PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

चाडवाडमा मुटु रोगीले के खाने, के नखाने?



सागर बुढाथोकी

चाडवाडमा मुटु रोगीले के खाने, के नखाने?
फोटो : everydayhealth.com

दशैंको बेला खानपान नमिलेर तन्दुरुस्त मानिस समेत बिरामी पर्छन्। रोग भएका मानिसहरुको लागि दशैंमा झनै गाह्रो हुन्छ।

धेरै मानिसहरुलाई थाहा हुन्न, ‘के खाने, के मुख बार्ने?’

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर यादवदेव भट्ट भन्छन्, ‘दशैंका बेला अस्पतालमा बिरामी बढ्छन्। खानपिन बिग्रने हुनाले बिरामी चाप हुनु स्वाभाविक पनि हो।’

भट्टका अनुसार मुटुसँग खानाको गहिरो सम्बन्ध छ। भोजनको मात्रा छनौट गर्दा व्यक्तिको प्रकृति, रोग, बल, उमेर र मानसिकता आदिका आधारमा हुनुपर्ने उनी बताउँछन्। दशैंका बेला खानामा ध्यान नपुर्याुए मुटुलाई गम्भीर असर गर्ने उनको कथन छ।

घिउ, नौनी, छाली, बटर र बोसो जस्ता खाद्य स्रोतबाट पाइने चिल्लो पदार्थ सेवन नगर्न उनी मुटुरोगीलाइ सल्लाह दिन्छन्।

‘मासु पकाउन अत्यन्त कम वनस्पती तेलको उपयोग गर्नुपर्छ। शुद्ध तोरी वा सूर्यमुखिको तेल अन्यभन्दा उत्तम हुन्छ,’ उनी भन्छन्, ‘मुटु रोगी पूर्ण साकाहारी भएमा रोगले धेरै च्याप्दैन।’

भट्टका अनुसार माछा मासुमा पाइने बोसोले कोलेस्टेरो बढाउँछ। खसी, राँगा, बंगुरजस्ता ठूला जनावरका मासु खानु हुँदैन। माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट थोरै मात्रामा खाँदा गम्भीर असर गर्दैन।

उनी भन्छन, ‘मुटु रोगीहरुले नदेखिने चिल्लो पदार्थका स्रोतहरु, बदाम, काजु, नरिवलजस्ता तैलीय फलहरु खानु हुँदैन। बिस्कुट, नुडल्स, कार्बोनिक र अल्कोहलिक पेयजस्ता क्यालोरी मात्र दिने पदार्थ मुटुको लागि राम्रो होइन।’ 

मुटु रोगीहरुले पेटभरी कोची कोची खाने बानी राम्रो होइन। पेटको आधा भाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि छोडिदिनु पर्ने डाक्टर भट्ट बताउँछन्। 

उनका अनुसार ठोस भोजन दिनको दुई पटकमात्र गनुपर्छ। बेलुकाको भोजनमा अन्नको मात्रा जति सक्दो कम गरेको राम्रो। अन्नको सट्टा दाल, तरकारीको झोल, उसिनेको सागसब्जी र तरकारीजस्ता रेसा र चोकरदार खाना खानु राम्रो हुन्छ।

खानामा नुनको मात्रा दुई–तीन ग्राममात्र हाल्नुपर्ने उनी बताउँछन्। अजिनोमोटो, सोडियमबाइकार्बोनेट र सोडियमबेन्जोएटजस्ता बेकिङ पाउडरको प्रयोग मुटुमैत्री होइन। अचार, आलु चिप्स, कुरकुरे, तितौराजस्ता अतिरिक्त लवण राखिएका खाद्यपदार्थले मुटु रोगको जोखिम बढाउने उनको भनाइ छ।

‘मुटु रोगीले के खाने त?’ 

‘मुटु रोगीलाइ मासु विष जस्तै हो,’ डाक्टर भट्ट भन्छन्, ‘त्यो त खानै हुन्न। खानमा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ। सलाद, हरिया सागसब्जी, चोकरयुक्त पिठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ। यी खानाले मुटु रोगलाइ फाइदा गर्छ।’ 

भट्टका अनुसार हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ।

एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघातपछिको घाउ निको पार्न मूख्य भूमिका खेल्छ। त्यसैले यस्ता खाना खाएमा मुटु रोगीलाई फाइदा हुन्छ। मुटुरोगबाट बच्न मासु त्याग्नै पर्ने उनको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell