PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालः जहाँ डाक्टरलाई भेट्न सिडिओलाई फोन गर्नुपर्छ 



एम बम

सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालः जहाँ डाक्टरलाई भेट्न सिडिओलाई फोन गर्नुपर्छ 

कैलालीः धनगढी उपमहानगरपालिका ४ उत्तरवेहडीका धर्मराज जोशीले शुक्रबार अपरान्ह् ४ बजे सुत्केरी व्यथा लागेपछि श्रीमतीलाइ सेती अञ्चल अस्पताल पुर्‍याए। श्रीमतीलार्इ व्यथा बढ्दै गयो तर, डाक्टरहरु भने देखिएनन्।

ओजेटी गर्न आएका विद्यार्थी नर्सहरुकै भरमा उनलार्इ छोडिएको थियो। रातभर कुरेर दोश्रोदिन बिहानसम्म पनि डाक्टर नआएपछि जोशीलार्इ अचम्म लाग्यो र डर पनि। बल्लतल्ल दोश्रो दिन बिहान १० बजे एक जना डाक्टर आए। सामान्य परिक्षण गरेर ती डाक्टर पनि गए।

सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पताल हो सेती अञ्चल अस्पताल। पहाडी जिल्ला र तराइकाे कैलालीसँग जोडिएको कञ्चनपुर जिल्लाका बिरामीसमेत यहाँ आउने गर्दछन्। सरकारी स्वीकृत प्राप्त ५० बेड र अस्पताल विकास समितिले थप गरेको ७५ बेडसहित १ सय २५ शैयाको सेती अञ्चल अस्पतालमा स्वास्थ्य सेवाको प्रभावकारीता भने कायम नभएको यो घटनाले देखाउँछ।

समस्या यति मात्र रहेन। श्रीमतीलार्इ व्यथाले च्याप्दै गए पनि डाक्टर आएनन्। शनिबारको दिन जोशीले अन्य केही विकल्प नदेखेपछि सिडिओलाइ फोन गरे।  उनले श्रीमतीको अवस्था र अस्पतालको लापरबाही सिडिओलाई सुनाए। केही घण्टा कुरेपछि फेरि पनि अस्पतालमा डाक्टर आएनन्। उनले सिडिओलाई  फेरि फोन लगाए। 

दुई पटक सिडिओलाई फोन लगाएपछि सिडिओले अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डाक्टर हेमराज पाण्डेलार्इ फोन गरे। पाण्डेलाई सिडिओको फोन आएपछि उनले बिरामी भर्ना भएको झण्डै २४ घण्टापछि प्रसुती वार्डमा डाक्टर पठाए। दोश्रो दिन साढे ५ बजे पछि डाक्टरले हेरचाह गरे र साढे ६ बजे जोशीले नयाँ सन्तान पाए। 

बिरामी पुर्‍याउँदा डाक्टर नभेटीनु अस्पतालको चरम लापरबाही रहेको जोशीको आरोप छ। जोशीले भने ‘ यति ठुलो अस्पताल  अभ्यास गर्न आएका नर्सहरुका भरमा चलेको छ।’ सोही वार्डमा भेटिएका अत्तरीया निबासी जयराज जोशीले पनि अस्पतालमा चरम लापरवाही रहेको गुनासो गरे। ‘धनगढीकै स्थानीयले यत्रो बलगरेपछि सेवा पाउँछन्, बाहिरी जिल्लाबाट आएकाहरुको हालत कस्तो होला ?’ उनको प्रश्न थियो ।
 

मेसुले उक्त बिषयमा बोल्न मानेन्

अस्पतालमा देखिएको लापरबाही, जोशीको समस्या र अन्य सुधारका बारेमा कुरा गर्न खोज्दा पाण्डेले कुरा गर्न मानेन्। ‘हाम्रो सूचना अधिकारी हुनुहुन्छ, उहाँलाइ सबैथाहा छ।’ यति भनेर पाण्डे जिम्मेवारीबाट पन्छिए। अस्पताका सूचना अधिकारी दीलिप श्रेष्ठले अस्पतालमा अत्यधिक भीड हुने भएकाले प्रसुति सेवामा कहिले काहिं ढिला हुने गरेको स्वीकर गरे।

‘हामी थोरै बेड छ, १ सय भन्दा बढी केशहरु आउँछन् ।’  श्रेष्ठले भने ‘यस बिचमा कहिलेकाही ढिला हुन गएको होला ।’ तर जोशीको केशमा लापरवाही नभएको उनको दाबी छ। उनले थपे, ‘बिरामीले नमानेरै हामीले गर्न नसकेका हौै ।’

अस्पतालमा ११ विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त

अञ्चल अस्पतालमा २२ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा हाल ११ जना मात्रै कार्यरत छन् । मुटु, मानसिक, डर्मालोजिष्ट लगायतका संवेदनशील रोगहरुकै विशेषज्ञ डाक्टरहरु छैनन्। प्रसुती वार्डमा भने २ जना सरकारी दरबन्दी र २ जना विकास समितिको नियुक्तिका डाक्टरहरु छन्। 

विगत देखिनै अस्पतालमा विशेषज्ञ डाक्टरहरुको दरबन्दीबारे केन्द्र सरकारसँग समेत पहल गरिएकोमा त्यो सुनुवाई नभएको सुचना अधिकारी श्रेष्ठले बताए। 

अस्पतालको सुधारमा अधिकतम प्रयासः मन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले अस्पतालको विगतदेखिको  परिपार्टी यस्तै रहेकाले सुधार्न केही कठिनाइ भए पनि मन्त्रालयले अधिकतम प्रयास गरिरहेको बताए। ‘हामी छिट्टै मन्त्रालय र सेती अंचल अस्पताल प्रशासनसँग छलफलका लागि बस्दैछाै।’ मन्त्री सोडारीले भने ‘निर्देशक र मेसुसँग बसेर समस्या समाधानका लागि के आवश्यकता छ ? त्यसबारे छलफल गर्ने छाैँ। बजेट चाहिएको भए पनि हामी बजेट दिन तयार छौँ।’

अस्पताललाई ३ सय शैयाको बनाउने प्रयासमा पनि मन्त्रालय लागेको उनले जानकारी दिए । गत असार ३२ गतेको मन्त्री परिषदको बैठकले सम्पूर्ण विकास समिति र त्यसको ढाँचा खारेज गरेको थियो। अहिले प्रदेशमा रहेका अस्पतालको व्यवस्थापन समिति गठनादेश र नीति तथा कार्यक्रमको तयारी भइरहेको मन्त्री सोडारीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell