PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


रामदेवदेखि वामदेवसम्म : राजनीतिमा मी–टूको प्रभाव


किशोर नेपाल

रामदेवदेखि वामदेवसम्म : राजनीतिमा मी–टूको प्रभाव

कनिका घोत्लिएर बसेकी थिइ। पूरै कान्तिपुर शहर दशैंको किलर मूडमा थियो। दशैं कुनै सांस्कृतिक र सामाजिक मूल्यसँग नजोडिएको एकथान चाडमा परिवर्तित हुँदै थियो। मासु र रक्सी अनिवार्य तत्व बनेका थिए दशैंका लागि। कनिका दिक्क मानेर बसेकी थिइ। दशैंमाथि ऊ एउटा तातो फिचर लेख्न खोजी रहेकी थिइ।

कनिका दशैंको निम्तो मान्न अस्ति मामाघर गएकी थिइ मामुसँग। मामा बरहथवाबाट ल्याएको खसीको पक्कु बनाउँदै थिए। माइजु पशु बली प्रथाका विरुद्धको आन्दोलनमा सहभागी हुन माइतीघर मण्डला गएकी थिइन्। सुनेर कनिकालाई दिक्क लाग्यो। सोची, सबैको आ–आफनो पेशा र ब्यवसाय हो। माइजुको पेशा बली प्रथाको आन्दोलन तताउनु हो। मामाको पेशा सरकारी सेवा हो। जस्तो योगी रामदेवको काम औषधि बेचेर पैसा कमाउनु हो। भोगी वामदेवको काम चुनावमा जितेका साथीहरुलाई विभिन्न आश्वासन दिएर आफना लागि संसदमा ठाउँ खाली गर्न मायालु पारामा दवाव दिनु हो। 

दशैंमा मासुको पक्कु लगाउनु मामाको अतिरिक्त पेशा हो। साँच्चै मासु मिठो पक्कु लगाउँथे मामा। कनिकाले त्यसको स्वाद पाइ।

कनिकाको फिचरको एउटा तत्व मी–टू अभियान पनि हुनेछ। त्यसमा नेपालको अपडेट खासै केही छैन। तर, हिन्दूस्तानीको दुःख–दर्दको सबभन्दा बढी चासो कान्तिपुरका शहरिया नेपालीलाई नै हुन्छ। जस्तो कि, पत्रकार एम.जे.अकवर मी–टू अभियानको शिकार भएको घटना निकै चर्चित छ। उनले आफनो पक्षमा ९७ जना वकीलको एक बटालियन बनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई हटाए। 

एम.जे. अकबर कोलकाताबाट निस्किने साप्ताहिक सन्डेको सम्पादक हुँदा समाजवादी, कोलकाताबाट निस्किने तर दिल्लीमा बढी चलेको टेलिग्राफको प्रधान सम्पादक हुँदा भारतीय राष्ट्रिय कांग्रेसको (इन्दिरा) र पछिल्लो समय बुध्दिजीवीको रुपमा बाँच्दा भारतीय जनता पार्टी : भारतमा धर्म–निरपेक्ष राजनीतिका कट्टर समर्थक एम.जे.को यो रुपान्तरण गजबकै रह्यो। भारतमा समान धर्मावलम्बी पार्टीमा लागेका राजनीतिज्ञ बीच ‘आयाराम–गयाराम’ चलिरहने खेल हो। तर, सत्ताका लागि सिध्दान्तमा नै आयाराम–गयाराम गर्ने एम.जे.मात्रै होलान। 

कनिकाले सोची, ‘के हुन त अकबर ? उनी हिन्दू होइनन। मुसलमानले उनलाई ‘काफिर’ भनेर घृणा गर्दछन। भनेपछि, एम.जे. सेकुलर रहेनन्। अब, के हुन त उनी ?’ 

मी–टूकै अर्को प्रसंगमा पनि कनिकाको मन अडियो। भारतीय अंग्रेजी लेखिका इरा त्रिवेदीले आफू उपन्यासकार चेतन भगतबाट (यौन) उत्पीडित भएको जानकारी सार्वजनिक गरिन्। चेतन भगत जागरुक थिए। उनले इरासँगको आफनो ब्यापारिक सम्बन्धको खुलासा गर्दै स्पष्टीकरण दिए, ‘निम्तो इराले नै दिएकी हुन्। उनले मलाई ‘मिस यू, किस यू’ भनेर मेसेज पठाइन्। त्यसपछि मात्रै मैले उनलाई राम्ररी चिन्ने मौका पाएको हुँ।’ 

कनिकाले सोच्दै थिइ – लोभ राजनीतिको फेनोमेना भएको छ। आफ्नै देशमा त अकबरभन्दा लोभी र पापीको संख्या जनसंख्याको औसतमा पनि केही बढी नै छ। निर्मला काण्ड दबेको छैन। दशैंले त्यसलाई साइडमा मात्रै पारेको छ। प्रधानमन्त्री ओलीले छाती ठोकेर प्रतिरक्षा गरेका बम दिदी–बहिनी जनताको शंकाबाट मुक्त भएका छैनन्। प्रधानमन्त्री ओलीले भनि सकेका छन, ‘निर्मला काण्डको टुंगो लाग्न १२ वर्ष लाग्नसक्छ।’ 

नेपालका निर्णायक तहमा रहेका पुलिस अफिसरहरु स्कटल्याण्ड यार्डमा प्रशिक्षित छन्। अथवा, वर्तमानको नेपाल पुलिसमा त्यो पिँढी नभएपनि ‘हिंग बाँधेको टालो’ पक्कै छ। निर्मला काण्डमा आइजीपी साहेबले जनताको खप्की निकै खाए। तर, बलात्कारी र हत्याराहरुले आइजीपी साहेबलाई यसको सुइँको दिएका थिएनन्। 

गाली खानुपर्ने मुख्य ब्यक्तित्व स्वयं प्रम ओली र उनका गृहमन्त्री रामबहादुर ‘बादल’ थिए। तर, उनीहरु दुवैले अपराधी समाउन सकेनन्।
कनिकाले नेपालको मी–टू अभियानको सम्पूर्ण ‘चेकजाँच’ गरी सकेकी थिइ। नेपालका मी–टू महिला साहसी नभएका होइनन्। तर, उनीहरु दोहोरो चरित्र बाँचिरहेका छन। मीना कैनीको कन्फेसन लंगडो थियो। कान्तिपुर प्रकाशनको कुन चाहीं सम्पादकले उनलाई मोटरमा लिफ्ट दिएर ‘किस’ गर्न खोज्यो?  उनले यसको खुलासा गरेकी छैनन्। अलि गहिरो छानबिन गर्ने हो भने त्यो सम्पादक पनि पत्तो नलाग्ने ‘बाज’ त पक्कै होइन।

कनिकाले केही महत्वपूर्ण लाग्ने ब्यक्तिहरुको ट्विटर अकाउण्टको वास्तविकता पत्ता लगाएकी थिइ। ती सबै ‘फेकु’ थिए। फेक अकाउण्टबाट मानिसको वास्तविक अवस्था थाह हुँदैन। केही ‘मी–टू’ हरुको वास्तविकता उसलाई थाहा थियो। झण्डै दुइ दर्जन बुद्धिजीवीको ब्यक्तित्वको स्क्यानिङ गरेकी थिइ उसले। ती मध्ये महिला र पुरुष दुवै जानी जानी ‘मियाँ–बीबी’ राजी तो क्या करेगा काजी? भन्ने मोडमा पुगेका थिए। अब अहिले आएर त्यो घटनाको खोतल–खातल गर्नुको अर्थ थिएन।

राजनीतिमा के होला हालत मी–टू को?  भर्खरै नेपाल कम्युनिष्ट पार्टीका धुरन्धर नेता वामदेव गौतमलाई राजनीतिले मी–टू भनिदियो। त्यसपछि उनी भारी मनले दशैं मनाउन लागेका छन्। वामदेवलाई संसदमा छिराएर आ–आफनो स्वार्थ पूरा गर्ने तजबीजमा लागेका अध्यक्ष प्रचण्डले मात खाए। वामदेवलाई टेकाउन  नेताले प्रयोग गरेको लौरो साह्रै लुलो पर्‍यो।

मी–टूको प्रभावबाट नेपालको राजनीति सर्वथा मुक्त छैन। कांग्रेस, कम्युनिष्ट, राजपा, राप्रपा, फोरम लगायतका सवै वर्गका नेताहरु मी–टूको गहिरो प्रभावमा छन। ‘अहिले नै यसै हो भन्न किन पर्यो र ?’ कनिकाले सोची, ‘यो इस्सूले गहिरो अनुसन्धानको माग गरेको छ।’
त्यसपछि उ सुदिप्तीलाई भेट्न सम्पादकको क्याबिनतिर लागी।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ। )
 



रामदेवदेखि वामदेवसम्म : राजनीतिमा मी–टूको प्रभाव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट