PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पिङ नभएर दु:खी सरिता गिरी, एकवर्षपछि भेट्दैछिन् हजुरबुवा हजुरआमा



पहिलोपोस्ट

पिङ नभएर दु:खी सरिता गिरी, एकवर्षपछि भेट्दैछिन् हजुरबुवा हजुरआमा

२०५९ सालमा कलाकार सरिता गिरीले भर्खरै एसएलसी दिएकी थिइन्। स्कूलको पढाई सकिएपछि उनका सबै साथीहरु होस्टलबाट घर फर्किए। उनी भने घरमा भएको सर सामान पोको पन्तरो बनाएर लागिन् आरोहण गुरुकुलको आवासमा। घर नयाँ बानेश्वरमा, आरोहण गुरुकुल पुरानो बानेश्वरमा- दुरी उस्तो धेरै थिएन तर पनि उनी सातामा एकपटक मात्र घर पुग्थिन्।

छोरी घरमा नबस्नुका कारण सरिताकी आमा यसैपनि निराश थिइन्, झन् धेरै निराश भइन् जब सोही वर्ष दशैंताका छोरी विदेश जाने खबर सुनिन्।

'हामी नाटक मञ्चनका लागि डेनमार्क जाँदै थियौं। म त खुशी थिएँ बाहिर जाने कुराले तर घरमा पिर दिनु भयो', सरिता सुनाउँछिन्,'झन् दशैंको बेलामा घर नबस्नुले आगोमा घिउ थप्यो।' सरिताको भने सोही वर्षको दशैं सबैभन्दा यादगार बन्यो।

विदेशमै टिका लगाउनेदेखि खसी काट्नेसम्मको काम भयो। 'नेपाली विदेशी केही नभनी दशैं मनायौं।' सुनिल पोखरेल लगायतका सबैले उनलाई टिका लगाएर दक्षिणा दिएको सुनाउँछिन्। भनिन्,'डेनिस पैसा पाइयो। टिका भनेकै दक्षिणा हो जस्तो लाग्थ्यो। अब त्यस्तो दिन रहेन।'  

सानोमा टिका लगाएपछि ट्वाइलेट छिरेर पैसा गन्नेदेखि अरुको आँखा छलेर खामभित्र पैसाको रङ हेर्नेसम्मको काम गरिन्। ती दिन सम्झदा उनी दङ्ग पर्छिन्। टिका थाप्न हिडेर उनी थाक्थिन् तर जान छोड्थिनन्। 'हामी सानै छँदादेखि मम्मीले अर्कोपटकदेखि बारीमा टेन्ट टाङ्गने अनि सबै जम्मा भएर टिका लगाउने भन्नु हुन्थ्यो तर त्‍यो अर्कोपाटक कहिल्यै आएन', उनले भनिन्।

केही वर्षयता भने उनको आमानै टिकामा नेपाल हुन छाडिन्। 'योपटक त झन् बुवा मम्मी नै अस्ट्रेलिया। भाइसँग दशैं मनाउनु हुन्छ अब।'

दशैंलाई उनी फेसन नबनाइ मनाउन रुचाउँछिन्। 'किनकी यो धार्मिक महत्व बोकेको पर्व हो। हामीले आधुनिक शैली अपनाउँदै गए महत्व कसरी जोगिन्छ?', उनी प्रश्न गर्छिन्। मौलिकतामा पनि रमाउन सकिन्छ भन्ने उनको तर्क हो। उनलाई भड्किलो बन्दै गएको चाड मनाउने शैली ठिक लाग्दैन।

सरितालाई पिङ खेल्न असाध्यै मनपर्ने। एकदिन पिङ खेल्न गइन्। खेल्ने पालो नआएकोभन्दै सबैसँग झगडा गरिन्। र उनलाई खेलाएर पठाए। 'अलि पछि त गिरीकी छोरी आइ छोड्दिम् भन्न थाले। म भएभरका भाइ बहिनी लिएर जान थालें', उनी हाँस्दै सुनाउँछिन्। थर्काइथर्काइ एउटा टोलको पिङ खेल्ने र अर्को टोलमा पुग्ने गरेकी उनी अहिले काठमाडौंमा पिङको लागि पनि ठाउँ नभएकोमा चिन्तित छिन्।

आज उनी जोरपाटी नयाँबस्तीमा रहेका हजुरबुवा हजुरआमाकोमा टिका थाप्न जाँदैछिन्। 'एउटै सहरमा रहेर पनि एकवर्ष भयो उहाँहरुसँग भेट्न जान नपाएको। दशैंले भेट जुराइदिन्छ', उनी खुशी व्यक्त गर्छिन्। यो पर्वले मान्छेहरुको 'बोरिङ' दैनिकीलाई ब्रेक दिन्छ। त्यसैले पनि यो पर्व मलाई निकै मनपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell