PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई सय धरौटीमा छुट्ने केसमा दुई युवकको मृत्यु : मूलपानी जुवाडे 'अप्रेसन’ मा उठेको शंका 



सविन ढकाल

दुई सय धरौटीमा छुट्ने केसमा दुई युवकको मृत्यु : मूलपानी जुवाडे 'अप्रेसन’ मा उठेको शंका 

काठमाडौँ : शुक्रबार राति अबेर खबर आयो- मूलपानीस्थित जुवा खेलिरहेको एउटा घरमा प्रहरीले छापा मार्दा साढे तीन तलाबाट हाम्फालेर भाग्न खोज्दा दुई जना घाइते भए। प्रहरी स्रोतबाट आएको खबरमा दुवै ‘सिकिस्त’ भएको भनिएको थियो। 

शनिबार बिहानसम्ममा ती दुई जना युवकको मृत्यु भएको खबर पुष्टि भयो।

जुवा खेलेको अभियोगमा गिरफ्तार भएकाहरुलाई अदालती प्रक्रियामा मुद्दा नै चलाइए पनि दुई सय रुपैयाँ धरौटीमा रिहा भएका उदाहरण छन्। दुई सय रुपैयाँ धरौटीमा रिहा हुन सक्ने केसमा दुई जनाको ज्यानै जाने स्थिति कसरी बन्यो?
    

कस्तो छ घटनास्थल?

काठमाडौँको कागेश्वरी मनोहरा वडा नम्बर ७ मूलपानीस्थित सेतो र हरियो रङ्गको चिटिक्क परेको साढे तीन तले घर। घरको दोस्रो तलामा जुवाको खाल बसेको थियो। त्यसभन्दा माथि भान्छा छ। ती दुई जनाले भान्छा भएको तलाबाट नै हामफालेको प्रहरीको दावी छ। 

जुवा खेलेको दोस्रो तलामा शनिबार बिहान पुग्दा केही रगत देखिएको छ। भूईँ तथा कोठामा रहेको दराजमा रगत लत्पतिएको छ। 

कोठामा रगत कसरी आयो? के प्रहरी र जुवाडेबीच कुनै झडप भयो? के प्रहरीले जुवाडेलाई कुटपिट गरे? वा भागदौड हुँदा ठोक्किएर दुर्घटना भयो? यी कुरा प्रष्ट भएका छैनन्। 

‘कुनै पनि अप्रेसनमा जाँदा प्रहरीले योजना बनाएर तयारीका साथ जानुपर्ने हुन्छ’, लामो समय अपराध अनुसन्धानमा समय बिताएका एक पूर्व प्रहरी अधिकारी भन्छन्, ‘अपराधीहरू भाग्ने सम्भावित स्थानको पहिचान र उनीहरूले आफ्नो आत्मरक्षाका लागि अपनाउन सक्ने विधिबारे पनि प्रहरी जानकार हुनुपर्छ।

उनी भन्छन्, 'योजना पूर्णरुपमा कार्यान्वयन नभई प्रहरीको लापरबाही हुँदा अप्रेसनमा यस्ता घटनाहरूसमेत हुने गर्छ।' 

स्थानीय प्रहरीसँग समन्वय नै गरिएन

महानगरीय प्रहरी वृत्त बौद्ध अन्तर्गत पर्छ घटना भएको स्थान मूलपानी। तर बौद्ध प्रहरीले भने घटना भएको पत्तै पाएन। परिसरको टोलीले पनि स्थानीय प्रहरीलाई जानकारी नै दिएन। 

डिएसपी होमेन्द्र बोगटीको नेतृत्वमा महानगरीय प्रहरी परिसरबाट खटाइएको बिना वर्दीको (सिभिल) टोलीमात्रै घटनास्थलमा पुगेको थियो। टोलीमा १६ जना थिए। डिएसपी श्याम राईको नेतृत्वमा रहेको बौद्ध प्रहरीमाथि नै ‘शङ्का’ भएपछि स्थानीय प्रहरीलाई सुइँको नदिई परिसर आफै अप्रेसनका लागि अग्रसर भएको स्रोत बताउँछ। परिसर प्रमुख वसन्त लामाले पनि स्थानीय प्रहरीलाई जानकारी नदिएको स्वीकार गरे। 

कसरी भयो घटना?

केही समयदेखि घरभित्र मिनी क्यासिनो नै सञ्चालन भइरहेको खबर प्रहरीकहाँ पुगेको थियो। प्रहरीका अनुसार हेमा गुरुङले जुवाको कारोबार गराउने गरेकी थिइन् भने घरधनी तेन्डु शेर्पाले दैनिक १० हजार रुपैयाँ भाडा लिएर जुवा खेलाउन घर दिएका थिए। 

घरभित्र १५ देखि २० जना भेला भएर दैनिक लाखौँको जुवा चल्थ्यो। शुक्रबार राति पनि सधैँझै जुवाको खाल बस्यो। प्रहरी खालमा छापा हान्ने मौकाको खोजीमा थियो। साइत जुर्‍यो शुक्रबार रातिलाई।

छापा मार्न टेकुबाट हिँडेको टोली करिब साढे ९ बजेतिर मूलपानी पुग्यो। प्रहरीले चारैतिरबाट घर घेरा हाल्यो। घरको दोस्रो तलाको च्यानल गेटमा चाबी लगाइएको थियो। प्रहरी चाबी काट्न थाल्यो। जुवा खेलिरहेकाहरूले चाल पाइहाले।  भागदौड मच्चियो। 

छापा मार्ने टोलीको नेतृत्व गरेका डिएसपी बोगटीले भन्छन्,'हामीले गेटको ताल्चा काट्न थाल्दा जुवा खेलिरहेकाहरूबीच भागदौड भयो। दुई युवकले आत्तिएर छत माथिबाट हाम फाले। गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लगिएको हो।' 

शनिबार बिहानै काठमाडौँका ४३ वर्षीय सरोज घले र सिन्धुपाल्चोक इन्द्रावती वडा १ सिङ्पाल काभ्रेका ३८ वर्षीय सोमलाल तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गर्‍यो। तामाङ गाडी चालक हुन्। त्यस दिन तामाङ १० हजार रुपैयाँ बोकेर जुवा खेल्न पुगेका थिए। 

शंकाका आधार

घटनामा ज्यान गुमाएका सोमलाल तामाङका काका मिङमार लामाले शंकास्पद मृत्यु भएको दावी गर्दै छानबिनका लागि परिसरमा शनिबार निवेदन दिने जानकारी दिएका छन्।

जुवाको खाल बसेको दोस्रो तलाको भूईँ तथा कोठामा रहेको दराजमा लत्पिएको रगतले प्रहरीले सुनाए जस्तै गरी घटना भएको हो कि हैन भन्नेमा शंका गर्ने आधार छ। प्रहरीले चाबी काटिरहेको थाहा पाउने बित्तिकै भान्छा रहेको तलामा उक्लिएर हाम्फालिहाल्नु पर्ने कारण किन आयो?

जुवाको खाल बसेको घरसँगै जोडिने गरी अर्को घर रहेको छ। अर्को घरमा पुग्ने गरी हाम्फाल्दा दुई घरको बीचमा रहेको खाली ठाउँमा खसी उनीहरुको मृत्यु भएको प्रहरीको दावी छ।   

त्यसैगरी प्रहरीले २३ जनालाई नियन्त्रणमा लिँदा एक महिला भाग्न सफल भइन्। भाग्न सफल महिला नै जुवा सञ्चालन गर्ने मुख्य नाइके थिइन्। सबै पक्राउ पर्दा महिला नै कसरी भाग्न सफल भइन्? प्रहरी कै संरक्षणमा उनले जुवा खेलाउने गरेको प्रहरी स्रोतकै जानकारी छ। सबै जना नियन्त्रणमा आउँदा उनी फरार हुनुले प्रहरी माथि थप शङ्का उत्पन्न गराएको छ। 

तर परिसरका प्रमुख एसएसपी वसन्त लामा भन्छन्, 'टोली आएको थाहा पाएपछि भागदौड भयो, कोही पानीको ट्याङ्ककीमा छिरे, कोही खाटमुनि। हामीले देखे जति र भेटे जतिलाई समातेका हौँ। दुई जना हाम फालेकालाई रेस्क्यू गर्दा भागे छन्।' 

फरार महिला गुरुङले साथमा १० देखि १५ लाख रुपैयाँ लिएर भागेको पक्राउ परेकाहरूले प्रहरीमा बयान दिएका छन्। उनीहरूबाट प्रहरीले ४ लाख ५८ हजार रुपैयाँ पनि जफत गरेको छ। त्यस्तै मदिराका बोतल, कौडासमेत बरामद भएको प्रहरीले जनाएको छ। फरार महिलाको खोजी भइरहेको एसएसपी लामाले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell