
काठमाडौँ : पाकिस्तान साफ यू-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो। समूह चरणको दोस्रो खेलमा पाकिस्तानले आज भूटानलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा खेलको २४ औँ मिनेटमा मुद्दसर नजरले गोल गर्दै पाकिस्तालाई शुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्तानको अग्रता दोब्बर पारे। ३३ औँ मिनेटमा मोइन अहमेदले तेस्रो गोल थपे। पहिलो हाफको अन्तिम समयमा मोइनले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई फराकिलो जित दिलाए।
पहिलो हाफमा चार गोल खाएको भूटान दोस्रो हाफमा खेलमा फर्किन सकेन। पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि भूटानले गोल गर्न सकेन।
पहिलो खेलमा पाकिस्तानले बलियो प्रतिद्वन्द्वी भारतलाई बिहीबार भएको उद्घाटन खेलमा २-१ ले हराएको थियो । समूह ‘बी’मा पाकिस्तानको छ अङ्क जोडेको छ। भूटान र भारत अङ्कविहीन छन्। समूह चरणको अन्तिम खेलमा भारत र भूटानले आइतबार खेल्नेछन्।
आजै दोस्रो खेलमा बङ्गलादेश र माल्दिभ्स खेलिरहेका छन्। पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सलाई अघिल्लो चरण पुग्न बङ्गलादेशलाई पराजित गर्नुपर्ने दबाब छ।
आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बङ्गलादेशसँग खेल्दैछ। यसअघि नेपालले बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको थियो।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता रहेको छ। प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन्।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन्।
सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ। सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो। प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो। यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो। रासस