PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओली नै चियापानमा अनुपस्थित, बहिस्कारको पर्चासमेत छरियो

प्रधानमन्त्री ओली नै चियापानमा अनुपस्थित, बहिस्कारको पर्चासमेत छरियो

विधुर ढकाल/पहिलोपोस्ट


काठमाडौँ : सत्तारुढ ने क पाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भए। 

पार्टी महासचिव विष्णु पौडेलले प्रधानमन्त्री कार्यक्रममा नआउने पुष्टि गर्दै भने, उहाँ यहाँ नहुनुभए पनि उहाँको मन यतै छ। 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने कार्यक्रममा उपस्थित भई अतिथिहरुको स्वागतमा व्यस्त छन्। उनले पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालसित कानेखुसी समेत गरेको देखिएको थियो। 

कार्यक्रममा चियापान बहिस्कार गरौँ लेखिएका पर्चासमेत छरिएको थियो। पर्चा नेकपा असन्तुष्ट समूहका नाममा छरिएको थियो। पर्चाको बण्डल छर्ने बित्तिकै उठाइएको थियो। 

कार्यक्रममा सहभागिताका लागि निम्त्याइएकाहरुलाई दुई वटा समय दिइएको छ। चियापान कार्यक्रम मध्यान्ह १२ बजेबाट सुरु भएको हो। चियापान कार्यक्रमको पहिलो खण्डमा सर्वसाधरण तथा कार्यकर्ताका लागि छुट्टाइएको छ।

३ बजेसम्म सर्वसाधरण, शुभेच्छुक तथा कार्यकर्ताहरुलाई चियापानको व्यवस्था गरिएको छ।

त्यसपछि चियापान कार्यक्रममा निम्त्याइएका अतिविशिष्ट तथा विशिष्ट पाहुनाहरु रहने छन्। यो समयमा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सरकारका मन्त्रीहरु, सांसदसहितका व्यक्तिहरु सहभागी हुने छन्।

पार्टी एकतापछि हुन लागेको यो पहिलो चियापान कार्यक्रम दशैं, तिहार, छठ, नेपाल सम्बत, इद, ल्होछारसहितका नेपालीका विभिन्न चाडपर्वको शुभकामना आदानप्रदानका लागि आयोजना गरेको हो।

भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा करिब ५० हजारको हाराहारीमा सहभागिता हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ५० हजार निम्तोपत्र बाँडिएको ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।


ट्रेन्डिङ पोस्ट

Ncell