PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यी दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल



यी दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल
फाइल फाटाे

चितवनः भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ। नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ।

चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ। नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र खोलेर सेवा दिँदै आएको छ। यसैगरी सिम्रनगढको आँखा उपचार केन्द्रमा हरेक महिनाको दुई पटक शल्यक्रियासमेत गरिँदैआएको छ भने पर्साको ठोरीमा आँखा अस्पताल सञ्चालन गरेको छ।

नेपाल नेत्रज्योति संघका सभापति कृष्णराज धरेलका अनुसार नवलपरासी, सर्लाही, गोरखा, तनहुँ र लमजुङका बिरामी अस्पताल र सेवा केन्द्र भएका ठाउँमा आएर उपचार लिने गरेका छन्। दशवटै जिल्लामा शिविर आयोजना गरी सेवा दिँदै आएको छ।

धरेलका अनुसार स्थानीय क्लब, रोटरी क्लब, लायन्स क्लब, विभिन्न सामाजिक संघ संस्था, सेवा फाउण्डेशन अमेरिका, सेवा सोसाइटी क्यानडा, डेक फाउण्डेशन नेदरल्याण्ड, भारतीय र पाकिस्तानी राजदूतावासलगायतले सहयोग पुर्‍याउँदै आएका छन्।

ती संस्थाको सहयोगमा अस्पताल, सेवा केन्द्र र शिविरमार्फत निःशुल्कदेखि न्यून शुल्कमा आँखा परीक्षण, शल्यक्रिया र चश्मा एवं औषधि वितरण गर्दै आएको उनले बताए। गत वर्षमात्र अस्पतालले रु एक करोड चार लाख ६८ हजार १५० आँखाको शल्यक्रियामा छुट दिएको थियो।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार गत आर्थिक वर्षमा एक लाख ६८ हजार ६७ जनालाई सेवा दिएको थियो । उनका अनुसार तीमध्ये एक लाख १८ हजार ४४५ जनालाई अस्पतालबाट, २६ हजार ६२८ जनालाई आँखा उपचार केन्द्र र २२ हजार ९८५ जनालाई आँखा शिविरमार्फत सेवा दिइएको हो।

अस्पतालले गत वर्ष छ हजार ६० जनाको आँखाको शल्यक्रिया गरेको थियो। यस वर्ष एक लाख ३२ हजार अस्पतालबाट, २५ हजार ५०० आँखा शिविरबाट र ४२ हजार ५९५ उपचार केन्द्रबाट गरी दुई लाखभन्दा बढीलाई सेवा दिने अस्पतालले लक्ष्य राखेको घिमिरेले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell