PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नाम्दुमा सविता उप्रेतीको टीका, आशिर्वाद पाइन्- अझै सन्तान थपिउन्



पहिलोपोस्ट

नाम्दुमा सविता उप्रेतीको टीका, आशिर्वाद पाइन्- अझै सन्तान थपिउन्

सविता उप्रेतीलाई दशैंको रौनकले निकै छोयो। अरु बेला सिनामंगलस्थित अटिस्टिक बालबालिकाको लागि खोलेको स्कूलमा व्यस्त रहन्थिन्। बिहान ९ बजेदेखि साँझसम्म उनीहरुबाट आँखा हटाउने फुर्सद नै हुँदैन। २ साता दशैंको छुट्टी छ। त्यसैले घटस्थापनाको भोलीपल्टै गाउँ, दोलखाको नाम्दु लागिन्।

'काठमाडौंभित्र केही ठाउँ घुमेर घर आएँ। यही दशैंमा हो घुमेपनि, आराम गरेपनि', उनी खुशी व्यक्त गर्छिन्।

नाम्दुमा हुर्किएकी उनका लागि आजभोली गाउँ बिरानो बनेको छ। बाल्यकालमा घरबाट मामाघर जाँदा रमाउँथिन्, आजभोली काठमाडौंबाट गाउँ पुग्दा उस्तै खुशी हुन्छिन्। पढ्नलाई दोलखाबाट काठमाडौं आएकी उनले अभाव र संघर्षको फरक रुपहरु देखिन्। कहिले स्कूलमा पढाइन्। केही समय पत्रकारिता गरिन्। केही समय राष्ट्रिय अपांग कोषमा काम गरिन्। जागिर छोडेपछि भने समाजसेवी भइन्। यो सब भइरहँदा उनको व्यस्तताले दशैंमा बाहेक अन्य समय ब्रेक नै दिएन। 

'त्यसैले दशैं भनेपछि मासु, पिङ, टीकाभन्दा पनि भेटघाटले महत्व राख्न थाल्यो', सविता भन्छिन्,'रहरहरु पनि परिवर्तन भइराख्ने रैछन्। ४/५ वर्षअघिसम्म पनि म टीकाकै लागि गाउँ जान्थें।‘

उनी ती दिन सम्झन्थिन् जब भर्खर अटिजम भएका (एकोहोरिने, एक्लै बस्ने र आफ्नै अभिभावसँग पनि नबोल्ने) बालबालिकाहरुको लागि स्कूल खोलेकी थिइन्। स्कूलमा कहिले काहिं खानेकुराको अभाव हुन्थ्यो तर बालबालिका भोको राख्न उनको मनले मान्दैनथ्यो। 'कुनै समय म टीका लाएर पाएको दक्षिणाले यति दिनको तरकारी किन्न पुग्छ भन्ने हिसाब गरेर आफन्तकोमा जान्थें', उनी सम्झन्छिन् र भन्छिन्,'आजभोली त्यो अभाव छैन। देश विदेशबाट सहयोग जुट्छ। त्यसैले पुर्‍याउँछु।'

दशैंअघि स्कूलमा रहेका शिक्षक, थेरापिस्ट, आया, भान्सामा काम गर्ने लगायत सम्पूर्णको तलव दिइन्। तिर्न बाँकी उधारोहरु तिरिन्। सबै बालबालिकालाई आमाबुवाको जिम्मा लगाइन्, केहीलाई गाउँ पठाइन् र स्कूल विदा गरिन्। 'संस्था र यसमा जोडिएका सबैको बारेमा सोच्न पर्ने रहेछ।'

अब भने ठूलाको आशिर्वाद थाप्न भएपनि सबैतिर जाने योजना छ उनको। ‘घरको टीका सक्कियो अब सबै आफन्तकोमा पुग्छु।’

सविताले दशैंमा पाउने आशिर्वादको प्याट्रन फेरिएको छ। पहिले पहिले ‘सन्तानले डाँडाकाडा ढाकुन्’ भनेर पाएको आशिष लागेको छ। ‘योपटक पनि सन्तान थपिउन् भन्ने आशिक पाएँ।’ किनकी विवाह नगरी नै उनी ४० जना बालबालिकाकी आमा भएकी छिन्। ८ वर्षअघि उनले स्थापना गरेको 'विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र'मा उनको ठूलो परिवार बनेको छ।

‘अब संस्थाको आफ्नै भवन निर्माण होस् भन्ने आशिर्वाद चाहन्छु’, निकै आशावादी सुनिन्छिन्,’धेरैले कामना गरे चाहेको कुरा चाडै पुरा हुन्छ भन्छन्।‘

हाल स्कूल भाडाको घरमा छ। ३/४ वटा घरको कोठाहरुमा छरिएर काम गर्दा समस्या परेको बताउँछिन् उनी। 'ठूलो ठाउँमा सीमित बालबालिका राखेर काम गर्नुपर्ने थियो तर साँघुरो ठाउँमा खुम्चिन बाध्य छु,' समस्या सुनाइन्।

ऋणमा जग्गा किनिसकिन्। तर, घर बनाउन पैसा छैन। सहयोगले कर्मचारीको तलव र बालबालिकाको सेवा सुविधा मात्र धान्छ।

‘हुन त आशिर्वादले मात्र हुँदैन तर पनि विश्वास न हो’, उनी मुस्कुराउँछिन्।

उनलाई पिङमा मच्चिन पनि असाध्यै मन पर्ने बताउँछिन्। 'लाइन लागेर पिङ खेल्न पनि मज्जा आउँछ। धर्ती छोड्नु पर्छ भनिन्छ, मलाई त पिङमा मच्चिदा धर्ती मात्र होइन पिर, तनाव सबैकुरा छोडेको महसुस हुन्छ', उनी रमाइलो मान्दै सुनाउँछिन्।

पूर्णिमाअघि नै पुन: म्याम बनेर काठमाडौं फर्कन्छिन्। स्कूल सूचारु हुन्छ र प्रिन्सिपलदेखि आयासम्मको काम- उस्तै बित्नेछ बिहान ९ बजे देखि साँझ ४ बजेसम्मको उनको समय।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell