PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अपराध नियन्त्रण गर्न प्रहरीकाे व्यवहारमा सुधार ल्याउनु पर्‍याेः मुख्यमन्त्री पौडेल



रासस

अपराध नियन्त्रण गर्न प्रहरीकाे व्यवहारमा सुधार ल्याउनु पर्‍याेः मुख्यमन्त्री पौडेल

हेटौँडाः प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा बिहीबार आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आवश्यक बजेट र प्रदेश प्रहरी कानुनको तर्जुमा गर्न गृहकार्य गरिरहेको बताए। उनले प्रचलित ऐन कानुन वमोजिम प्रहरी जनशक्तिले अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रहरीले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न, विपतमा उद्धार कार्यमा तीव्रता ल्याउन, प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराधलाई वैज्ञानिक प्रवृत्तिबाट अनुसन्धान गरेर कानुनी कार्वाहीको दायरामा ल्याउन प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउन लागेको बताए।

उनले प्रहरी र नागरिकबीच सहकार्य गरी एकापसमा विश्वासको वातावरण तयार गर्न आवश्यक रहेको छ भन्दै प्रहरीले कुनै दल वा कुनै समूहको प्रभावमा नपरी आफ्नो जिम्मेवारीलाई निष्पक्ष र जनमुखी बनाउनुपर्ने विचार व्यक्त गरे।

सो अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले प्रहरी जनशक्तिलाई समयानूकल सुधार गरी प्रदेशस्तरमा जनताको शान्तिसुरक्षा, मानवअधिकारको संवद्र्धन गर्ने र अपराध नियन्त्रण गर्न सक्षम रहेको बताए।

मुख्यमन्त्री पौडेलले प्रहरी दिवसका उपलक्ष्यमा आयोजित खेलकूद प्रतियोगितामा विजयी प्रहरी खेलाडीलाई क्रमशः नगद पुरस्कार र पदक वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell