PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मासु खानु अघि मुटु र  रगतको जाँच गर्ने कि?



सागर बुढाथोकी

मासु खानु अघि मुटु र  रगतको जाँच गर्ने कि?

वर्षमा बढी मासु खपत हुने सिजन दशैँ हो। यो बेला प्राय सबैले अरु बेलाको तुलनामा मासु बढी खाने गर्छन्। यो बानीले स्वास्थ्यमा गम्भीर संकट आउने चिकित्सकहरु बताउँछन्।

'मासु बढी खपत हुँदा स्वस्थकर मासु नपर्न र धेरै खाँदा नपच्ने हुनसक्छ जसले मानिसलाई अस्पतालसमेत पुर्‍याउन सक्छ,' अधिकांश चिकित्सकहरु यस्तै भन्छन्।

दशैंमा बढी जोशिएर रातो (खसी, रांगा र बढी बोसो हुने बगुर र बँदेल) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन्। 

आफन्त, नातागोता र साथीभाइसँग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन्छ। 

चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले भने मुटुको अवस्था एवं रगतमा बोसोको अवस्थाबारे थाहा पाउन आफ्नो रगत (लिपिड प्रोफाइल) परीक्षण गर्नुपर्ने गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउत बताउँछन्।

 
अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले दशैं दशा बन्ने गरेको बताउँदै मुटुरोग विशेषज्ञ डा राउत भन्छन्, ‘ज्यान बच्यो भने त मासु फेरि पनि खान पाइन्छ, एकै पटक धेरै मासु खाँदा मुटुरोग, उच्च रक्तचाप, डायबिटिज र युरिक एसिड भएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ।’

नेपाल हृदयरोग प्रतिष्ठानका पूर्वअध्यक्ष डा प्रकाशराज रेग्मी पनि उच्च रक्तचाप र मुटुरोगीलाई दशैंमा बढी रातो मासु र मदिरा नखान सुझाव दिन्छन्। दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले बताए। 

अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने डा रेग्मीले बताउँछन्।

उनले भने, ‘दशैं भन्दैमा चिल्लो बढी भएको मासु र अन्य परिकार तथा पिरो खाने, रातभरी नसुतीकन तास खेल्ने, शरीरलाई आराम नदिने व्यक्तिलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ।’

अन्य समयका तुलनामा दशैंमा मासु र मदिरा सेवनका कारणबाट हुने बिरामी धेरै आउने गरेको रञ्जित मारिखुले बताए। 

दशैंमा मुटु रोग, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या लिएर बढी बिरामी आउने भएकाले अस्पतालले आकस्मिक कक्षदेखि चिकित्सक समेतलाई तयारी अवस्थामा राखिने चिकित्सकहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell