍याएको योगदानको अनुसन्धानकर्मी, संरक्षणकर्मी, पर्यटन व्यवसायी, राजनीतिज्ञ सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। अब यिनले विदा लिँदैछिन्। रिटायर हुँदैछिन्। यिनको विदाइको लागि अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्रले शनिबार (नोभेम्बर ३ तारिख) मिनोसोटाको होस्टेनमा बिहान ११  बजेदेखि दिउँसो २ बजेसम्म विशेष कार्यक्रम नै  राखेको छ। 

एलाइसले के के गरिन्?

हजारौँ मानिसले एलाइसलाई छोएका छन्। यिनलाई अगाडि राखेर यिनी लगायत अन्य लाटोकोसेरोको बारेमा जानकारी पाएका छन्। गत वर्षसम्म विश्व लाटोकोसेरो महोत्सवमा  यिनी आकर्षणको केन्द्रमा रहन्थिन्। यिनका बारेमा डकुमेन्ट्री बनेको छ। आवाजलाई स्थानीय रेडियोले बजाएका छन्।  यिनका बारेमा किताबमा उल्लेख गरिएको छ। 

यो लाटोकोसेरोको नेपालसित पनि सम्बन्ध छ। यिनकै कारणले सुरु भएको  'विश्व लाटोकोसेरो महोत्सव' नेपाल, इटाली, अमेरिका हुँदै यस वर्षदेखि भारतमा पनि सुरु गर्न लागिएको छ। नेपाल सात वर्ष भइसकेको छ लाटोकोसेरो महोत्सव भएको। पछिल्लो पटक दोलखाको जिरीमा महोत्सव भएको थियो। 
 
अमेरिकामा पहिलो पटक ३ सय जनाबाट सुरु भएको महोत्सवमा गत वर्ष करिब २४ सय पर्यटकहरू आएका थिए।  एक हप्तासम्म मनाइने यो महोत्सवमा सहरको जनसङ्ख्याभन्दा बढी पर्यटकहरूले  होस्टन भ्रमण गर्दछन्।  

सन् २०१० मा एलाइसलाई 'वर्ल्ड आउल हल ओफ फेम लेडी ग्रेल' पुरस्कारद्वारा सम्मान गरिएको थियो।  

कसरी सुरु भयो? 

यसको सुरुवात अनौठो तरिकाले दुई दशक अगाडि अमेरिकामा भएको थियो। त्यति बेला एउटा उड्ने बेला भएको लाटोकोसेरो भुइँमा खसेको थियो। संरक्षणकर्मीहरूले पुनर्स्थापना केन्द्रमा खबर गरे।

चराको उपचार भयो। तर पखेटा भाँच्चिएकोले आफ्नो घर फर्किन नसक्ने भयो। विसकन्सिन सहरमा छलफल चल्यो। संरक्षणकर्मी कार्ला ब्लोयेमले सरकारको स्वीकृतिपछि त्यस लाटोकोसेरोलाई घरमा लगेर पालिन्। यसको नाम रह्यो एलाइस। एलाइसलाई संरक्षणको काममा प्रयोग गर्न थालियो। पछि यसले  फुल पार्‍यो।

मार्च महिनामा केही विद्यार्थीहरू जम्मा भएर कोरल्ने दिवस मनाइयो। अहिले भने सोही अवधिमा हजारौँ मानिसहरू जम्मा भएर ‘अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव’ मनाइन्छ। संरक्षणका विविध कार्यक्रम लगायत विश्वभरका संरक्षणकर्मीहरूलाई यस दिन सम्मान पनि गरिन्छ।

एलाइसको बाँकी जीवन कसरी बित्छ ?

सानैमा पखेटा भाँच्चिएकोले उड्ने कुरै भएन। यिनको संरक्षणकर्ता कार्ला ब्लोएमसँग यिनको बाँकी जीवन बित्नेछ। यिनलाई अब उप्रान्त कुनै पनि सार्वजनिक तथा संरक्षणका काममा प्रयोग गरिने छैन। यिनको लागि बनाइएको विशेष घरमा यिनी रहने छिन्। 

एलाइस र कार्लाको सम्बन्ध 

अहिले पनि कार्ला ब्लोएम र एलाइसको मित्रता अनौठो छ। बिहान र बेलुकी दुवै जना भेट्नै पर्छ, सँगसँगै कराउनु पर्छ। यदि कार्लाले त्यसो गरिनन् भने एलाइस एकोहोरो कराइरहन्छ।

कार्लाले आफ्नो श्रीमान र  एलाइसको लागि समय खर्चने गरेकी छिन्। कार्लाले कुनै पाहुना लिएर आइन् भने एलाइस रिसाउन थाल्छ। मानिस र लाटोकोसेरो बीचको यो सम्बन्धलाई अनौठो रूपमा हेर्ने गरिएको छ। यिनीहरूको यो मित्रता गाँसिएको करिब १७ वर्ष भएको छ। यस अवधिमा कार्लाले  एलाइसको आवाजको बारेमा अध्ययन पनि गरेकी छिन्। 

'अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव' को सुरुवात गर्ने कार्ला र सो महोत्सवलाई जीवन्त बनाउने एलाइस  दुवैको  माया र मेहनत  विश्वले सम्झने विषय बनेको छ।  

सम्बन्धित सामाग्री
उल्लु उत्सव गर्न खोज्दा झण्डै उल्लु भइयो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell