PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भेष जोगीको, काम भने चोरको 'खबरी'



सविन ढकाल

भेष जोगीको, काम भने चोरको 'खबरी'
प्रतीकात्मक तस्बिर, समाचारसँग सम्बन्धित छैन

काठमाडौँ  : शरीरमा पहेँलो वस्त्र, हातमा कमण्डलु र निधारमा खरानी। 

काम दिनभर काठमाडौँका घर-घरमा पुगेर माग्ने। भारत घर भएका जगनाथ जोगी र राजवीर जोगीको दैनिकी थियो। आफूलाई जोगी र माग्ने बताउने यी दुई जना प्रहरीको फन्दामा परे। प्रहरीको हात लागेसँगै उनीहरूको राज खुल्यो। जोगीको भेषमा चोरको 'खबरी'। 

महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र वृत्त जनसेवाले केही दिन अगाडि भारतको हैदरावाद घर भएका नामला रुप्स, अन्जु त्रिपाठी लगायतलाई चोरी गरेको अभियोगमा पक्राउ गरेको थियो। 

त्यस्तै राजधानीबाट भारतीय नागरिक ओजीमा खातुन, मोहमद अस्लाम, चाँदनी खातुन लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। चोरी गर्न प्रयोग हुने औजारसहित उनीहरू पक्राउ परेका थिए। पक्राउ परेका उनको जोगीहरूसँग चिनजान र सम्बन्ध भएको खुलेपछि जोगीको वास्तविक भेषको पर्दाफास भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामा अहिले चोरहरूले चोरी गर्ने मौका बारे जानकारी लिन विभिन्न भेषमा ‘खबरी’ पठाउने गरेको बताउँछन्। 

एसएसपी लामाले भने, 'हामीले सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उनीहरूको चोरीका नयाँ-नयाँ तरिका पत्ता लाग्नेछ।'
दशैँ तथा चाडपर्वको समयमा भारतबाट नै चोरी गर्नेका लागि नेपाल आउने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरूले समूहमा चोरी गर्दा विभिन्न तरिका अपनाउने गरेका छन्। 

एसएसपी लामा भन्छन्, 'चोरहरूले समूह बनाएर चोरी गर्छन्। चोरी गर्ने घर र ठाउँको जानकारी लिन उनीहरूले विभिन्न तरिका अपनाएको देखिन्छ। विभिन्न व्यक्तिलाई जोगी, घरमा काम गर्ने आदि बनाएर पठाउने गर्छन्।'

दशैँ तिहारको मौका छोपी राजधानीमा हुने चोरी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको छ। राजधानीमा सिभिल प्रहरी, नेपाल प्रहरीको विशेष तालिम प्राप्त कुकुरले समेत अनुसन्धान गरिरहेको एसएसपी लामा बताउँछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell