PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्मला हत्या प्रतिवेदनले संकेत गरेको त्यो 'शक्तिशाली अपराधी'



सविन ढकाल

निर्मला हत्या प्रतिवेदनले संकेत गरेको त्यो 'शक्तिशाली अपराधी'

काठमाडौँ : बुझाएको १२ दिनसम्म गोप्य राखिएको निर्मला हत्याबारे छानबिन समितिको प्रतिवेदन अपराधीको छेउछाउसमेत पुग्न सकेको छैन। तर सूक्ष्म अध्ययन र विश्लेषण गर्ने हो भने देखिन्छ, प्रतिवेदनले एउटा शक्तिशाली व्यक्तितर्फ स्पष्ट संकेत गरेको छ। यो त्यस्तो शक्तिशाली व्यक्ति हो जसका लागि प्रहरी भएका प्रमाण नष्ट गर्दै हिँड्छ, नक्कली अभियुक्त खडा गरी नक्कली प्रमाण बनाउँदै हिँड्छ। शंकास्पदलाई बचाउन प्रमाण जुटाउँदै हिँड्छ।   

खै कपडा?

निर्मला पन्तको शवमा रहेको कपडा घटनास्थलमा पुगेकी महिला प्रहरीले झिक्छिन्। जमेको पानीमा चोपल्छिन् र शवको गुप्ताङ छोपिदिन्छिन्। सामाजिक सञ्जालमा निकै भाइरल भएको यो भिडियोमा देखिएकी पात्र थिइन् प्रहरी जवान चाँदनी साउद। 

निर्मलाको शवमा रातो रंगको पेन्टी, टिसर्ट तथा सुरुवाल भिडियोमा देखिन्छ। तर अहिले प्रहरीसँग शवबाट बरामद भएको कपडा नै छैन। कहाँ बेपत्ता भयो कपडा? किन लुकायो प्रहरीले शवबाट बरामद कपडा?

असोज १० गते संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाको जवाफ आयो। प्रहरीले शवबाट झिकिएको कपडा जलायो। कसले भनेर जलायो? किन जलायो? को हो त्यो पात्र जसलाई बचाउन प्रहरीले प्रमाणै नष्ट गर्दै यति ठूलो जोखिम मोल्यो ?

अनिता ट्युसन गएको प्रमाण जुटाउन प्रहरी किन अग्रसर?

घटना भएको दिन अनिता बमले आफू ट्युसन पढ्न गएको बताएकी छिन्। तर उनकी साथी विद्या पन्त र  ट्युसन सेन्टरका संचालक बाबुराम रावतले उनी त्यस दिन आएको वा नआएको यकिन नभएको बताएका छन्। बमका बुबाले ट्युसन सेन्टरमा पुगेर रावतलाई छोरी त्यो दिन आएको भनिदिनूसमेत भनेका थिए। 

त्यतिमात्र हैन, प्रहरीले घटना भएको दिन ट्युसनमा आएकी विद्या पन्तको नोटकपीको फोटोकपी गरेर लगेको समेत पन्तले बयान दिएकी छन्। प्रहरीले पन्तबाट फोटोकपी गरेर ल्याएको नोटकपी अनिता बमलाई सार्न दिएको प्रतिवेदनमा खुलाइएको छ। आखिर प्रहरीले किन अनितालाई त्यो दिन ट्युसन सेन्टरमा गएको प्रमाण जुटाउन खोज्यो? विद्या पन्तको नोटकपीको फोटोकपी प्रहरीले किन गर्नुपर्‍यो? 

नक्कली अभियुक्त, नक्कली प्रमाण?

निर्मला साउन १० गते हराएकी थिइन्। त्यसको भोलिपल्ट उनको लाश भेटिएको थियो। घटना भएको २६ दिनपछि भदौ ४ गते घटनास्थल वरपरबाट थप बरामदी सामान फेला पार्छ। यसले घटनास्थलको सूक्ष्म मूल्याङ्कनसमेत गर्न प्रहरी चुकेको देखिन्छ। 

त्यसको चार दिनपछि प्रहरीले त्यसलाई परीक्षण गर्न काठमाडौँमा पठाउँछ प्रहरीको विधि विज्ञान प्रयोगशालामा। पठाउँदाको पत्रमा लेखिएको हुन्छ- अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्री वस्त्र र  खैरो  रंगको जिन्स हाफपाइन्ट परीक्षणको लागि पठाइएको छ। 

तर त्यसको दुई दिनपछि प्रहरीले अर्को पत्र पठाउँछ। चलानी नम्बर ६४६ र ६४९ नम्वरको पत्रमा अघिल्लो पत्रमा ‘सेण्डो गञ्जी’ मात्र लेखिनु पर्नेमा ‘निलो रंगको सेण्डो गञ्जी’ भएको तथा ‘हाफपाइन्ट’ मात्र हुनु पर्नेमा ‘खैरो रंगको  हाफपाइन्ट’ लेखिएकोले सच्याउन अनुरोध गरिएको हुन्छ। 

त्यसैगरी प्रहरी नायब निरीक्षक हरसिंह धामीले प्रहरीले अभियुक्तका रुपमा खडा गरेको दिलिपसिंह विष्टले शौचालयमा हस्तमैथुन गरेको र शौचालयभित्र पानी नभएकोले हातमा वीर्य लगाएर आएको थियो भन्ने बयान दिएका छन्। के हस्तमैथुन गरेको वीर्य लागेको कपडा बरामदी सामानका रुपमा साट्न खोजिएको थियो?

जघन्य अपराध जस्तो विषयको बरामदी सामानको मुचुल्कामा प्रहरीको यस्तो लापरवाही कसरी हुन गयो? 

प्रयोगशालामा पठाइएको कपडाको नमूना प्रहरीले घटनास्थलबाट बरामद गरेको दावी गरेको थियो। तर स्थानीयबासीको दावी भने फरक छ। उनीहरु प्रहरीले ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरिसकेपछि उसको घरबाट ल्याएको बताउँछन्। सिंहका छिमेकी दिपेन्द्र मडैले सरकारले गठन गरेको छानविन समितिको बयानमा भनेका छन्,'घरबाट कपडा च्यातेर लगेका छन्। यससम्बन्धमा मेरा मामा नाता पर्नेले पनि प्रहरीले कपडाको टुक्रा च्यातेर लगेको देखेका हुन्।' 

कसलाई बचाउन प्रहरीले नक्कली अभियुक्त खडा गर्दै नक्कली प्रमाणहरु जुटाउनतर्फ अग्रसर भयो?

हुँदै नभएको मान्छेको औँठाछाप

साउन ११ गते १३ वर्षीय निर्मला पन्तको शव उखुबारीमा भेटियो। घटना भएको समय मृतकका बाबु यज्ञराज पन्त नेपालमा थिएनन्। घटना भएको चारदिन अगाडि नै उनी भारत गएका थिए। घटना भएको थाहा पाएपछि उनी भोलिपल्ट नेपाल फर्किएका हुन्। तर शव भेटिएको दिन प्रहरीले उठाएको मुचुल्कामा बाबु यज्ञराजको औँठा छाप देखिएको छ। घटनामा प्रहरीको यति लापरबाही कसलाई जोगाउन?

मृत्युको कारण र तरिका नै फरक

निर्मला पन्तको शव उखुबारीमा अर्धनग्न अवस्था घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरीले घटनाको मुचुल्का उठाई शवको पोस्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल पठायो। डाक्टर हरिकुमार श्रेष्ठसहित ३ जनाको टोलीले पोष्टमार्टम गरे।  निर्मलाको मृत्यको कारण उल्लेख थियो, 'घाँटी थिची हत्या गरेको र घाँटीको अगाडिपट्टीको किलकिले हड्डी भाँचिएको,  यौनाङगको हाइमेन टियर भएको।' 

तर केन्द्रीय अनुसन्धान व्यूरोबाट घटनाको अनुसन्धान गर्न डिएसपी अंगुर जिसीको कमान्डमा पुगेको टोलीले उपलब्ध गराएको कागजमा भने दीलिपसिंह विष्टले मैले बलात्कारपछि 'भोकल कर्ड' थिचेर मारेको बताएको प्रतिवेदनमा उल्लेख छ।  

पोस्टमार्टम रिपोर्ट र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमै मारेको तरिका फरक आएको छ। पोस्टमार्टममा पूरै घाँटी थिचेर मारेको उल्लेख छ भने ब्युरोको अनुसन्धानमा अभियुक्त बनाइएका विष्टले भोकल कर्डमात्र थिचेर मारेको उल्लेख छ। 


बाबुलाई धम्की किन?

निर्मलाका बुबा यज्ञराज पन्तले प्रहरीले खडा गरेको नक्कली अभियुक्तविरुद्ध किटानी जाहेरी नदिए छोरीलाई बलात्कार गरेर मारेका घटना पनि छन् भन्दै धम्की दिएको बताएका छन्। शव फेला परेको दुई दिनपछि शव नजलाए कर्फ्यु लगाएर भए पनि जलाइन्छ, मान्छे गोली लागेर मरे भने तिमी जिम्मेवारी हुनुपर्छ भनी एसपी डिल्लीराज विष्टले धम्की दिएको समितिलाई पन्त र अरुले समेत बताएका छन्। विष्ट घटनास्थलमा किन गएनन् र कसलाई जोगाउन धम्की दिए भन्ने प्रश्नको जवाफ खुलेको छैन। 


कुकुर किन प्रयोग गरिएन?

घटनास्थलमा तत्काल कुकुर प्रयोग गर्न सकिने अवस्था थियो। तर के कारणले कुकुर प्रयोग नगरिएको हो? के कुकुरले अपराधीको क्ल्यु देखाउँछ भनेर तर्सिएका हुन्? 


प्रतिवेदन गृहमन्त्रीलाई बुझाउँदै समिति। 

को हो त्यो शक्तिशाली अपराधी?

माथिका उदाहरणहरुले देखाउँछ, निर्मलाको हत्या र बलात्कारमा प्रहरीलाई औँलामा नचाउन सक्षम एक शक्तिशाली व्यक्ति छन्। डिएनए परीक्षणमा शंका नगर्ने हो भने एसपी विष्टका छोरा यसमा संलग्न छैनन्। मेयरका भतिजा आयुष विष्टलाई त समितिले शंकाको घेरामा समेत राखेको छैन।

एसपी विष्ट र उनको कमाण्डमा रहेको प्रहरीले अनुसन्धानमा लापरवाही गर्नु र उनकै छोराको व्यवहार प्रतिवेदनमा शंकास्पद देखिनुको अर्थ के हुन्छ? के छोरा घटनामा प्रत्यक्ष संलग्न नभए पनि मतियार हुन्? 

यदि त्यसो हो भने घटनाबारे अनुसन्धान गर्न काठमाडौँबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीसमेत किन एसपी विष्टकै लाइनमा गए? यो प्रष्ट छैन। प्रतिवेदनमा जिसीको बयानसमेत राखिएको छैन। 
   
प्रतिवेदन बुझाउनु अघि समितिका सदस्य वीरेन्द्र केसीले अपराधीले आफ्नो र परिवारकै हत्या गर्न सक्ने खतरा रहेको भन्दै जीवन रक्षाका लागि समेत अपील गरेका थिए। को हो त त्यो शक्तिशाली अपराधी? प्रतिवेदनको ३५ औँ पेजमा एउटा सुझाव छ- विषयगत विज्ञहरुसमेत सम्मिलित विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने। 

प्रतिवेदन तयार पार्ने छानबिन समिति गृहमन्त्री स्तरको निर्णयबाट गठन भएको समिति हो। प्रतिवेदनमा विशेष अनुसन्धान टोलीको गठन गर्न सुझाइएको छ। यो मन्त्रिपरिषद्ले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार गठन गर्ने टोली हो। ३३ किलो सुन तस्करीको घटनामा सरकारले सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा यस्तो विशेष अनुसन्धान टोली गठन गरेको थियो। 

आश‌ंकित बम दिदीबहिनीहरुको पक्षमा सार्वजनिक रुपमै टेलिभिजनमा अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ‌ओली यस्तो टोली गठन गर्न सहमत होलान्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell