PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अंकित खड्का जसले ८ वर्षको उमेरपछि मात्रै थाहा पाए दशैंको रमाइलो



स्वेच्छा राउत

अंकित खड्का जसले ८ वर्षको उमेरपछि मात्रै थाहा पाए दशैंको रमाइलो

भारत मेघालयको सिलोङमा जन्मिएका अंकित खड्का ८ वर्षको उमेरमा मात्र नेपाल आए। अंकितका चार दाजु र एक दिदी कोही पढ्थे, कोही काम गर्थे। बुवा कहिले कोइला खानीमा काम गर्थे त कहिले बाटो खन्न जान्थे। आमाको भने घरमै गाई पालन र अदुवा खेती थियो। उनलाई भारत बसाइको यतिमात्र याद छ। न कुनै पर्वको रौनक सम्झन्छन्, न कुनै घटना। आतंकवादीको त्रास थियो। नेपालीहरुलाई झन् बस्नै गाह्रो। त्यसैले उनका बुवा लालबहादुर खड्का भारत हान्निएको ३२ वर्षपछि २०५३ सालमा परिवारसहित नेपाल फर्किए। 

नेपाल आएपछि मात्र उनलाई दशैं थाहा भयो। 'इन्डियामा हुँदा खुब पटका पट्काइन्थ्यो सायद त्यो दशैं तिहार थियो होला,' केही सम्झिए जसरी भन्छान्, 'यकिन छैन। अरु कुनै पर्व पनि हुनसक्छ।' 



भाइ बेपत्ता भएको भन्दै अंकितका ठूलोबुवाले सबै जग्गा आफ्नो नाममा सारिसकेका रहेछन्। बारीको एउटा छेउमा हिमाको स्याउला र उन्युले बारेर खरको झुप्रो बनाए। करिब ३ वर्षको दशैं त्यही झुप्रोमा मनाएको धमिलो याद छ उनको मष्तिस्कमा। भन्छन्, 'हाम्रो दशैं पनि आफ्नै बस्ने ठाउँमा आयो। मलाई पनि अरुले जस्तै रातो माटोले घर पोत्ने, सिंगार्ने रहर लाग्थ्यो तर हाम्रो त घर नै थिएन। छाप्रो थियो।'

२०५६ मा बल्ल उनीहरुको घर बन्यो। घर बन्नु उनका लागि ठूलै पर्व बन्यो। उनलाई लागेको थियो आफ्नै घर भएपछि दशैं साथीहरुको घरमा जस्तै गरी आउँछ। तर, त्यसो भएन। साथीहरुकोमा च्याङ्ग्रा, खसी काटिँदा उनको घरमा केही किलो मासु किनेर ल्याइन्थ्यो। 

'रहर लाग्थ्यो २/३ दिनदेखि खसी ल्याउन। त्यसलाई खुवाउन र चराउन जान पाइयोस्। खसी काटेको दिन कान पोलेर खाएको सुन्थें मात्र,' अंकित रहरका ती दिन सम्झन्छन्। सधैं उनले रहर गरे, दशैं आयो खसी आएन। देख्दै जाँदा उनको रहरहरु बढ्दै गए। छरछिमेकमा बोरा भरीभरी ताइचिन चिउरा ल्याउँदा उनकोमा किलोमा जोखेर ल्याइन्थ्यो। उनी आमा र दाजुहरुको आँखा छलिछलि चिउरा चोर्थे र चिनी मिसाएर खान्थे।


हाँस्दै भन्छन्, 'अझै पनि चिउरा र चिनी मलाई मनपर्ने खानेकुरा हो।'

फुच्चे अंकितका लागि टिका र जमरा नौलो कुरा थियो। सुरुसुरुमा टिका लगाएर पैसा पाउँथे। त्यसैले टिका लगाउन चिनजान र आफन्त सबैकोमा पुग्थे। 'ठूलो भएपछि उल्टै आफूले पैसा दिन पर्ने भयो। त्यसपछि दशैंमा गाउँ डुल्न छाडेँ,' उनी यस्ता रमाइला किस्सा रौसिँदै सुनाउँछन्। 

साथीहरुले भन्थे - मामाघरमा टिका लगाए पैसा कमाइन्छ। तर, अंकितसँग दशैंमा मामाघर गएको अनुभव छैन। किनकि उनको मामाघर नै छैन। उनी दशैंमा रुँदै मामाघर लग्न भन्थे। मामाघर भनेको सुन्दा आमा पनि उदास देखिन्थिन्। 

आमा रणमाया लिम्बु। घर, उनले बताए अनुसार धनकुटा हो। अंकितलाई थाहा भयो उनको मामाघर धनकुटा हो तर कुन गाउँ थाहा छैन। 

आमाकी सानीआमाले धेरै दु:ख दिएपछि उनले आफ्नो ठाउँको प्रसिद्ध चिन्ताङदेवी भाकेर भागेकी थिइन्। 'अब यो ठाउँ कहिले पनि फर्कन नपरोस्' भन्दै इन्डिया पुगेकी उनको लालबहादुरसँग अन्तर्जातीय प्रेम विवाह भएको हो। उनी खुशी छिन् आफ्नो परिवारसँग। भारतको सिलोङबाट नेपालको सिन्धुपाल्चोक आएपछि मात्र उनले माइती सम्झेको अंकितलाई थाहा छ।

 
'सम्झिन त सधैं सम्झनु हुन्छ होला तर दशैं तिहारमा उहाँको पीडा अनुहारमा देखिन्छ। केही वर्षयता त तिहारमा भाइहरु भेट्न मन छ भन्नो थाल्नु भएको छ,' अंकित भावुक सुनिन्छन्। भन्छन्, 'अब मामाघर जाने दक्षिणा कमाउने रहर मर्यो। सकेँ भने एकपटक आमालाई मामाहरु भेटाउन मन छ।' 

लाइन लागेर लिङ्गे पिङ खेल्नुको अनुभव पनि नेपाल आएपछि नै संगाले उनले। सबै साथीहरु स्कूलको ड्रेसमा हुन्थे, उनलाई पछि मात्र थाहा भयो त्यो दशैंको लुगा हो भन्ने। 'मेरो चाहिँ आमाले दशैंमा बजारबाट जिन्सको पाइन्ट र सर्ट ल्याइदिनु हुन्थ्यो। फरक लुगा लगाएर पिङ खेल्न जाँदा आफू हिरो महसुस हुन्थ्यो,' उनी ती दिन सम्झन्छन्। 

केही वर्षमा सिन्धुपाल्चोकको लागर्चेस्थित लप्से गाउँ उनको लागि नयाँ ठाउँ रहेन। उनको आफ्नो ठेगाना बन्यो। त्यसपछि आउने दशैंहरुमा उनले पिङको डोरी बाट्न बाबियो कहाँ चोर्ने, बाँस कहाँबाट ल्याउने सबै थाहा पाए। ठूला दाइहरुको पछिपछि लागेर पिङ हालेको हेर्ने गरेका उनी आफै पिङ हाल्ने भएसम्म दशैं गाउँमै मनाए। 



२०६२ सालतिर काठमाडौं आएपछि भने उनको दशैं उस्तो यादगार बनेको छैन। हरेक वर्ष दशैंमा मात्र घर जान्छन्। शहरमा नभेटिने आफ्नै दाजुहरु पनि गाउँमा भेटिन्छन्। बुवा आमा, दाजु भाउजुको हातको टिका थाप्छन्। भतिजा भतिजी र भान्जा भान्जीलाई टिका लगाइ दिन्छन्। र, काठमाडौं फर्कन्छन्। 'अब त खसी, चिउराको बोराभन्दा रहरको कुरो पारिवारिक जमघट बनेको छ। दशैंले त्यो रहर पूरा गरिदिन्छ,' उनले भने।

अंकित खड्काले फिल्म 'घामपानी'बाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका हुन्। उनको डमरुको डण्डिबियो, चङ्गा, हुर्रे लगायत फिल्ममा अभिनय रहेको छ। प्रदर्शनमा आउन बाँकी फिल्म 'गोपी'मा पनि उनको भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell