PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजाको श्रीपेच सार्वजनिकपछि प्रम ओलीले भने : हलीको गोरु धपाउने लौरो संग्रहालयमा कहाँ बस्छ?

राजाको श्रीपेच सार्वजनिकपछि प्रम ओलीले भने : हलीको गोरु धपाउने लौरो संग्रहालयमा कहाँ बस्छ?

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो नारायणहिटीमा रहेको पूर्व राजाको श्रीपेच सार्वजनिक गरेका छन्। १० वर्षअघि पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरेको श्रीपेच र राजदण्ड आजबाट प्रदर्शनीमा राखिएको हो। त्यसको प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका हुन्।

श्रीपेचसँगै राजदण्ड, कायरालगायत १२ वटा वस्तु आजबाट प्रदर्शनीमा राखिएको पुरातत्व विभागका प्रमुख भेषनारायण दाहालले जानकारी दिए। श्रीपेच सार्वजनिक भएसँगै नारायणहिटी स‌ंग्रहालयको आकर्षण बढेको उल्लेख गर्दै समिति बनाएर उत्कृष्ट संग्रहालय बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले प्रतिवद्धता जनाए।

हलीको गोरु धपाउने लौरो कहाँ बस्छ संग्रहालयमा?



श्रीपेच सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणको इतिहास नलेखिएको उल्लेख गर्दै इतिहास खोज्न दरबार नै धाउनुपर्ने बाध्यता रहेको बताए। चीनका अन्तिम बादशाहको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, 'बादशाहहरु भित्रबाट खोक्रो हुन्छन्। शक्ति देखाउन विशेष पहिरन लगाउछन्। राजदण्ड श्रीपेच त्रास ढाक्न लगाएको हो। शक्ति श्रीपेचमा हुन्न। जनतामा हुन्छ। जनताले फालिएको राजतन्त्रलाई बडो सम्मानसाथ राखेका छन्। अशोभनीय ढंगले बोल्नु ठीक होइन।'

त्यसैगरी प्रधानमन्त्री ओलीले यस संग्रहालय दरबार इतिहास संग्रहालयका रूपमा यसलाई विकास गर्नुपर्ने बताए। भने, 'यस संग्रहालय दरबार इतिहास संग्रहालयका रूपमा यसलाई विकास गर्नुपर्छ। जसले नेपालको इतिहासलाई प्रतिविम्वित गरोस्। मुख्य दरबार भयो, अरु इतिहास झल्कने गरी। खासखास समयको प्रतिनिधित्व हुने गरी।' 

जनताका इतिहास नलेखिएको गुनासो गर्दै प्रधानमन्त्रीले खेतमा गाएका असारे र रोधीघरमा बजाएका मादल संग्रहित नभएको धारणासमेत राखे। 'त्यतिबेलाको वैभावहरु दरबारमै प्रकट हुन्थ्यो। जनता त खेतमा असारे गाउथ्यो। रोधीघरमा मादल बजाएर नाच्थे। सोरठीमा मारुनी नाच्थ्यो। घाँसदाउरा पानीमा गाउँथे,' प्रधानमन्त्री ओलीले भने ,'तर, ती संग्रह भएनन्। ती व्यवस्थित हुन पाउँदैनथे। ती लिपिबद्ध हुन पाउँदैनथ्यो। जनता लड्थे। तिनका इतिहास लेखिएनन्। पृथ्वीनारायण शाहको नाम लिए। काटिने त कालु पाँडे न हुन्। पृथ्वीनारायण शाह हैन। साच्चिकै मैदानमा हुनेहरूको। वाण लागेको भए अर्जुनलाई लाग्थ्यो। अर्जुन त पछाडि, नायकहरु नायकत्व गर्छन्। तर, साच्चिकै मैदानमा काम गर्नेहरुको इतिहास छैन। त्यसैले इतिहास दरबारमै खोजिन्छ। '

प्रधानमन्त्रीले प्रश्न गरे, 'इतिहास तिनकै लेखेको हुन्छ। जनता जो लड्छ तिनका इतिहास कता? माटाका भाडा, कहाँ अल्मुनियमका भाडा हुन्छन्। कता तिनका इतिहास आउनु? कुनै हलीको गोरु धपाउने लौरो संग्रहालयमा कहाँ बस्छ। गोरु धपाउने लौरो यो राजदण्डभन्दा कैयौ हजारौ वर्षअघि थियो। तर, के गर्ने विचरा लौरो।'

संग्रहालयका १९ कोठामात्र खुला गरिएकोमा बाँकी कोठाहरु चाँडो खुलाउनसमेत प्रधानमन्त्री ओलीले आग्रह गरे।

प्रधानमन्त्री ओलीले श्रीपेच सार्वजनिकको कार्यक्रम हेर्दा सानो देखिए पनि महत्वपूर्ण क्षण भएको बताएका थिए। 'घटना हेर्दा सानो देखिए पनि महत्त्वपूर्ण क्षण हो। दुनियाँ गतिशील छ। जन्मिँदै शासक हुने सिद्धान्त। दैवी शक्तिबाट मान्छे शासक हुने झुटो इमानहीन सिद्धान्त त्यस सिद्धान्तको सिकार भएर व्यक्तिको अहंकारको मारमा पर्ने प्रणालीको अन्त्यका लागि दुनियाँले लड्यो,' प्रधानमन्त्री ओलीले थपे, 'नेपालले लड्यो। लखन थापा लडे, योगमाया लडिन्।'

 ४८ वर्षअघि आफैले अगुवाई गरेको स्मरण गर्दै ओलीले राजतन्त्रको अन्त्यले  शहीदको सम्मान भएको बताए। राजतन्त्रले राष्ट्रियताको सवालमा योगदान पुर्‍याएकोप्रति प्रशंसा गर्दै ओलीले योगदान पुराउँदैमा जन्मजात शासक हुन नपाइने तथ्यलाई विर्सन नहुने धारणासमेत राखेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell