PahiloPost

Dec 15, 2018 | २९ मंसिर २०७५

मिलन सिजापतीको शरीर सबैभन्दा सुगठित, बने १५औँ धर्मश्री च्याम्पियन

मिलन सिजापतीको शरीर सबैभन्दा सुगठित, बने १५औँ धर्मश्री च्याम्पियन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : पूर्व विजेता तथा एसियन बलिबिल्डिङको समेत गोल्ड मेडलिस्ट महेश्वर महर्जनलाई पछि पार्दै मिलन सिजापती १५औँ धर्मश्रीको विजेता बनेका छन्।

नेपाल व्यायाम मन्दिरले आयोजना गरेको १५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा अन्य ६ तौल समूहमा विजेतालाई पछि पार्दै व्यायाम मन्दिरकै मिलन च्याम्पियन बनेका हुन्। मिलन त्यसअघि ८० केजी तौल समूहमाथि विजेता बनेका थिए।

१३औँ संस्करणका च्याम्पियन महेश्वरले कडा टक्कर दिएपछि मिलनले आफ्नो शरीरलाई आकर्षक रुपमा प्रस्तुत गर्दै सबैभन्दा सुगठित शरीरको मान्यता दिलाउन सफल भए।

पहिलो पटक धर्मश्री च्याम्पियन बनेका मिलनले नगद ५ लाख, ट्रफी र ब्यानेट प्राप्त गरे। नेपालको शारीरिक सुगठनको इतिहासमा यो सबैभन्दा ठूलो नगद राशी हो। उपराष्ट्रती नन्द बहादुर पुनले मिलनलाई ट्रफ्री प्रदान गर्दै ब्यानेट लगाइदिए।

यस वर्ष मिलनको यो लगातार दवस्रो उपाधि हो। यसअघि उनले पोखरामा भएको तेस्रो मिस्टर बुल्सम्यानको समेत उपाधि जितेका थिए।

दोस्रो भएका महेश्वरले नगद २ लाख, ट्रफी हात पारे। महेश्वरले ८० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पहिलो स्थान हात पारेका थिए।

यस्तै नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल तेस्रो भए। ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका दाहालले नगद १ लाख हात पारे।

सेप टु ढल्कोका प्रवेश श्रेष्ठले चौथो हुँदै नगद ९० हजार र ट्रफी प्राप्त गरे। उनी ७५ केजी तौल समूहमा प्रथम भएका थिए। यस्तै ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नेपाल व्यायाम मन्दिरका संजीव श्रेष्ठ पाँचौ भए। उनले नगद ८० हजारसहित ट्रफी प्राप्त गरे।

व्यायाम मन्दिरकै आशिष देवाजु र सुरेश खत्री क्रमश: छैटौँ र सातौँ भए। ६० केजी तौल समूहका आशिष देवाजुले ७५ हजार ट्रफी तथा ५५ केजीका सुरेश खत्रीले नगद ६० हजार सहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताको ५५ केजीमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर दोश्रो र मसल मेनियाका अवाज प्याकुरेल तेश्रो भए।

६० केजी तौल समूहमा फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ र नेपाल ब्यायाम मन्दिरका सुजन तामाङ दोश्रो र तेश्रो भए।

६५ केजी तौल समूहमा फिटनेश फस्टका रोजिन बज्राचार्यले दोश्रो र फिटनेश स्टुडियोका सुपेन डङ्गोलले तेश्रो भए।

७० केजी तौलमा अक्सफोर्ड जिमका समिर श्रेष्ठ दोस्रो र सेप टु ढल्कोका उज्जल राज बज्राचार्य तेस्रो भए। ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल दोश्रो र रिभर फिल्ड फिटनेशका अशोक महर्जन तेश्रो भए।

८० केजी तौलको समूहमा फिटनेश स्टुडियोका प्रविन शाही दोस्रो र सेप टु ढल्कोका विशाल कँडेल तेस्रो भए।

यसैगरि ८० केजीमाथी 'हेभीवेट' तौल समूहमा नेपाल ब्यायाम मन्दिरका ग्रिस महर्जन दोस्रो र कम्पिल्टि हेल्थ क्लबका अनोज मास्के तेस्रो भए।

सातवटै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश: नगद ३० र २० हजार, मेडल हात पारे।

विजयी खेलाडीहरुलाई उपराष्ट्रपती नन्द बहादुर पुन, पूर्व रक्षामन्त्री तथा ससासद भिमसेन दास प्रधान लगायतले पुरस्कार वितरण गरेक थिए।

प्रतियोगितामा वर्ल्ड च्याम्पियनसिप, एसियन च्याम्पियनसिपको उपाधि जितिसकेका भारतका संग्राम चाउगोले समेत उपस्थित थिए। उनले आफ्नो आकर्षक शरीरलाई दर्शकसामु प्रस्तुत समेत गरे। 

२०४२ सालमा १५ हजार पुरस्कार सुरु गरिएको धर्मश्री प्रतियोगिताले तीन दशक पार गर्दा शारिरीक सुगठनमा सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता भएको छ।

यसैगरी व्यायाम मन्दिरले नेपालको शारीरिक सुगठनमा योगदान पुर्‍याए वापत शिवलाल श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। उपराष्ट्रपति नन्द बहादुर पुनले श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरे। श्रेष्ठलाई नगद ५५ हजार समेत प्रदान गरियो।

भारतका संग्राम चाउगोले


ट्रेन्डिङ पोस्ट