PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


हुलाकले यी क्षेत्रमा बढाउँदै कामको दायरा


रासस

हुलाकले यी क्षेत्रमा बढाउँदै कामको दायरा

घोराहीः पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पुर्‍याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो,टेलिभिजन दर्ता, नवीकरण, पत्रपत्रिका पुर्‍याउने पठाउने गरिरहेको छ।

त्यत्ति मात्र होइन नेपाल सरकारले हुलाक कार्यालयको नेतृत्वमा प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारी भए-नभएको, भए पनि आफ्नो जिम्मेवारीअनुसारको काम गरे-नगरेको र प्रत्येक तीन महिनामा सरकारी कार्यालयले प्रगति प्रतिवेदन तयार पारे-नपारेको अनुगमन गर्ने जिम्मा दिएको छ।

पछिल्लो समय इन्टरनेटको कारण व्यक्तिबीचको कुराकानी सहज भएपछि हुलाकमा चिठीपत्र पठाउने ह्वात्तै घटेका छन् तर हुलाकको कामको सीमा क्षेत्र भने बढेको हुलाक कार्यालयको भनाइ छ। 

'व्यक्तिगत चिठीपत्र मात्र घटेका हुन्', जिल्ला हुलाक कार्यालय दाङका प्रमुख बस्नेतले भने,'सरकारी र सङ्घसंस्थाको चिठी पहिलेभन्दा धेरै आउँछ।' अहिले दाङमा एउटा प्रदेशस्तरीय हुलाक कार्यालय, १४ इलाका हुलाक सेवा र ३० अतिरिक्त हुलाक सेवा सञ्चालनमा छन्। जिल्लाभरि करीब स्थायी, करार र अतिरिक्त गरी १८० कर्मचारी खटिएका छन्। यति धेरै कर्मचारी हुँदा पनि हुलाकले कर्मचारी अभावको महसुस गरिरहेको छ। 

हुलाक कार्यालयका अनुसार दैनिक २०० देखि ५०० सम्म पत्रपत्रिका पुर्‍याउनुपर्छ भने ४० देखि ८० सम्म सङ्घसंस्था र सरकारी कार्यालयका चिठी हुन्छन्। आर्थिक वर्ष २०७४-७५ मा मात्र हुलाकले रु ५६ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ।

हुलाक टिकट बिक्री, पार्सल भुक्तानी, रेडियो रोयल्टी, पत्रिका, नवीकरण, केबुल नवीकरण तथा रोयल्टी, टेलिसेन्टरको आम्दानी, काउन्टर मशिनको आम्दानी, एफएम रेडियो लाइसेन्स नवीकरण र अन्य प्रशासनिक सेवाबापतको उक्त राजस्व सङ्कलन गरेको हो। 

१४४ औँ हुलाक दिवस 

यसैबीच सरकारले यस वर्षको १४४ औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी असोज २२, २३ र २४ गते मनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएको बुझिएको छ। 'समावेशी विकास समुन्नत अर्थतन्त्रको लागि सुदृढ हुलाक’भन्ने मुख्य नाराका साथ यस वर्षको हुलाक दिवस मनाइन लागिएको छ।



हुलाकले यी क्षेत्रमा बढाउँदै कामको दायरा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट