PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवाको नातेदारमार्फत् एनएसीमा रणनीतिक साझेदार ल्याउने योजना तुहियो



सविन मिश्र

देउवाको नातेदारमार्फत् एनएसीमा रणनीतिक साझेदार ल्याउने योजना तुहियो

काठमाडौँः लुफ्थान्सा कन्सल्टिङ कम्पनीलाई रणनीतिक साझेदारका रुपमा भित्र्याउन नेपाल वायुसेवा निगमले गरेको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अस्वीकार गरेको छ।

रणनीतिक साझेदारका रुपमा युरोपेली कम्पनी भित्र्याउन निगमको प्रस्ताव मन्त्रालयले अस्वीकार गरेको हो। लुफ्थान्सालाई रणनीतिक साझेदार नियुक्तिसम्बन्धी निर्णयको फाइल अघि बढाउन निगमले मन्त्रालयलाई अहिलेसम्म भएका प्रक्रियासहितको विवरण उल्लेख गरी पत्राचार गरेको थियो। तर पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले 'विना प्रतिस्पर्धा रणनीतिक साझेदार नियुक्त गर्नु कानुनसम्मत नहुने' भन्दै निगमको प्रस्ताव अघि बढाउन इन्कार गरिदिएका हुन्।

'सचिवज्यूले प्रतिस्पर्धाको बाटो रोज्नुपर्ने भन्दै फाइल अस्वीकार गर्नुभएको छ,' मन्त्रालयका एक अधिकारीले भने, 'यसबारे आवश्यक निर्णय लिन निजीकरण समितिको निर्णय वा खुला प्रतिपर्धाबाट छनोट भएको एक कम्पनी हुनुपर्ने उहाँको आशय छ।'

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा लुफ्थान्साको फाइल अघि बढाउन खोजिएको थियो।

देउवाका नातेदार प्रदीप राणामार्फत लुफ्थान्सालार्इ रणनीतिक साझेदार ल्याउन लागिएको थियो। त्यो बेलामा लुफ्थान्सानै रणनीतिक साझेदारको रुपमा नभर्इ कुनै कम्पनी खडा गरेर दिन लागिएको भन्दै रोकिएको थियो। चार वर्षअघि पर्यटनमन्त्री दीपक चन्द्र अमात्यको कार्यकालमा लुफ्थान्साको प्रस्ताव आए पनि संसदको सार्वजनिक लेखा समितिले ग्लोवल टेण्डरबाट व्यवस्थापन ल्याउन निर्देशन दिएको थियो।

त्यो बेलामा जर्मनीसहित अन्य पाँच मुलुकलाई पत्र लेख्दै रणनीतिक साझेदार बन्न इच्छुक कम्पनीबाट आशयपत्र मगाउने निर्णय गरेको थियो। त्यसअनुसार पठाइएको पत्रको जवाफ जर्मन कम्पनी लुफ्थान्साले मात्रै दिएको थियो। उसले उपयुक्त मोडलसहित निगमको रणनीतिक साझेदार बन्न आफू इच्छुक रहेको जनाएको थियो। निगममा रणनीतिक साझेदार भित्र्याउने विषयमा आफ्नो विमति नरहेको भन्दै देवकोटाले प्रक्रियामा असहमति जनाएको ती अधिकारीको दाबी छ।

मन्त्रालयले फाइल मन्त्रिपरिषदमा लैजान अस्वीकार गरेसँगै अब निगमले रणनीतिक साझेदार भित्र्याउने निर्णय गर्न नयाँ प्रक्रिया सुरु गर्नु पर्नेछ।

 

अब कम्पनी मोडलमा

रणनीतिक साझेदार भित्र्याएर निगम सञ्चालन गर्नुको साटो कम्पनी मोडलमा सञ्चालनका लागि कानुनी आधार तयार गर्न मन्त्रालयले निगम व्यवस्थापनलाई निर्देशन दिइसकेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने बताएका छन्।

निगमलाई रणनीतिक रुपमा अघि बढाउन र बजारमा प्रतिस्पर्धी बनाउन कम्पनी मोडलमा सञ्चालनको प्रस्ताव पर्यटन मन्त्रालयले गरेको हो। ठूला जहाज थपिएको, उनीहरुको व्यवस्थापन तथा निगम व्यवस्थापन नै चुस्त बनाउन कम्पनी मोडलमा अघि बढ्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell