PahiloPost

Dec 15, 2018 | २९ मंसिर २०७५

एउटा अलग प्रदर्शनी : ६ कोठामा जीवनदेखि मृत्युसम्मको कलात्मक यात्रा 

एउटा अलग प्रदर्शनी : ६ कोठामा जीवनदेखि मृत्युसम्मको कलात्मक यात्रा 

स्वेच्छा राउत/पहिलोपोस्ट


आनन्द शुभमले  सन् २००३ देखि २०१७ सम्मको समय ओशो तपोवनमा बिताए। २१ वर्षको उमेरमा विलासिताको जीवन छोडेर ध्यानमा मग्न भएका उनले बिर्सेका थिए 'आफूभित्रको चित्रकार'। 

'फर्केर आएपछि कलम, कुची, क्यानभास र रङहरु समाएँ। म चित्र बनाउनुमा खुब रमाउँछु,' उनी सुनाउँछन्। सानैदेखि चित्रकलामा रुचि राख्ने उनले एक वर्षमा धेरै चित्रहरु कोरे। प्रायः हरेक काम आफ्नो लागि, आफ्नो तरिकाले गर्ने उनले यसपटक भने आफ्नो कल्पनशीलता र चित्रहरुलाई आफैसँग सीमित राखेनन्। ती चित्रहरु उनले प्रदर्शन गर्ने भए।  

तर, शुभमलाई प्रदर्शनीमात्र गर्नु थिएन। आफ्नो चित्रहरुमार्फत् केही संदेश प्रवाह गर्नु थियो। 'म कलाको माध्यमबाट नै मान्छेभित्रको कलाको महत्व बुझाउन चाहन्थेँ,' उनी आफ्नो उद्देश्यबारे भन्छन्, 'त्यो कला जसलाई हामीले समयको नाममा, पढाई, करियर, जिम्मेवारी, समाज आदिको नाममा दबाउँछौं।' 

*** 
स्थान बबरमहल, नेपाल आर्ट काउन्सिलको माथिल्लो तल्ला। 

कोठा नं १ 
यहाँको भित्ता रङ र कलमको केरमेटले फोहोरी देखिन्छ। चार्ट पेपरमा बनाइएका केही चित्रहरु छन् ती प्रष्ट भए पनि केका आकृति हुन् ठम्याउन सकिँदैन। केही बालबालिका त्यही चित्रहरुमाथि कोरेर रमाइरहेका छन्। 


'यो स्वच्छन्दताको कोठा हो। यहाँ बाल मस्तिष्क प्रतिबिम्बित हुन्छ। उनीहरु के, कसरी सोच्छन् भन्ने देखाउन खोजिएको छ, ' शुभम् बोल्दै गर्दा उनकी पार्टनर भुषिता वशिष्ठ आउँछिन् र थप्छिन्, 'यो चित्रहरु उसले बनाएको हो।' 

उनले भित्तामा टाँसिएका केही सुन्दर चित्रहरु इंकित गर्छिन्। ती चित्रहरुले शुभमले बाल्यकालमा बनाएका हुन्। जसलाई उनको अभिभावकले सम्हालेर राखे।
 
कोठा नं २ 
यहाँका भित्ताहरुमा चित्र छैन। परीक्षामा जाँचिएका कापीहरु छन् जसमा निलो मसीले लेखिएको छ र रातो कलमले ठूला ठूला टिक लगाएर २, ४, ६, ८ नम्बर दिइएको छ। वरपर टाँसिएका कापीका पानाहरुबीच घडी झुण्ड्याइएको छ। 

भुषिताले प्रष्ट्याइन्, 'आखिर हामीलाई समयले बाँध्ने न हो। हुर्काइसँगै जब हामी स्कूल जान थाल्छौं तब हाम्रो बुझाइ र जिज्ञासालाई आकार दिन थालिन्छ। जब हाम्रो बुझाइले आकार र सीमा पाउन थाल्छ तब हाम्रो कल्पनाशीलता र कला हामीले प्राप्त गर्ने अङ्कमा सीमित हुन्छ।' 
सँगै रहेका शुभम् सहमतिको संकेत दिन्छन्। 



उनले जे अनुभूत गरे त्यही प्रदर्शनमा राखे। यदि उनको कलालाई पढाइको नाममा, स्कूलको नियमहरुमा बाँधिदैन थियो भने कोठा नम्बर दुईमा पनि पहिलो कोठामाजस्तै चित्रहरु टाँसिएको पाइन्थ्यो। अझै निखारिएको, अझै प्रष्ट चित्रहरु। 

लगनखेलका स्थानीय उनलाई ८ वर्षको हुँदा होस्टल पठाइयो। वीरेन्द्र सैनिक स्कूल भक्तपुर पुगेपछि हो उनले आफू खुम्चिएको महसुस गरेको। 'त्यो उमेरमा मलाई नियमले बाँधियो। कडा सजायको नामले तर्साइयो। त्यहाँ मैले हरेक कुरा समयमा गर्न सिकेँ। तर, आफ्नो लागि केही गर्न सिकिनँ। टिचर वा प्यारेन्टस् खुशी हुने मार्क्स ल्याउन सिकेँ तर आफू खुशी हुने काम गर्न पाइनँ,' उनी सम्झन्छन्। यसरी ३ वर्ष आफू चित्रकला र रहरसँग टाढा बनाइएकोमा उनी दु:खी थिए। 

र, यो सबै अरु कुनै पनि बालबालिका माथि नहोस् भन्ने चाहन्छन्। 'सामान नचलाउने होइन चलाएपछि सही ठाउँमा राख्ने हुर्काइ दिन आवश्यक छ,' उनले सुनाए।

कोठा नं ३ 
यहाँ शुभम् का युवावस्थाका सामानहरु छन्। नियम तोड्न सिकेपछि बनाएका चित्रहरु, भावना अभिव्यक्तिका लागि लेखेका गीत, कविताका पुरानो डायरी, उनको संगीतप्रतिको रुचि झल्काउने सामाग्रीहरु-क्यासेट प्लेयर, क्यासेटहरु। 



'यहाँ रहरले बाँचेको समयको यादहरु छन्,' चिटिक्क सजाइएका चित्रका फ्रेमहरु छुँदै भन्छन्। यो कोठामा उनका मीठा नमीठा दुवै अनुभवसँग जोडिएका सामान छन्। जोसँग उनले धेरै समय बिताउनै पाएनन्। किनकी उनीमाथि करियर, जिम्मेवारी, कमाइ, परिवार, समाजप्रतिको जिम्मेवारीबारे प्रश्न उठ्न थाल्यो। 

'मान्छेभित्र फूल्दै गरेको फूललाई हामीमाथि थोपरिने जिम्मेवारीले थिच्छ, हुर्कनै दिँदैन,' शुभम् आफ्नो अनुभव 'हामी'सँग रिलेट गराउँछन्। भन्छन्, 'यो मैले मात्र होइन सबैले भोग्नु पर्ने बाध्यता हो।' 

कोठा नं ४ 
यो कोठामा कचरा र फाल्तु वस्तुहरु छन्। तर, यही कोठा सबैभन्दा सुन्दर देखिन्छ। सुन्दर बनाउन चित्रकारले रङहरुको प्रयोग गरेका छन्। फालिएको चश्मा, वासिङ मेसिनको डिब्बामा आएको प्लास्टिक, रङका खाली डब्बाहरु, फालिएका ब्रस, इम्लीको बोक्रा, बिल, चुरोटका ठूटा र बट्टा आदि काम नलाग्ने सामानहरुले सजाइएको कोठालाई उनले विम्ब बनाएका छन्। 

'हामी कसरी अर्थहीन कुराहरुमा रमाइरहेका छौं त्यो देखाउन खोजेको हुँ,' उनी अझै बुझाउन कोसिस गर्छन्, 'सतह र देखावटीपनले हामीभित्रको कलालाई मारेको छ। हामी गुदी अर्थ खोज्दैनौं बोक्रा पाएर खुशी हुन्छौं। त्यही बोक्रालाई बढी मूल्य दिन्छौं। अनि हामी मध्येकै एक म चाहिँ यस्तै अनावश्यक वस्तुमा सुन्दरता खोज्दै छु।' 

भुषिता बोल्छिन्-  'त्यसैले ऊ आर्टिस्ट होइन डर्टिस्ट हो।' 

कोठा ‌नं ५ 
मृत्युको कोठा। यो कोठा शुभम् को जिन्दगीको यस्तो अवस्थाको प्रतीक हो जसले उनलाई १४ वर्ष परिवार, समाज, विलासिताको जीवनबाट पर राख्यो। 



सन् २००२ मा पढ्नका लागि भनेर अमेरिका पुगेका उनी त्यहाँ पनि रमाउन सकेनन्। किनकि उनी नियममा बाँधिन नचाहने मान्छे न रहे। नेपाल फर्किए र तपस्यामा निस्किए।

'मैले महसुस गरेँ – 'हरेक कुराको अन्त्य हुन्छ। केही पनि सधैं उस्तै रहँदैन यो सत्यलाई स्वीकार्नुपर्छ।'

कोठा नं ६ 
एक वर्षअघि उनी शहर फर्किए। फर्किएपछि पुन: आफ्नो डायरी हुँदै क्यानभासमा रङ पोत्न थाले। केही चित्र फ्रेम गरे केही गरेनन्। तिनै चित्रहरुले यो कोठा भरिएको छ। यो अन्य कोठाहरुभन्दा फराकिलो र उज्यालो लाग्छ। यहाँ शुभमले आफूभित्रको कलाकारलाई चाहेजसरी सजाएका छन्। 

'यहाँसम्म आइपुग्दा मैले आफूलाई चिन्न र ब्युँझाउन आवश्यक महसुस गरेँ। त्यसैले 'वेक' नाम दिएर यो प्रदर्शनी आयोजना गरेको हुँ,' उनले भने।


*** 
यो प्रदर्शनी फरक छ। किनकि यो चित्रकला मात्र नभएर कसैको जीवनको अनुभव र कलाका अन्य विधा प्रदर्शनी पनि हो। यहाँ चित्रसँगै संगीतसहितको नाटक देखाइन्छ। तर त्यसका लागि साँझ साढे पाँच बजेसम्म कुर्नुपर्छ। आर्ट काउन्सिलको पहिलो तल्लामा 'इन्टरयाक्टिभ पर्फर्मेन्स आर्ट' हुन्छ। यसमा अभिनय गर्ने कलाकारहरु पहिलो कोठादेखि अन्तिम कोठासम्म यात्रा गर्छन्। 

बाल्यकालदेखि युवावस्था हुँदै जिम्मेवारी र मृत्युसम्मको घटनाक्रम एक-एक कोठामा प्रस्तुत गरिन्छ। नाटकमा एउटा कलाकारको मनोद्वन्द्व पनि देखाइन्छ। जहाँ कलाकारको दिमागमा कला र पैसाको महत्वबीच लडाई हुन्छ।

प्रदर्शनी हेर्न पुगेकाहरुलाई अनौठो लाग्न सक्छ, किनकि कलाकारहरु दर्शकसँगै कुरा गर्छन्। दर्शकलाई आफूसँगै नाटकको कलाकार बनाउँछन्। 
'हामीले कलाकार र दर्शकबीचको लक्ष्मण रेखा मेट्न खोजेका हौं,' उनले भने।

नाटकमा कलाकारहरु आनन्द शुभम्,  भुषिता वशिष्ठ, मिलन न्यौपाने, रुबिना केसी, निस्छल प्रधान, मिनुषा महर्जन, आकृत श्रेष्ठ, सुगम श्रेष्ठको अभिनय रहेको छ। 

नाटकको संगीत र गीतमा प्रसोङ रुप्चा र प्रशन्न शाहले काम गरेका छन्। त्यस्तै भुषिताको छन्द कवितात्मक प्रस्तुति पनि छ। प्रदर्शनी १२ अक्टोबरसम्म चल्नेछ।
 


ट्रेन्डिङ पोस्ट