PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फेसबुकमा गम्भीर आक्रमण, ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरको पहुँच



पहिलोपोस्ट

फेसबुकमा गम्भीर आक्रमण, ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरको पहुँच

फेसबुकले नेपाली समय अनुसार शुक्रबार राति आफ्नो साइटमा ह्याकरहरुको गम्भीर आक्रमण भएको स्वीकार गरेको छ। कम्पनीले आफ्नो ब्लगपोस्टमा उल्लेख गरे अनुसार ५ करोड प्रयोगकर्ताको अकाउन्ट आफ्नो नियन्त्रणमा लिनसक्ने जानकारी ह्याकरहरुले प्राप्त गर्न सफल भएका थिए। 

फेसबुकका अनुसार यो सेक्युरिटी ब्रिचबारे कम्पनीलाई मंगलबार नै जानकारी भइसकेको थियो। तर यसबारे उसले सार्वजनिक जानकारी भने शुक्रबार मात्रै दिएको हो। 

यो बीचमा उसले यो समस्या समाधान गर्न उपाय अपनाएको र कानुन कार्यान्वयन निकायलाई खबर गरेको बताएको छ। 

भएको के थियो?

फेसबुकमा 'भ्यु एज' नामको एउटा फिचर छ। यसमा क्लिक गर्दा आफ्नो प्रोफाइल अरु कसैले हेर्दा कस्तो देखिन्छ भनेर हेर्न सकिन्छ। ह्याकरहरुले यसैमा भएको कमजोरीमार्फत् फेसबुक एक्सेज टोकन हात पारी अरुको अकाउन्टमा नियन्त्रण कायम गर्न सक्ने भएका थिए। 

एक्सेस टोकन भनेको फेसबुक एप प्रयोग गर्दा पुनः पासवर्ड हान्न नपर्ने गरी फेसबुकमा लग इन भइरहने डिजिटल की सरहको सामाग्री भएको पनि फेसबुकले बताएको छ। 

फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुकमा पोस्ट लेख्दै  ५ करोड प्रयोगकर्ताको अकाउन्ट ह्याकरहरुले गलत प्रयोग गरे कि गरेनन् भन्ने बारे आफूहरुलाई जानकारी नभएको तर यसबारे अनुसन्धान जारी रहेको र थप जानकारी हुने बित्तिकै अपडेट गर्ने बताएका छन्। 

उनले सावधानीका रुपमा  भ्यु एज फिचरलाई हालका लागि बन्द गरिएको र यो आक्रमणबारे पत्ता लागेपछि भ्यु एज फिचर गर्ने सबैको अकाउन्ट लग आउट गरेको बताएका छन्। फलस्वरुप थप ४ करोड प्रयोगकर्ताले एपमा पासवर्ड हाली पुनः लग इन गर्नु पर्नेछ। 

यसको अर्थ कूल ९ करोड प्रयोगकर्ताले फेसबुक एपमा पुनः पासवर्ड राखी लग इन गर्नुपर्ने हुन्छ। लग इन भइसकेपछि न्युजफिडको सबैभन्दा माथि के भएको थियो भन्ने बारे जानकारी राखिएको फेसबुकले बताएको छ। 

कम्पनीले आक्रमणका पछाडि कसको हात छ भन्ने बारे कुनै जानकारी आफूहरुलाई नभएको बताएको छ। 

के पासवर्ड फेर्नुपर्छ?

पासवर्ड नभई एक्सेस टोकनमात्र ह्याकरको पहुँचमा भएकोले फेसबुकले आफ्नो ब्लगपोस्टमा कसैले पासवर्ड परिवर्तन गर्नु नपर्ने बताएको छ। व्यक्तिको प्राइभेसी र सेक्युरिटी एकदमै महत्त्वपूर्ण भएको स्वीकार्दै यस्तो घटना भएकोमा फेसबुकले माफी मागेको छ।

आफ्नो पासवर्ड बिर्सेर लग इन गर्न नसक्ने भएको अवस्थामा हेल्प सेन्टरमा सम्पर्क गर्न पनि फेसबुकले भनेको छ।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell