PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्मलाकी आमा दुर्गाको दुःख : छोरी नै नरहेपछि दशैँको के अर्थ? न्यायको आश पनि मर्न लागिसक्यो



एम बम

निर्मलाकी आमा दुर्गाको दुःख : छोरी नै नरहेपछि दशैँको के अर्थ? न्यायको आश पनि मर्न लागिसक्यो

कैलाली : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी दुर्गा पन्तको घरमा अघिल्ला दशैँहरुमा असीमित खुसीहरु भित्रिने गर्दथे, भलै स्रोत साधन सीमित थिए। तर यो वर्ष उनलाई दशैँ नै नआइदिए हुन्थ्यो जस्तो भएको छ। 

दुर्गाकी माहिली छोरी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कार गरी हत्या भयो। तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता लाग्न सकेको छैन। 

दशैँ आएकाले छिमेकका घरमा कोही रंगरोगन गरिरहेका थिए।  धान काट्ने सिजन भएकाले कतिपय धान काट्ने कार्यमा व्यस्त थिए। सबैतिर दशैँको चहलपहल भइरहँदा निर्मलाको घरमा भने सन्नाटा छाएको थियो। 

श्रीमानले १० वर्षअघि नै छाडेर कान्छी श्रीमतीसँग बस्न जान थाले पनि तीन छोरी र एक आमाको खुसीले फुरुङ भइरह्न्थ्यो यो घर। सडक छेउमै रेहेको घरको अगाडि पट्टीको बायाँ कोठामा पानीपुरीको व्यापार गर्थिन् उनी। घर नजिकै रहेको सरस्वती माध्यामिक विद्यालयमा तीन छोरीहरु लगनशील भएर पढाइलाई निरन्तरता दिइरहेका थिए। 


निर्मला नभएपछि दुई छोरी र आमाको मात्र बास छ यो घरमा। 
 

आमालाई सम्झाउने निर्मला यो दशैँमा छैनन् 

निर्मला बहिनीहरुमा माहिली हुन्। उनकी जेठी दिदी मनिषा पन्त १० कक्षामा पढ्थिन्। बहिनी सरस्वती ७ कक्षामा र उनी आफू भने कक्षा ९ मा। 
परिवारमा जिम्मेवारी र सामाजिक परिपक्वताका हिसाबले भने उनकी आमा दुर्गालाई निर्मला जेठी छोरी जस्तै लाग्थ्यो। निर्मला पारिवारिक र सामाजिक हरेक क्रियाकलापमा आमालाई सघाउने र सम्झाउने गर्थिन्। 

‘पढाइ लगायत सामाजिक हरेक क्रियाकलापमा जेठी छोरी सरह लाग्थी। तर सबैभन्दा ठूलो दुःख पाएर मृत्युवरण गर्नु पर्‍यो,' दुर्गा पन्तले आँसु सम्हाल्नै नसकेर भक्कानो छोड्दै भनिन्, 'अरु कारणले मृत्यु भएको भए मनमा सान्त्वना राख्ने ठाउँ हुन्थ्यो होला, अपराधीको हातबाट मर्नुपर्‍यो। यसैमा सबैभन्दा बढी दुःख लागेको छ।’ 

निर्मलाकी दिदी मनीषा। 

 ‘गत वर्षका दशैँमा दिदी बहिनी सँगै रमाउँथ्यौँ। यो वर्ष बहिनी नभएर दशैँ दशैँ जस्तो लागेको छैन,’ निर्मलाकी दिदी मनीषाले दुःख पोखिन् ।  
निर्मलाले विगतका वर्षहरुका दशैँमा आमालाई सम्झाउने, बुझाउने गर्थिन्। आफ्नै अभिभावककी पनि अभिभावक जस्ती थिइन् उनी।  

तर यो वर्ष भने समय त्यस्तो रहेन। छोरीको हत्या भएपछि उनकी आमालाई दशैँ मनाउने मात्रै होइन, खाना पकाउने जाँगर पनि चल्दैन।

 ‘मेरो लागि सासु, ससुरा अभिभावक जो भने पनि यिनै छोरीहरु हुन्,’ निर्मलाकी आमाले भनिन्, ‘कुनै दिन छोरीहरुका पनि त दिन आउलान् भनेर जिन्दगी दुःखमै काटेँ। अहिले छोरी नहुँदा आफ्नै शरीरका अङ्ग काटिएका जस्ता लाग्छन्।’

श्रीमानले धेरै अघि नै छोरीहरुसहित आफूलाई छाडेर गएको र परिवारलाई पनि खासै सहयोग नगर्ने गरेको कुरा उनलाई कोट्याउन मन लाग्दैन। अरु अभावले उनलाई त्यति पिरोल्दैन जति न्यायको अभावले अहिले पिरोलिरहेको छ। 

'यस्तो कुरा गर्दा आफैलाई न्याय खोजेको जस्तो लाग्न सक्ने' भन्दै उनी छोरीको आत्माले शान्ति पाउने गरी हत्यारा दण्डित भएको हेर्नुमात्र आफ्नो इच्छा रहेको बताउँछिन्, ‘न्याय पाएको भए पनि चित्त बुझाउने बाटो रहन्थ्यो।' 

'निर्मला समग्र देशकी छोरी हो', उनले भनिन्, 'अहिले समग्र देशले न्याय नपाएको महसुस भइरहेको छ। अपराधी जोगाउन ठूलै चलखेल भयो।’ 

बम दिदीबहिनी माथि पुनः छानबिनको माग 

उनलाई अहिलेसम्म भएको अनुसन्धानमा विश्वास लागेको छैन। भनिन् ‘अरुलाई चरम यातना दिइयो, बम दिदी बहिनीलाई सामान्य सोधपूछमा छोड्ने काम भयो।’ 

पन्त परिवारमा घटनाको सत्यता बम दिदी बहिनीबाट बाहिरिने आश भने अहिलेसम्म पनि जीवितै छ। त्यसैले बम दिदीबहिनीमाथि पुनः अनुसन्धानका गर्न निर्मलाकी आमाले अनुरोध गरिन्। 

‘घटनाको सुरुका रहस्यहरु हेर्दा हामीलाई अहिलेसम्म पनि बम दिदी बहिनीको संलग्नतामा हत्या भएको हो भन्ने लागिरहेको छ,’ उनले थपिन्, ‘त्यसैले अन्तिम पटक बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गरिदिए केही बाहिर आउँथ्यो कि ?’ 

निर्मलाकी आमा दुर्गा पन्त आफ्नो घरमा टोलाउँदै। 
 

प्रधानमन्त्रीको प्रतिवद्धता पनि आश्वासन मात्रै

दुर्गा र यज्ञराज पन्तले छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडौँ पुगेर प्रधानमन्त्री केपी ओलीलाई समेत भेटे। तर भेटेर फर्किएको महिना भइसक्दा पनि प्रधानमन्त्रीले ‘निर्मला पनि मेरै छोरी हो, अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने’ भनेर गरेको प्रतिवद्धता पनि उनीहरुलाई झुठो आश्वासन लाग्न थालिसक्यो। 

‘काठमाडौँबाट फर्किएको महिना भइसक्यो, तर हत्यारा पत्ता लाग्ने कुनै सुरसार छैन', उनी भन्छिन्, ‘अब त आश पनि मर्न थालिसक्यो। सरकार पनि मूकदर्शक भयो। अपराधी लुकाउन ठूलै चलखेल भयो।’

पहिलेको अनुसन्धान विश्वसनीय छैन : संघर्ष समिति 

निर्मलाको न्यायका लागि घटना भए यता निरन्तर संघर्षमा उत्रिएको दबाबमुलक संघर्ष समितिले पनि प्रहरीले बम दिदीबहिनी माथि गरेको अनुसन्धान विश्वसनीय नभएको आरोप लगाउँछ। दबाबमूलक संघर्ष समितिकी संयोजक हेलेन श्रेष्ठले भनिन् ‘हामीले बुझ्दा अरु छानबिनमा लगिएकाहरुलाई चरम यातना दिइयो। दीलिपलाई त अपराध स्वीकार्न पनि बाध्य पारियो।' 

'तर बम दिदी बहिनीमाथि किन सामान्य सोधपुछ गरेर छोडियो?', उनको प्रश्न थियो । 

उनले अगाडि भनिन्, ‘जहाँ घटना भएको हो त्यहाँ प्रमाणहरु यथेष्ट छन्। तर प्रहरी सत्यतथ्य अनुसन्धान गर्नुको सट्टा आफै घटनालाई रस्यमय बनाउनतर्फ लाग्यो।’ 

घटना रहस्यमय नभएर बनाइएको उनको आरोप छ। 

हत्यारा पत्ता लगाएरै छोड्छौँ : प्रहरी

कञ्चनपुर प्रहरीले भने घटनाको दोषी पत्ता लगाएरै छोड्ने दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘केन्द्र र हामी मिलेर तीन वटा टोली निरन्तर अनुसन्धानमा छौँ। यो दिन पत्ता लाग्छ भनेर त भन्न सकिन्न। ढिलोचाँडो हो, घटनाका दोषी अवश्य पत्ता लगाउछौँ।’ 

फरक फरक कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ। 

तर निर्मलाका परिवार र स्थानीयलाई भने प्रहरी र सरकारी पक्षको यस्तो रेडिमेड जवाफ माथि विश्वास लाग्न छोडिसकेको छ । 

गत साउन १० गते साथीको घर जान्छु भनेर रोशनी बमको घर गएकी निर्मलाको शव ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell