PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खोटाङको खोलाछेउ सरिताले बिर्साइन् आमिर खानको ‘थ्री इडियट्स स्टाइल’



स्वेच्छा राउत

खोटाङको खोलाछेउ सरिताले बिर्साइन् आमिर खानको ‘थ्री इडियट्स स्टाइल’
आमा, बच्चा र इन्सेटमा सरिता गिरी। फोटो उनको फेसबुकबाट साभार

सर्ट फिल्म छायांकनका लागि खोटाङ पुगेकी नाट्यकर्मी सरिता गिरीको यस पटकको यात्रा फरक रह्यो। फरक यो अर्थमा - उनले कसैको डेलिभरी गराइन्। 

हिन्दी फिल्म थ्री इडियट्समा आमिर खानले बच्चा डेलिभरी गराएको दृश्य थियो। आँधीका कारण बत्ती निभेको र बाटो बन्द। प्रोफेसरकी छोरीलाई प्रसव पीडा सुरु। के गर्ने? उपाय केही थिएन। ल्यापटपको स्क्रिनमा वेबक्याममा जोडिएका करीना कपूरको निर्देशन अनुसार आमिर खानले डेलिभरी गराउँछन्। 

ठीक यस्तै स्थिति भोगिन् सरिताले। तर आमिर खानले फिल्ममा ‘रिल डेलिभरी’ गराएका थिए। सरिताले वास्तविक जीवनमा 'रियल डेलिभरी' गराइन्। फिल्ममा जस्तो कम्प्युटर र वेबक्याम कहाँ पाउनु  खोटाङको खोलाछेउमा ! 

'आफै अविवाहित। यो सब मेरो लागि नौलो कुरा थियो तर मैले गरें। किनकि त्यहाँ दुईवटा जिन्दगी तलमाथि हुन सक्ने अवस्था थियो', उनी सुनाउँछिन्। 

घटना असोज १४ गते आइतबारको हो। सरिता गिरी, जीवन बराल लगायतको टोली खोटाङको निर्मली डाँडाबाट फर्कँदै थियो। तोकिएको समयभन्दा ढिला गरी आएको हायसले उनीहरुको पर्खाइमा कुनै उत्साह थपेन। बरु काठमाडौं पुग्दारात छिप्पिने पिरलोले पो मुर्मुराएको थियो। 

ड्राइभर, यात्रु आफ्नै धुनमा। गीत एकसुरले बजिरहेको थियो। लगभग डेढ घण्टाको यात्रापछि माइक्रो रोक्कियो। उनीहरुलाई लागेको थियो- फ्रेस हुनका लागि हो। तर ड्राइभरले सबैलाई ओर्लिएर केही समय पर्खन निर्देशन दिए। 

'त्यस्तोमा हामीलाई रिस उठ्नु स्वभाविक थियो। तर रेफर गरिएको बिरामी लिन जाने भनेपछि १० मिनेट थप कुर्नु ठूलो कुरा होइन भन्ने भयो', उनी थप्छिन्, 'हामी माइक्रो गएकै बाटो तिर पटकपटक हेर्दै थियौं।' 

त्यहाँ पुन: २ घण्टा पर्खनु पर्‍यो। उनीहरुले थाहा पाए प्रि-डेलिभरी केस भएकाले खोटाङ जिल्ला अस्पताल दिक्तेलले एक युवतीलाई काठमाडौं लान सुझाव दिएको छ। उनैलाई लिन गएको थियो हायस। 

जब २०, २१ वर्षकी युवती प्रसव वेदनाले छट्पटाइरहेको अवस्थामा देखा परिन्, पर्खँदाको रिस मरेको बताउँछिन् सरिता। बरु माइक्रोका अन्य यात्रु नै बिरामीको रेखदेखमा लागि परे। 

'२० वर्षकी श्रीमती लिएर हिँडेको २२ वर्षको श्रीमान्। माया लाग्यो। हाम्रै काखमा सुताएर उसलाई सहज तरिकाले ल्याउने कोशिश थाल्यौं', केही निराश भएर सुनाउँछिन्, 'नर्मल मान्छेलाई त यात्रा कष्टकर हुने बाटोमा कसरी यो अवस्थाको बिरामी पठायो होला? अस्पतालले गैर जिम्मेवार व्यवहार गरेको महसुस भयो। तर त्यस्तोमा आक्रोश पोख्नुभन्दा महत्वपूर्ण थियो, अवस्था सम्हाल्नु।' 

सरिताले गाइनोकोलोजिस्ट अरुणा कार्कीलाई डायल गर्दे थिइन्। तर फोन उठेन। हलेसी मन्दिरलाई बहिनीलाई केही नहोस् भन्ने कामना गरिन्। भन्छिन्, 'यस्तोमा त आस्था र विश्वासले पनि काम गरेको महसुस हुने रहेछ।' 

'सबै कुरा सपनाजस्तै भइरहेको थियो। म चाहन्थें केही जादु होस्।' 

कहिले अकुपंचर दिंदै, कहिले गाडी रोक्दै, थुम्थुमाउँदै बिरामीको ख्यालमा जुटेका थिए सबै। अचानक व्यथाले च्याप्यो। रगत बग्न थाल्यो। गाडीको उफ्राइ र गर्मीले झनै गाह्रो बनाएको थियो। 'प्याड लगाइदियौं। तातो खुवाउन घुर्मी बजारमा गाडी रोक्यौं।'

सुप खुवाएर गाडी केही मिटर गुडेको मात्र के थियो, बिरामी कराइन्- 'मेरो बच्चा जन्मियो गाडी रोक्नुस्।' सबै आत्तिए। साँझको ६:४० भएको थियो। अँध्यारो। त्यसमाथि गाडी रोकिएको थियो ट्याम्के खोलामा। 

सरिताले युवतीको ट्राउजर खोलिन्। बच्चाको टाउको देख्दा उनी झनै आत्तिइन्। र,  पुन: डा. अरुणा कार्कीलाई नै फोन गरिन्। यो पटक फोन उठ्न समय लागेन। उनले हत्तपत्त घटनाको बेलिबिस्तार लगाइन्। 

डा. कार्कीले सुरुमै भनिन्- नआत्तिनू।  त्यसपछि बल्ल उनलाई यो आफ्नो जिम्मेवारी हो भन्ने महसुस भयो।

डा. कार्कीले फोनमै दिएको निर्देशन अनुसार हात धोइन्। बच्चा निकाल्न अप्ठ्यारो अवस्था थियो। अन्धकारले झन् गाह्रो बनाएको। अर्का कलाकार जीवन बरालले सबै यात्रुको मोबाइलको लाइट बाल्न लगाए। केही उज्यालो भयो। बच्चा निकालेर न्यानोमा राखे। 

'नाभी काट्न डोरीदेखि कैँचीसम्म खोज्न पर्ने अवस्था थियो। तनाव बढ्यो। तर सबैले साथ दिए। सँगै गएकी बहिनीले धागो खोजेर ल्याइन्। प्यासेन्जरमध्य एकले नयाँ ब्लेड दिए। त्यसैबाट नाभी काटिदियौं', यति भनिसक्दा सरिता खुशी सुनिन्छिन्। 

तर, उनको साल ननिस्कनुले चिन्ता सकिएको थिएन। डा. कार्की फोन सम्पर्कमै थिइन्। एक हातमा बच्चा अर्कोमा फोन, सरिता नर्स बनेकी थिइन्। अन्य यात्रुले उनलाई गाली गर्दै थिए। नगर्न भन्दै थिए तर उनले मानिनन्। 

'त्यहाँ जे पनि हुन सक्थ्यो। आमा बच्चामध्ये कसैलाई केही भएको भए सबै दोष मेरो टाउकोमा आउन सक्थ्यो। तर चुप लागेर हेर्नु झनै गलत हुन्थ्यो', उनी आफ्नो कुरा राख्छिन्। 

डा. कार्कीले भने अनुसार पेटमा छाम्दा महसुस भएको डल्लोलाई बिस्तारै थिच्न थालिन्। केही समयपछि साल पनि निस्कियो। माइक्रो बाहिर हात धुन निस्किएकी गिरीले युवतीका पतिलाई देखिन्। आँखाभरी आँसु लिएर उनी फोनमा बोल्दै थिए। भने,'आमा मेरो बच्चा त खोलामा जन्मियो।' 

आफू खुशी र सन्तुष्ट भएको सुनाउँछिन् गिरी। त्यो जोडीको खुशीमा आफूपनि साथै हुन पाएकोमा। आफूले पनि खुशी हुनको लागि केही सहयोग गर्न पाएकोमा। 

उनीहरुले घुर्मीको स्वास्थ्य चौकीबाट एम्बुलेन्स मगाएका थिए। आयो। 'तर सामान्य औषधीहरु पनि नभएको खाली डिब्बा गुड्दै आएको देखेर पुन: एकपटक छक्क परें। लाग्यो, यस्तो लापरवाही?'

खुशी, थकान र आँसु मिश्रित अनुहारमा आमा बुवा बनेका ती जोडी छोरा लिएर गए। सबै मिलेर माइक्रो सफा गरे र लागे काठमाडौंतर्फ। 

'नाम र ठेगानासमेत सोध्न पाइएन। त्यस्तो थियो अवस्था। कहाँ गए होलान्। आमा र बच्चालाई कस्तो छ होला', गिरी मनमा खेलिरहेका कुराहरु व्यक्त गर्छिन्। भनिन्,'कति गाह्रो छ है हामीलाई। आमा बन्न पनि।' 

फर्किएदेखि उनलाई एउटै प्रश्नले खेदेको छ- कस्तो है हामीले पाउने स्वास्थ्य सेवाको अवस्था? 

'व्यथा लागेकी युवतीलाई खोटाङबाट काठमाडौं रेफर गर्छ। न बाटो सहज छ, न गाडी समयमा पाइन्छ। एम्बुलेन्सको नाममा खाली डिब्बा कुदाउँछन्', आफू छक्क परेको जनाउँदै भन्छिन्,'सबैलाई उनलाई जस्तै भाग्यले साथ दिंदैन नि।' 

उनी यस्तो लापरवाही र गैरजिम्मेवारीको साक्षी बस्न नपरोस् भन्छिन्। 'हामी दख्नेलाई गाह्रो भयो। भोग्नेलाई कस्तो होला?' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell